२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

तीन दशकदेखि सफल सांगीतिक यात्रामा नमराज

ADV
किस्ना आचार्य रोशनी
२०८१ साउन १५ गते ०६:५५
तीन दशकदेखि सफल सांगीतिक यात्रामा नमराज

काठमाडौं : गायक तथा सर्जक नमराज ढुंगाना सानै उमेरदेखि लोकभाका प्रेमी थिए । २०४९ सालमा कक्षा ८ पढ्दै गर्दा तत्कालीन ढुंगखर्क गाविसले आयोजना गरेको जिल्लास्तरीय लोकगीत प्रतियोगितामा दोस्रो स्थान प्राप्त गरी पाँच सय रुपैयाँ र एउटा गिलास उपहार पाएका गायक नमराजलाई त्यसयता स्टेज, दर्शक, स्रोता तथा माइकसँग कहिल्यै टाढा हुनु परेको छैन ।

काभ्रेपलान्चोक–७ ढुंगखर्कमा बुवा सुर्य प्रसाद ढुंगाना र आमा गंगामाइ ढुंगानाको कोखबाट जन्मिएका नमराजले आफू अध्ययन गर्दै गरेको स्कुलमा दिएको प्रस्तुति र प्रतिभा पश्चात त्यहाँ अध्यापन गराउने गुरुहरुकै सहयोगमा पाण्डव सुनुवारले सञ्चालन गर्ने रेडियो नेपालको चौतारी कार्यक्रममा पुगेर आफ्नो प्रतिभा देशभरका रेडियो र लोकप्रेमी स्रोतालाई सुनाउने अवसर पाएका थिए ।

‘गीत त निकै गुनगुनाउथें सानैबाट कक्षा ८ मा पढ्ने भएपछि बल्ल त्यो अवसर पाएँ, गाउँघरमा हुर्किएको ठिटो बालखै पनि पहिलो पटक रेडियोको स्टुडियोमा छिरेर गीत गाउन पाउँदा त अहो ! त्यो खुसी व्यक्त गर्ने कुनै शब्द नै  छैन मसँग,’ उनी विगत सम्झिन्छ्न् ।

त्यसपछि पनि स्कुल र स्थानीय स्तरका प्रतियोगिताहरुमा निरन्तर आफ्नो प्रतिभा प्रस्तुत गर्दै आएका उनी एसएलसीपछिको बाँकी अध्ययनका लागि र आफ्नो  सांगीतिक यात्रामा अगाडि बढ्न २०५० सालतिर काठमाडौं छिरे ।

‘काठमाडौं त आइयो, तर पहिला गुरुले हात डोहोर्‍याएर रेडियो नेपालको स्टुडियो लगेजत्तिको सजिलो थिएन बाँकी सांगीतिक यात्रा अगाडि बढाउन, तर पनि ममा आफ्नो प्रतिभा र इमानदारितामा विश्वास थियो, जसरी पनि स्टुडियोमा गीत रेकर्ड गराएर गायक त बन्छु नै भन्ने संकल्प गरेको थिएँ, विभिन्न संघर्ष गर्दै अनेकौं दुःख गरेर एउटा अडियो रेकर्ड गर्ने खर्च जुटाएँ ।’

गायिका सीता थापा, इन्दिरा गुरुङ र आफ्नो आवाज भरेर उनले २०५३/५४ तिर ‘काठमाडौं हङकङ बजार’ नामको पहिलो लोकदोहोरी गीत रेकर्ड गराएर आफ्नो सांगीतिक यात्रा शुरुवात गरे । धौलागिरी क्यासेट सेन्टरले बजार व्यवस्थापन गरेको उक्त गीतबाट नै उनले राम्रो नाम र आफ्नो लगानी उठाउन सफल भए ।

‘विभिन्न दुःख संघर्षका बाबजुद एउटा अडियोमा लगानी गरें । भिडियो कम्पनीले नै बनाइदिएको थियो क्यासेट बेचेरै मैले अडियोमा लगानी गरेको खर्च उठाएँ । गीतले राम्रो चर्चा पायो जुन मैले सोचेको पनि थिइनँ । त्यसरी पहिलो गीतबाटै नाम र दाम कमाउन सफल भएँ, त्यसयता मैले पछाडि फर्केर हेर्नुपरेको छैन ।’

