२०८१ असोज ६ गते आइतवार / Sep 22 , 2024 , Sunday
२०८१ असोज ६ गते आइतवार

राहदानी बाकसमा थन्क्याएर श्रीमान् श्रीमती नै तरकारी खेतीमा

ADV
मध्यान्ह
२०८१ साउन १९ गते १०:३३
राहदानी बाकसमा थन्क्याएर श्रीमान् श्रीमती नै तरकारी खेतीमा

पर्वत : पछिल्ला समय केही भविष्य नदेखेरे दैनिक हजारौँको सङ्ख्यामा युवायुवती विदेशिन बाध्य भएका छन् । तर पर्वतको जलजला गाउँपालिका–७ धाइरिङ मिलनचोकका युवा दीपक शर्माले भने व्यावसायिक तरकारीखेतीबाट वार्षिक रु १५ लाखसम्म आम्दानी गर्दै आएका छन् । विदेश जानका लागि बनाएको राहदानी बाकसमा थन्क्याएर विगत २० वर्षदेखि व्यावसायिक रुपमा तरकारीखेतीमा लागेका शर्माले गाउँमै बसेर मनग्य आम्दानी गर्न सफल भएका हुन् । 

उमेरले ३८ वर्ष पुगेका दीपक र उनकी श्रीमती सीता शर्माले मौसमी तथा बेमौसमी तरकारीखेती गरेर वार्षिक रु १५ लाखसम्म आम्दानी गर्दै आएका छन् । आफू जन्मिने बेलादेखि नै आफ्ना बुबाआमाले अँगालेको निर्वाहमुखी परम्परागत तरकारी उत्पादन पेसालाई व्यावसायिक बनाउँदै आफूले ठूलोमात्रामा तरकारीखेती थालेको उनले बताए । 

कालीगण्डकी करिडोरअन्तर्गत मालढुङ्गा–बेनी सडक नजिकै पर्छ मिलचोक । यहाँ उत्पादित तरकारी सजिलै ढुवानी गरेर छिमेकी जिल्ला म्याग्दीको सदरमुकाम बेनीबजार, पर्वतको कुश्मा र बागलुङ बजारमा बिक्री हुने गरेको छ । बिहान ६ बजेदेखि बेलुका अबेरसम्म करेसाबारीमै व्यस्त हुने शर्मा दम्पतीले लामाबगरस्थित करिब सात रोपनी खेत वार्षिक रुपमा रु एक लाख २० हजार भाडामा तथा बाँकी आफ्नै खेतबारीमा तरकारी खेती गरेका छन् । वर्षायाममा १० रोपनी र हिउँदयाममा १५ रोपनी क्षेत्रफलमा तरकारी लगाउने गरेको दीपकले बताए । 

उनीहरुले पाँच रोपनी क्षेत्रफलमा वर्षायाममा धान रोपाइँ गर्दै आएका छन् । करेसाबारीमा काँक्रो, सिमी, बोडी, भ्यान्टा, लौका, करेला, घिरौँला र खुर्सानी, धनियाँलगायत मौसमी तथा बेमौसमी तरकारी फलाउँदै आएका छन् । उनीहरुसिजनअनुसार आलुखेती पनि गर्छन् । उत्पादन भएको ताजा तरकारी लिन व्यवसायी घरमै आउने भएकाले बिक्रीको समस्या नरहेको उनले बताए । 

करेसाबारीबाटै दैनिक रुपमा तरकारी बिक्री गर्ने शर्माले वार्षिक रुपमा रु १५ लाखसम्मको आम्दानी हुने गरेको बताए। मेहनत गर्नसकेमा दुःखअनुसार कमाई पनि हुने भएकाले श्रीमान्लाई विदेश नपठाएको सीताले बताउछिन् । “विदेश गए पनि दुःख नै गर्नुपर्छ, त्यहाँ गर्ने दुःख यहीँ गर्न सकेमा आम्दानी पनि हुन्छ, घरपरिवारसँग बस्दा सबैलाई आनन्द पनि हुन्छ”, उनले भने । 

“मैले श्रीमानलाई विदेश जान दिइन यही माटोमा सँगै परिश्रम गरौँ भनेँ”, सीताले भनिन्, “छरछिमेकका साथीहरु विदेश गएको देखेर राहदानी बनाएको भए पनि जान रोकेकी हुँ ।” दीपक दम्पतीले आफूले गर्न नसकेको काम दैनिक ज्यालादारी मजदुर राखेर गर्दै आएका छन् । 

दीपककी आमा भद्रकली शर्माले आफूले पहिल्यैदेखि निर्वाहमुखी रुपमा गर्दै आएको पेसालाई छोराबुहारीले अगालेकामा दङ्ग छिन् । “अहिले उनीहरुले धेरै जग्गामा लगाएका छन्, कमाई राम्रो भएकामा हामी बूढाबूढी खुसी छौँ”, दीपकले भने । तरकारीबाट भएको आम्दानीले छोरालाई निजी विद्यालयमा पढाएका छन् भने बाँकी रकम बैंकमा बचत गर्ने गरेको  उनले बताए । अहिले परिवारको आर्थिक अवस्था सुधार हुनुका साथै सबैभन्दा बढी आत्मसन्तुष्टि प्राप्त भएको उनको अनुभव छ । उनले सबैजसो खर्च कटाएर वार्षिक रु छदेखि सात लाख बचत हुने गरेको बताए । 

विदेशमा गए पनि मरिमेटेरै दुःख गर्नुपर्ने भएकाले आफ्नै खेतबारीमा पसिना बगाउन उनले भविष्यको खोजीमा विदेशिन लागेका युवालाई सुझाव दिए । उनले व्यावसायिक रुपमा तरकारीखेतीमा लाग्न चाहने युवालाई आफूले ज्ञान, सीप र प्रविधिका साथै बजारीकरणमा  सहयोग गर्ने प्रतिबद्धता समेत जनाए । 

ADVADV

सम्बन्धित खबर

Advertise