२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

प्राथमिकतामा पर्न सकेन बहुचर्चित नौमुरे बहुउद्देश्यीय आयोजना

ADV
सुर्य प्रसाद भुसाल
२०८१ भदौ ३ गते २०:२९
प्राथमिकतामा पर्न सकेन बहुचर्चित नौमुरे बहुउद्देश्यीय आयोजना

अर्घाखाँची : अर्घाखाँचीमा सञ्चालित नौमुरे बहुउद्देश्यीय आयोजनामा बजेट पर्याप्त हुन नसक्दा  कामले गति लिन सकेको छैन । शितगंगा नगरपालिका ८ सातमारामा रहेको कायार्लयले परिणाम देखिने गरी काम गर्न बजेट नपुगे पछि आयोजनाले द्रुत रुपमा गति लिन नसकेको प्राविधिकहरु बताउँछन् ।

बहुप्रतिक्षित मानिएको र सँधै चुनावी नारा बन्ने गरेको नौमुरे बहुउद्देश्यीय आयोजनाको चर्चा अनुरुपको काम अघि बढ्न नसक्दा कुरामै सिमित रहने हो कि ?, भन्ने आम अर्घाखाँचीबासिको चिन्ता र  चासोको विषय बनेको छ । अर्घाखाँची र प्युठानको सिमानामा पर्ने मादी र झिमरुक नदीको संगम नौमुरे क्षेत्रमा निर्माण हुन लागेको यो बहुचर्चित आयोजना अगाडि बढाउने चर्चा चलेको लामो समय भएपनि काम उल्लेख्य रुपमा अघि बढ्न बजेटको समस्या देखिएको छ । 

कुल २८० मेगावाट जलविद्युत उत्पादन र दाङ,कपिलवस्तु र बाँके जिल्लाका करिब ८० हजार हेक्टर कृषियोग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने गरी डिजाइन भएको यस आयोजनाको कार्यालय स्थापना भएपछि कार्य अघि बढ्छ भन्ने सोच थियो । तर  स्थानीय  बासिन्दाहरु सरकारले पठाउने न्यून बजेट र सरकारको कार्यसम्पादनबाट त्यति खुशी भने हुन सकेका छैनन् । आयोजनाले गत आर्थिक वर्ष २०८०/०८१ भौतिक प्रगति ८३.२४ प्रतिशत हासिल गरेको र वित्तीय प्रगति ६६.५० प्रतिशत रकम यस वर्ष खर्च भएको योजना प्रमुख  वीर बहादुर बोहराले बताए । 

आयोजनाको काम द्रुत गतिमा  अघि बढ्न नसक्दा  आफु नआउँदै केही वर्षदेखि अधिकतम बजेट फ्रिज हुने गरेको भएपनि हाल आफ्नो टिमले आयोजनाको अधिकतम प्रयास गर्दा उल्लेख्य प्रगती हासिल गर्न सकेको र थप प्रगतिका लागि बजेट अभाव भएको आयोजनाका प्रमुख  बोहोराले दाबी गरे ।

आयोजना प्रमुख बोहराका अनुसार आयोजनाको अफिस तथा क्याम्पसको लागि जग्गा प्राप्तिको मूल्याकंनको निर्णय भइ मुआब्जा वितरणको सम्पूर्ण तयारी समेत भइसक्दा  मुआब्जा शिर्षकमा पर्याप्त बजेट नहुँदा तथा अन्य खर्च हुन नसक्ने शिर्षकबाट रकमान्तरको लागि पठाउँदा अर्थ मन्त्रालयबाट रकमान्तर नहँुदा वित्तीय प्रगति केही कम हुन पुगेको हो ।

यस चालु आ.व २०८१/०८२ मा समेत अहिले भइरहेको कार्यहरु पहुँच मार्ग निर्माण तथा अफिस क्याम्प निर्माणमा अति न्यून बजेट विनियोजन भएको  आयोजना अन्तरगत पहुँच मार्गमा पर्ने शितखोलामा पुल निर्माण गर्न ४ करोड विनियोजन भएकोमा आवश्यक लागत रकम करिब १४ करोडको अर्थ मन्त्रालयले  स्रोत सहमती नदिँदा निर्माण कार्य अगाडि बढ्न सकेको छैन । सरकारले आयोजनालाई राष्टिय गौरब तथा प्राथमिकताको आयोजनाको रुपमा घोषणा गरी निर्माण तथा लगानीको मोडालिटी एकिन गर्न अत्यवश्यक देखिन्छ । 

आयोजनाको सम्भाव्यता अध्ययन अनुसार सात वर्षभित्र आयोजना सम्पन्न हुने लक्ष्य लिएपनि अपेक्षित काम हुन नसकेको कारण अब योजनाको काम समयमा सम्पन्न हुने  सम्भावना  कम छ । 

कार्यालयका प्रमुखदेखि अन्य कर्मचारीले केही वर्षदेखि  तलब भत्ता खानु बाहेक अन्य प्रगती  बोहरा नआउनजेल शुन्य जस्तै थियोे । बजेट हुँदाहुँदै काम गर्न नसक्नु कार्यालयको कमजोरी रहेको स्थानियले आरोप लगाउँदै आएका थिए ।  

आयोजनाको मुख्य कामहरू बाँकी नै रहेपनि अन्य कार्यहरू अगाडि बढेको कार्यालय कर्मचारी बताउँछन् । रिभर ट्रेनिङ्ग वर्कको डिजाइन तयार पार्ने कार्य, आयोजना क्षेत्रको जग्गा लगत सम्बन्धी कार्य, जलाधार, जलाशयको परिधि छुट्टाउने कार्य तथा उपलब्ध सीमित बजेटबाट पहुँचमार्गको केही खण्ड स्तरोन्नति लगायतका  केही कामहरू भएतापनि भौतिक रुपमै देखिने गरी आयोजनाका सम्रचना निर्माणको काम गर्न र प्रगती हासिल गर्न समय लाग्ने आयोजनाका इन्जिनियर  विजय शर्मा बताउँछन् । कुल १२७ खर्ब बराबरको लागत अनुमान भएको जलाशययुक्त/बहुआयामिक आयोजनाको लागि सरकारको नीति, निर्देशन तथा विनियोजित बजेटको आकार अनुसार काम अघि बढ्ने  शर्माको  भनाइ छ । 

केही वर्षदेखि कार्यालय स्थापना भएर आयोजनाको काम अघि बढेपनि आयोजनामा कर्मचारीको निकै अभाव छ । कुल ८–१० जना अधिकृत माथिका दरबन्दी भएको भनिएको  कार्यलयमा अहिले आयोजना प्रमुख बोहरा र इन्जिनियर विजय शर्मा बाहेक अन्य इन्जिनियर कर्मचारी लेखापाल सम्म छैनन् । भएका इन्जिनियर सूचना अधिकारी कृष्ण गौतम समेत अध्ययन विदामा हिँडेपछि कार्यालय कर्मचारी विहीन अवस्थामा पुगेको हो ।

लामो समय खर्चेर वि.सं. २०४३ सालमै सर्भे भएको नौमुरे जलविद्युत परियोजना विभिन्न सरकारले चर्चा र तयारी गरेको लामै समय भएपनि निर्माण प्रक्रियामा चाँसो नदिँदा आयोजनाले गति लिन सकेको छैन । तत्कालीन पञ्चायत सरकारले सस्तो लगानीमा आयोजना निर्माण गर्ने भन्दै वि.सं. २०४३ सालमै भैगोलिक परीक्षण, पानीको बहाव परीक्षण तथा सर्वेक्षण समेत गरेको थियो । २०४६ सालमा बहुदल आएपछि पटक–पटक चर्चा भएपनि आयोजनाको कामले गती लिएन ।  अर्घाखाँचीको शितगङ्गा नगरपालिका वडा नम्बर ८ र प्युठानको सरुमारानी गाउँपालिका वडा नम्बर ३ को सिमानामा पर्ने यस आयोजनाको तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल पहिलो पटक भारत भ्रमण जाँदा भारतले सो आयोजनालाई उपहारका रूपमा निर्माण गरिदिने वचन नेपाललाई दिएको थियो । 

२०७१ साउनमा सरकारले सो आयोजना आफै बनाउने घोषणा गर्दै पानी भारतलाई दिन नसक्ने बताएको थियो । भारतलाई पानी नदिएर आफै सम्पन्न गर्ने निर्णय गरेको सरकारले नीति तथा कार्यक्रमै एक प्रदेश एक जलाशययुक्त जलविद्युत् आयोजना अन्तर्गत नौमुरेलाई घोषणा गरिएपनि अझैसम्म कार्यालय स्थापना र केही सानातिना निर्माणका काम  बाहेक  जलविद्युतको ड्याम्म  काम अघि बढेको छैन ।

ADVADV

सम्बन्धित खबर

Advertise