उनका सल्लेरीको वन, उलेनी काठैमा, अन्माएर पठायौ, पिरतीमा दम छ, हाँसखेल गरम, साथ छोड्यो छायाँले, फूल फुल्यो अमलालगायत थुप्रै गीतहरू सांगीतिक बजारमा उपलब्ध छ्न् । विभिन्न म्युजिक कम्पनीबाट नेपाली लोकसंगीत र काँठ क्षेत्रमा रुचाइने काँठे भाकाको संरक्षण र श्रीवृद्धिका लागि उनले अन्य सर्जक श्रष्टा गायक गायिकाका सिर्जना र आवाजलाई समेत बजार व्यवस्थापनमा सहयोग पुर्‍याउँदै आइरहेका छन् । हाल उनको आफ्नै एनएस म्युजिक कम्पनी सक्रिय छ । नेपाल र नेपाल बाहिर गरी हजारभन्दा बढी स्टेजहरुमा आफ्नो प्रस्तुति दिएका नमराजको पहिलो विदेश सांगीतिक यात्रा भारतको दार्जिलिङ थियो । त्यसपछि निरन्तर उनी मलेसिया, हङकङ, थाइल्यान्ड, सिंगापुर, जापान, फ्रान्स, जर्मनी, अस्ट्रिया, कोरिया, इटाली, स्विजरल्याण्डलगायतका देशमा आफ्नो सांगीतिक प्रस्तुतिका लागि पुगिसकेका छ्न् ।

पछिल्लो समय म्युजिक अवार्ड आयोजकका रुपमा पनि देखिएका उनी भन्छन्, ‘राज्यको हाम्रो गीतसंगीतलाई हेरिदिने र प्रोत्साहन हौसला दिने या खबरदारीसम्म गर्ने कुनै निकाय छैन, राम्रा स्रष्टालाई सम्मान र नयाँ प्रतिभालाई प्रोत्साहन गर्नलाई कलाकार आफैं आयोजक बन्नुपर्ने बाध्यात्मक परिस्थिति छ । अन्य आयोजकको आफ्नै शैली होला हामीले सकेसम्म निष्पक्ष हरेक विधामा अनुभवी निर्णायक राखेर आफ्नो इमान्दारी नभुलेर अग्रजलाई सम्मान र अनुजलाई प्रोत्साहन गर्ने एउटा प्रयास मात्र गरेका हौं । अरु त अवार्डबारे म धेरै बोल्न आवश्यक नै छैन नि ।’

राष्ट्रिय संगीतकर्मी संघको २०६१ सालमा संस्थापक सहसचिव, उपाध्यक्ष र वरिष्ठ उपाध्यक्षसमेत रहेर आफ्नो कार्यभार सम्हालेका उनले राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठान नेपालमा वि.सं. २०७७ सालमा महासचिव, २०७७ देखि २०७९ सम्म अध्यक्षको कार्यभार सम्हालेका छन् । त्यस्तै रोयल्टी संकलन समाज र प्रस्तोता समाजको सदस्य रहेका उनी राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपालको आजीवन सदस्य समेत हुन् ।

विगत तीन दशकदेखि निरन्तर सांगीतिक क्षेत्रमा राज गरिरहेका नमराजको अहिलेसम्म पनि स्रोता दर्शकको क्रेज उत्तिकै छ । उनको सिर्जना गायन र प्रतिभाको कदर गरी विभिन्न अवार्ड पुरस्कारबाट उनी सम्मानित भइसकेका छन् ।

नमराजले नेपाल म्युजिक भिडियो अवार्ड, विशाल लुम्बिनी म्युजिक अवार्ड, हिमालय म्युजिक अवार्ड, निम म्युजिक अवार्ड, म्युजिक एण्ड फेसन अवार्ड, नाट्यस्वर म्युजिक अवार्ड, काव्य म्युजिक अवार्डलगायतका अवार्ड प्राप्त गरिसकेका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise