काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसले रुपन्देही-३ को उपनिर्वाचनबारे छलफल गरेको छ । शुक्रबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारी एवं पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुसमेतको बैठकले रुपन्देही ३ को उपनिर्वाचनबारे छलफल गरेको हो ।
बैठकमा आगामी उपनिर्वाचनमा पार्टीको रणनीति, योजनाबारे छलफल भएको पार्टीका प्रमुख सचेतक श्यामकुमार घिमिरेले बताए । उनकाअनुसार बैठकमा मन्त्रीहरु हेरफेर गर्ने विषयले भने प्रवेश पाएन ।
गत निर्वाचनमा रुपन्देही ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहरा निर्वाचित भएका थिए । उनको निधन भएसँगै उपनिर्वाचन हुन लागेको हो ।
आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनमा कसलाई उम्मेदवार बनाउने भन्नेबारेमा भने कुनै छलफल नभएको प्रमुख सचेतक घिमिरेले बताए । २०७९ को निर्वाचनमा समानुपातिकतर्फ २० हजार मतसहित कांग्रेस पहिलो, एमाले १६ हजार मतसहित दोस्रो र तेस्रोमा १४ हजार मतसहित राष्ट्रिय स्वतन्त्र पार्टी रहेको थियो । आउने उपनिर्वाचनमा मधेशवादी दलहरु एक भएर लड्ने चर्चा छ ।
गत निर्वाचनमा प्राविधिक रुपले हारेपनि जनमतको अवस्था मजबुत रहेको कांग्रेसको ठम्याइ छ ।