काठमाडौं : नेपालको कानुनले ६० वर्षमाथिको उमेरलाई ज्येष्ठ नागरिकको परिभाषाभित्र राखेको छ । तर ज्येष्ठ नागरिक भत्ता पाउने उमेर समुदाय र भूगोलअनुसार फरक छ । सामान्यतया ७० वर्षमाथिका सबै नागरिकले राज्यबाट ज्येष्ठ नागरिक भत्ता खाँदै आएका छन् ।
सरकारको नीतिअनुसार ज्येष्ठ भनेपछि सामान्य काम गर्नभन्दा बढी आराम गर्ने उमेरका व्यक्तिलाई जनाउँछ । तर नेपालको राजनीतिमा त्यस्तो छैन । प्रायः सबै पार्टी ७० वर्ष माथिकै नेताहरूले हाँकेका छन् । यसबाट कस्तो परिणाम आउला भन्ने प्रश्न अहिले नेपाली राजनीतिक बजारमा चर्चाको विषय छ ।
जेनजी पुस्ताले पुराना नेताहरूलाई आमरूपमा अस्वीकार गरेका छन् । यद्यपि, पार्टी राजनीतिमा उनीहरूकै वर्चश्व कायमै छ भने युवा पुस्ताका नेताहरूलाई नेतृत्व तहमा पुग्नका लागि उनीहरूबाटै घेराबन्दी गर्ने काम भइरहेको छ ।
नेपालका प्रायः सबै राजनीतिक दलहरू पाका पुस्ताका नेताको कब्जामा छन् । पार्टीमा नयाँ पुस्ता आएपनि पुराना नेताहरूले नेतृत्व हस्तान्तरणमा अवरोध गर्दै पार्टी र मुलुकको प्रशासनिक संयन्त्रलाई आफ्नै वरिपरि घुमाइरहने प्रवृत्तिको अन्त्य नहुँदा नयाँ पुस्ताका सशक्त नेताहरूले पार्टी र देशको नेतृत्व गर्ने अवसर पाउन नसकेको युवा नेताहरूको भनाइ छ ।
राजनीतिमा नयाँपनसहित बदलिँदो राजनीतिक परिवेशअनुसार नागरिकलाई आश्वस्त पार्दै देश हाँक्न सक्ने नेतृत्वको खोजी भएपनि पुराना दलका पुराना नेताहरू उनीहरूलाई पार्टीको मुख्य जिम्मेवारीमा आउन रोक लगाउँदै आएका छन् ।
नेपाली कांग्रेसमा दोस्रो पटक सभापति बनेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा छैटौं पटक पार्टी संसदीय दलको नेता बने । यसअघि उनी विसं २०५१, २०५८, २०६३, २०७२ र २०७४ मा दलको नेता भएर संसदीय फाँट चलाएका थिए । उनी पहिलो पटक संसदीय दलको नेता बन्दा ४८ वर्षका मात्रै थिए । देउवा ५ पटक त प्रधानमन्त्री नै भइसकेका छन् ।
६ दशकदेखि राजनीतिमा निरन्तर क्रियाशील देउवा पार्टीको १३औं र १४औं महाधिवेशनबाट सभापति निर्वाचित हुन् । कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको प्रेरणाबाट राजनीतिमा होमिएका देउवा ३१ जेठ २००३ मा डडेल्धुराको असिग्राम–५ रुवाखोलामा जन्मिएका हुन् । नेपालकै पुरानो लोकतान्त्रिक दल कांग्रेसमा २०६२÷०६३ को जनआन्दोलनबाट उदाएका नेताहरू पार्टी र सरकार हाँक्न सक्ने हिम्मतकासाथ आएपनि ७९ वर्षीय देउवाले हाँकिरहेका छन् ।
नयाँ पुस्ताका नेताहरूलाई पुरानाले घेराबन्दी गरेर अघि बढ्न नदिने परम्परा कांग्रेसमा अझै नहटेको नेपाली कांग्रेसकी केन्द्रीय सदस्य प्रतिमा गौतमले बताइन् ।
‘राजनीतिमा नयाँ प्रयोग भइरहेको छ’, उनले मध्यान्हसँग भनिन्, ‘नयाँ–नयाँँ दलहरू आएर युवा पुस्ताको प्रतिनिधित्व गरिसकेको अवस्थामा कांग्रेसले पनि पार्टी र देशको नेतृत्व गर्न युवाहरूलाई नै अघि सार्ने र आफुले अभिभावकको भूमिकामा सहयोग गर्नुपर्ने नेताहरूले नै पुस्तान्तरण चाहँदैनन ।’ यसले पार्टीमा नेतृत्व विकाससँगै नयाँ योजनासहित जनताको प्रतिनिधित्वि हुन नसक्ने उनको तर्क छ । पार्टीमा पुराना नेताहरूको योदान र लगानी भएपनि अव उहाँहरू अभिभावको भूमिकामा रहेर नयाँलाई जिम्मेवारी दिदै लगियो भनेमात्रै युवा मतदाताको प्रतिनिधित्व हुन सने उनको दाबी छ ।
नेपाली कांग्रेस मात्रै होइन नेकपा एमाले, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकिकृत समाजवादीलगायत अधिकांश दलहरूमा एउटै व्यक्तिले पार्टीलाई प्राइभेट कम्पनी जस्तै गरी चलाएको पछिल्लो पुस्ताका नेताहरूको टिप्पणी छ ।
नेकपा एमालेलाई व्यक्तिगत कम्पनी जस्तै चलाएका पार्टी अध्यक्ष केपी शर्मा ओलीले नयाँ व्यक्तिलाई नेतृत्वमा आउने कल्पना समेत गर्न दिएका छैनन् । एमाले राजनीतिमा पछिल्लो पटक ओलीको विकल्प दिने उद्घोषकासाथ सक्रिय राजनीतिमा प्रवेशको घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सदस्यता नवीकरणमासमेत रोकेर राजनीतिक यात्रा नै बन्द गरिदिए ।
१५ वर्षको उमेर २०२३ सालमा माक्र्सवादी अध्ययन दलको सदस्य भएर राजनीतिक यात्रा सुरूगरेका ओली यतिवेला ७४ वर्ष पुगिसकेका छन् । तर पार्टी राजनीतिमा नयाँलाई नेतृत्वमा ल्याउने र जिम्मेवारी दिने भन्ने विषय उनको नीतिभित्र नपर्ने नेकपा एमालेका एक पोलिट्व्यूरो सदस्यले मध्यान्हलाई बताए । उनले भने ‘केपी कमरेडको अगाडि नेतृत्वको दाबी गर्ने हिम्मतै कुनै नेताले गर्दैनन् ।’ एमालेमा ओली हावी भएयता पार्टीभित्र फरक मत राख्ने प्रचलन नै हराएको नेता उषाकिरण तिमल्सिनाले बताईन् । ‘पार्टीमा नयाँ व्यक्ति आउँदा स्वागत गर्नुपर्ने तर, बैरिको व्यवहार गरिदै आएको छ’, उनले भनेकी छन् । अझै एक कार्यकाल आफ्नै नेतृत्वमा पार्टी चलाउने ओलीको सोचलाई नयाँ पुस्ताका नेताहरूले विकल्प दिन सकेका छैनन् । पार्टीमा उपाध्यक्ष युवराज ज्ञवाली, नेताहरू सुरेन्द्र पाण्डे, कर्ण थापा, उषाकिरण तिमल्सिनालगायत नेताहरुले ओलीले फेरि अध्यक्ष बन्नकै लागि नेतृत्वको लागी २ कार्याकाल र ७० वर्षे उमेरहद हटाएको टिप्पणी गरेका छन् । उनि ३ पटक प्रधानमन्त्रन्त्री भइसकेका छन भने २ कार्यकाल देखि पार्टी नेतृत्वमा छन् ।
त्यस्तै संसदको तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रमा समेत अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हाकेका छन् । उनको विपक्षमा जनार्दन शर्माले बेलाबखत आवाज उठाएपनि अरू कोही नेताहरू नेतत्ृत्वको बारेमा प्रचण्डासामु बोल्न सक्ने अवस्थामा छैनन् । पार्टीको नेतृत्व करिव ३५ वर्ष बसेका दाहाल अहिलेनै पद हस्तान्तरण गर्ने अवस्थामा पुगेका छैनन् । तीन पटक प्रधानमन्त्री भइसकेका उनी ७१ वर्ष भइसकेका छन् । एमाले परित्याग गरी नेकपा एकीकृत समाजवादी पार्टी निर्माण गरेका माधव नेपालको दलमा पनि नयाँ थुप्रै नेताहरू छन् । यद्यपि युवा पुस्ताका नेताहरूलाई पार्टी नेतृत्वमा जानबाट रोक लगाउने नेताहरू मध्य उनिपनि एक हुन् । पार्टीमा घनश्याम भुसाल, रामकुमारी झाँक्रीलगायत नेताहरू आउँदा आफ्नो राजनीतिक सिद्धिने त्रास उनमा रहेको नेकपा एसका केन्द्रीय सदस्यहरूले नै बताउने गरेका छन् ।
७३ वर्षीय नेपाल २०३२ सालमा कोअर्डिनेसन केन्द्र हुँदै २०६४ सालसम्मको एमाले राजनीतिमा एकछत्र नेतृत्व गर्दै आएका थिए । एमालेले निलम्बन गरेपछि १६ चैत २०७७ मा एमालेसँगको यात्रा औपचारिक रूपमा टुंगिएका उनले जिवन उत्तरार्धमा नयाँ पार्टी खोलेर नेतृत्व गरिनै रहेका छन् ।
त्यस्तै सामाजिक संस्थाको रूपमा गठन भएको मधेसी जनअधिकार फोरम नेपालको अध्यक्षमा उपेन्द्र यादव २०५४ मै चयन भएका थिए । २०६३ मा मधेसी जनअधिकार फोरम नेपाल दर्ता गराएपछि निरन्तर अध्यक्ष बनेका उनले नेतृत्वको विकल्प खोज्ने नेताहरु पाखा लगाइसकेका छन् । ६७ वर्षका उनि २८ वर्षदेखि पार्टी नेतृत्वको भूमिकामा रहेका छन् । ‘२०३२ सालबाटै मुलधारको राजनीतिमा आएका उनले पनि पार्टी नेतृत्वमा नयाँ व्यक्तिहरू आएको रूचाउँदैनन्’, जसपाकाबाट फुटेर गएका अधिकांश नेताहरूले उनीमाथि आरोप लगाउँदै आएका छन् ।