अर्घाखाँची : नेपाल निजामती कर्मचारी युनियन अर्घाखाँचीले ३६औं स्थापना दिवसको अवसरमा सन्धिखर्क–२ चुत्राबेसीस्थित शिद्वेश्वर वेदआश्रममा रहेका वटुकहरूलाई खाद्यान्न हस्तान्तरण गरेको छ ।
युनियनका जिल्ला अध्यक्ष दिपक पाण्डेले दाल, चामल, तेल, स्वाबिनलगायतका खाद्य सामग्री आश्रममा हस्तान्तरण गरिएको जानकारी दिए ।
नेपालमा लोकतन्त्रवादी कर्मचारीहरूको सबैभन्दा ठुलो संस्था मानिने निजामती कर्मचारी युनियन २०४७ साल भदौ १९ गते स्थापित भएको हो । हरेक वर्ष युनियनले भदौ १९ गते स्थापना दिवस मनाउँदै आएको छ ।
स्थापना दिवसका अवसरमा आयोजित खाद्य वितरण तथा अन्तरक्रिया कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री बिष्णु प्रसाद खनालले युनियनले आश्रमका वटुकलाई सहयोग गरेर मानवता प्रदर्शन गरेको बताए । उनले युनियनमा आबद्ध कर्मचारीलाई सेवाग्राहीमैत्री सेवा प्रवाह गरेर नागरिकलाई दुःख नदिने गरी मुस्कानसहित सेवा दिन आग्रह गरे ।
मुस्कानले सरकारले ल्याउन लागेको निजामती कर्मचारी ऐन कर्मचारीमैत्री हुने विश्वास व्यक्त गर्दै ऐनबारे कर्मचारीसँग रायसुझाव लिएर सरकारले अघि बढिरहेको जानकारी पनि दिए ।
कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय सदस्य रुकेन्द्र पालुङेले स्थापना दिवसदेखि नै युनियनले सामाजिक उत्तरदायित्व वहन गर्दै निरन्तर सामाजिक कार्य गर्दै आएको जानकारी दिँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए । वन प्राविधिक संघ लुम्बिनीका अध्यक्ष तथा युनियन नेता केशव खड्काले संघीय संरचनामा गएपछि पहिलो पटक ल्याउन लागिएको निजामती कर्मचारी ऐन कर्मचारीका सुझाव सम्बोधन गरेर आउने विश्वास व्यक्त गरे । तर कर्मचारीविरुद्ध प्रतिकूल ऐन ल्याएमा आन्दोलनमा जान बाध्य हुने चेतावनी पनि दिए ।
शिद्वेश्वर वेदआश्रमका पण्डित सुमन्त पौडेलले आश्रमको वस्तुस्थितिबारे जानकारी दिँदै कर्मचारी युनियनले खाद्यान्न वितरण गरेर प्रशंसनीय कार्य गरेको भन्दै धन्यवाद ज्ञापन गरे ।
कार्यक्रममा युनियनका केन्द्रीय प्रतिनिधि योगेश पन्थी, माया घिमिरे, नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष लक्ष्मण घिमिरे, कर्मचारी युनियनका नेता शिवहरि खनाल, मुक्ति खनाल, जर्सराम चौधरी, सीता बिसी, यमुना पन्थी, मोति घिमिरे, सिवहरि घिमिरे, टिकाराम न्यौपानेलगायतले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रमको अध्यक्षता युनियन अर्घाखाँचीका जिल्ला अध्यक्ष दिपक पाण्डेले गरेका थिए भने सञ्चालन सचिव रमेश न्यौपानेले गरेका थिए ।