२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

काठमाडौंमा करिब ४० हजार विद्यार्थी होस्टेलमा, मापदण्ड पालनाको अनुगमन गरिने

ADV
मध्यान्ह
२०८१ साउन २२ गते १२:५१
काठमाडौंमा करिब ४० हजार विद्यार्थी होस्टेलमा, मापदण्ड पालनाको अनुगमन गरिने

काठमाडौं : काठमाडौं महानगरपालिकाको अनुगमन समितिले होस्टेल सञ्चालकहरुलाई स्वच्छ, सफा, सुरक्षित र सामाजिक मर्यादाको पूर्ण परिपालना गरेर होस्टेल सञ्चालन गर्न अनुरोध गरेको छ । सोमबार समितिका संयोजक एवम् महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले छात्राबासमा अवाञ्छित क्रियाकलाप हुने गरेको भन्ने गुनासो संवेदनशील रहेको विषयमा छलफल गर्दै मापदण्ड पालनामा प्रतिबद्ध हुन आग्रह गरेको हो ।

त्यस क्रममा उपप्रमुख डंगोलले भनिन्, ‘होस्टेलको अवस्था, सेवा सम्बन्धी व्यवस्थासँगै होस्टेलमा बस्ने छात्राछात्र तथा अन्य को होस्टेलमा बसेको हो, व्यवस्थित सूचना अभिलेखनबाट व्यवस्थापनको काम थालनी हुनेछ । समूह विभाजन गरेर अनुगमन गर्न सकिन्छ ।’ उनले होस्टेल संघको तथ्यांक उधृत गर्दै भनिन्, ‘उहाँहरु ४० हजार विद्यार्थी होस्टेलमा बसेको भनिरहनु भएको छ । यत्रो ठूलो संख्यामा मानिस बसोबास गर्ने ठाउँको अवस्था र वितरण हुने सुविधाको निगरानी अनिवार्य भएको छ ।’ 

४ जना बस्न मिल्ने कोठामा २०औं जनालाई राखिएको छ । आवासीय भवनलाई व्यावसायिक बनाइएको छ । यसले जोखिम सिर्जना गरेको छ । छलफलमा वडा नं. १० का सदस्य सतिश तण्डुकारले भने, ‘रातको १० बजेपछि पनि होस्टलमा आवागमन भइरहन्छ । त्यसपछि को आउँछ, को जान्छ? किन आउँछ, किन जान्छ? थाहा हुँदैन ।’ छलफलमा वडा नं. २९ का सदस्य अनिल श्रेष्ठले भने, ‘होस्टेल बिक्री गर्ने रोग थियो, यो महारोग भइसक्यो । घर लिने, निःशुल्क विद्यार्थी भर्ना गर्ने, त्यही संख्या देखाएर महँगोमा बिक्री गर्ने भएपछि विकृति भयो ।’

शिक्षा अधिकारी गोविन्दप्रसाद शर्मा विद्यार्थीहरुको हित जान्नका लागि भए पनि अनुगमन गर्नुपर्ने अवस्था आएको बताउँछन् । यस्तै राजस्व विभागका प्रमुख ध्रुवकुमार काफ्ले घरधनी र होस्टल सञ्चालक मिलुञ्जेल कुनै समस्या नदेखिने, मिल्न छोडेका दिन सबै ठाउँमा समस्या देखिने गरेको बताउँछन् ।  

छलफलमा नेपाल होस्टल एशोसिएसन र होस्टल व्यावसायी संघ नेपालका पदाधिकारीले बहाल कर आफैंले तिर्नुपर्ने, घरको मर्मत सम्भार आफैंले गर्नुपर्ने, पानी आफैंले जोहो गर्नुपर्ने भएकाले आफूहरु व्यावसायिक संकटमा रहेको धारणा राखे । 'यति भएर पनि मापदण्डको पूर्ण पालना गरेर चलेका होस्टेल पनि छन् । राम्रालाई प्रोत्साहन र नराम्रालाई सुधार गराउने बाटोमा हिँडौं,' उनीहरुको आग्रह थियो ।  

छात्राबास (होस्टेल) लाई व्यवस्थित, मर्यादित, सुरक्षित र पारदर्शी बनाउन तथा छात्राबासमा बस्ने विद्यार्थीहरु र सञ्चालकको अधिकतम हित गराउन छात्राबास सञ्चालन सम्बन्धी मापदण्ड २०८० जारी गरिएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ (२) को खण्ड (ज) र दफा १०२ को (२) लाई आधार मानेर काठमाडौं महानगरपालिका प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन २०७५ ले दिएको अधिकार प्रयोग गरेर मापदण्ड जारी गरिएको हो ।

मापदण्डबमोजिम महानगरपालिकाभित्र छात्राबास (होस्टेल) सञ्चालन गर्न कार्ययोजना, प्रतिवद्धतासहितको निवेदन, वडाको शिफारिस, छात्राबास राख्ने भवनको नक्सा र नक्सा पास प्रमाण पत्र, निर्माण सम्पन्न प्रमाण पत्रसहित कागजातसहित दर्ता प्रक्रियाका जानुपर्छ । आफ्नै घरमा आफैंले सञ्चालन गरेको जग्गाको लालपूर्जा र भाडामा भवन लिएको भए सम्झौताको प्रतिलिपि बुझाउनुपर्छ । स्थलगत अनुगमन तथा वस्तुस्थितिको जाँचपछि महानगरपालिकाको शिक्षा विभागले सञ्चालन अनुमति दिनेछ । 

छात्राबासभित्र न्युनतम सबै पूर्वाधार हुनुपर्छ । यसमा शौचालय, भान्छा घर, पानीको आपूर्ति, विद्युत, प्रत्येक छात्रछात्राका लागि पलङ्, दराज र टेबल फोहोरमैला व्यवस्थापन तथा सरसफाइको प्रबन्ध हुनुपर्छ । कोठाहरु फराकिला, खुला हुनुपर्छ । कोठामा पर्याप्त प्रकाश हुनुपर्छ । हावा दोहोरो आउने जाने हुनुपर्छ ।  

आगलागी जस्ता सम्भावित विपद व्यवस्थापनका लागि फायर इस्टीङ्ग्वीसर लगायत सामग्री तथा उपकरण, प्राथमिक उपचारको लागि सामग्री हुनुपर्छ । कोठा र शौचालयबाहेक अन्य स्थानको निगरानीका लागि सिसिटिभी क्यामरा जडान गर्नुपर्छ । हुलदंगा हुने, प्रदुषण हुने ठाउँमा छात्राबास राख्न हुँदैन । छात्र र छात्राका लागि सञ्चालन गरिने भवन आमनेसामने हुनुहुँदैन । एकबाट अर्कोको दुरी कम्तीमा २ सय मिटर हुनुपर्नेछ । एकै सञ्चालकले दुवै छात्राबास चलाउने भए आन्तरिक व्यवस्थापनको काम समेत छुट्टै भवनबाट सञ्चालन गर्नुपर्छ । 

सेवा सुविधा, जिम्मेवारी तथा कर्तव्य, अनुशासन, गोपनीयता, आचारसंहिता सम्बन्धी आन्तरिक नियम बनाउन सक्नेछन् । यस्ता नियम महानगरपालिकामा पेश गरेर सहमति लिनुपर्नेछ । 

महानगरपालिकाले तोकेको आकारमा स्पष्ट देखिने गरी परिचय पाटी राख्नुपर्छ । बस्ने छात्रछात्राको हालसालै खिचेको तस्विर, पहिचान देखिने सरकारी कागज राख्नुपर्छ । असम्बन्धित व्यक्ति भित्र आउन दिनु हुँदैन । शैक्षिक वातावरण मिलाउनुपर्छ । कोठाभित्र मदिराजन्य, लागू पदार्थ, सूर्तिजन्य पदार्थ ओसारपसार, विक्री वितरण र प्रयोग गर्न पाइँदैन । सञ्चालकबाट अभिभावकीय भूमिका निर्वाह गर्नु पर्ने भएकोले उमेर ३० वर्ष पूरा भएको हुनुपर्नेछ । 

मापदण्डमा छात्राबाससँग सम्बद्ध व्यक्तिको काम, कर्तव्य र अधिकार, वार्डेनको काम कर्तव्य अधिकार, छात्रछात्राको काम कर्तव्य र अधिकार, अनुगमनलगायत व्यवस्था छन् । शुल्क, दण्ड सजाय, विवाद समाधानसहित विषयलाई ५ वटा परिच्छेदमा व्यवस्था गरिएको छ । त्यस्तै छात्राबाससम्बन्धी प्रस्ताव, प्रतिबद्धता पत्रलाई अनुसूचीमा ढाँचा दिइएको छ । 

ADVADV

सम्बन्धित खबर

Advertise