काठमाडौं : चालू आर्थिक वर्षका पछिल्ला महिनामा उपभोक्ता बजार सस्तिएको देखिएको छ । मुद्रास्फीति अर्थात् औसत बजार महंगीको आँकडा निरन्तर ओह्रालो देखिएको छ । तर, उपभोक्ताले अनुभुत भने गर्न पाएका छैनन् । दैनिक अत्यावश्यक वस्तुको मूल्यमा पुरानै मूल्य तिरिरहनुपरेको गुनासो उपभोक्ताको छ । यो अवधिमा खाद्य तथा पेय पदार्थमा निरन्तर बढेको तथ्यांक छ भने गैह्र खाद्य वस्तु तथा सेवामा ह्वात्तै घटेको देखिन्छ ।
यसैका कारण औसत मुद्रास्फीति घटे पनि उपभोक्ताको तहमा कुनै प्रभाव नपरेको अर्थशास्त्री डा. चन्द्रमणि अधिकारी बताउँछन् । उनले भने, ‘औसत मूल्य घटेको वा बढेको खास अर्थ बजारमा पर्दैन । त्यसमाथि हाम्रो सर्वे गर्ने तरिका नै गलत छ । कुनै एक बजारको मूल्यलाई मानक मानिन्छ । उपभोक्ताले त्यो भन्दा निकै महंगोमा खरिद गर्नुपर्छ ।
अर्थशास्त्रको सिद्दान्तअनुसार कुनै पनि देशका जनताले दैनिक तथा आवधिक रूपमा उपभोग गर्ने वस्तु र सेवाहरूको औसत मूल्यस्तरमा निरन्तर भएको मूल्यवृद्धिको अवस्थालाई मुद्रास्फीति हो । अर्थात् बजारमा बढेको वा घटेको महंगी भनेको यही हो । नेपाल राष्ट्र बैंकले हरेक महिना निकाल्ने तथ्यांकका आधारमा बजार कस्तो छ भन्ने विश्लेषण गर्ने गरिन्छ । तर, नेपाल राष्ट्र बैंकले निकाल्ने मुद्रास्फीतिको तथ्यांकले बजारको वास्तविकता मापन गर्न नसकेको स्वयं राष्ट्र बैंकका अधिकारीहरू स्वीकार गर्छन् ।
निरन्तर घटेको तथ्यांक
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षका पछिल्ला महिनामा औसत मुद्रास्फीति अर्थात् मूल्य बृद्धिको चाप घट्दै गएको देखिन्छ । तथ्यांकअनुसार बैशाख महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रस्फीति ४ दशमलव ४० मा कायम रहेको छ । तथ्यांकअनुसार गत वर्षको बैशाखमा यस्तो मुद्रास्फीति ७ दशमलव ४१ प्रतिशत कायम भएको थियो । यो तथ्यांकले गत वर्षको सोही महिनाको तुलनामा करिब आधाले महंगी घटेको देखिन्छ ।
चालू आर्थिक वर्षको पहिलो महिना अर्थात् साउनमा यस्तो औसत मुद्रास्फीति ७ दशमलव ५२ प्रतिशत थियो । दोस्रो महिना भदौमा अझैं बढेर ८ दशमलव १९ मा कायम थियो । त्यसपछि असोजमा ७ दशमलव ५० मा कायम रहेको थियो । त्यसपछि बजारको औसत महंगी निरन्तर घटेको तथ्यांक छ । नेपाल राष्ट्र बैंकले हरेक महिना निकाल्ने सर्वेक्षण प्रतिवेदनअनुसार कात्तिकमा ५ दशमलव ३८, मंसिरमा ४ दशमलव ९५, पुषमा ५ दशमलव २६, माघमा ५ दशमलव ०१, फागुनमा ४ दशमलव ८२ र नवौं महिना चैतमा आइपुग्दा ४ दशमलव ६१ मा औसत मुद्रास्फीति कायम भएको थियो ।
गत आर्थिक वर्ष २०७९/८० मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ७.७४ प्रतिशत कायम थियो । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा यस्तो मुद्रास्फीति ६.३२ प्रतिशत थियो भने आव २०७७/०७८ वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ३.६० प्रतिशतमा कायम थियो ।
मुद्रास्फीति मापन विधि
उपभोक्ताको खर्च गर्ने प्रवृत्तिमा हुने परिवर्तनलाई समावेश गर्न राष्ट्र बैंकले प्रत्येक १०÷१० बर्षमा पारिवारिक बजेट सर्वेक्षण गरी उपभोक्ताको आम्दानी र खर्चको यथार्थ संरचनाका आधारमा परिवर्तन गर्दै आएको छ । उक्त सर्वेक्षणअनुसार कुनै पनि घरपरिवारले किन्ने वस्तु तथा सेवाको छनौट गरिन्छ । छनोटमा गरेका बस्तु तथा सेवाका आधारमा उपभोक्ता मूल्य सूचकांक गणनाका लागि प्रतिनिधिमूलक बजार केन्द्र तोकिन्छन् । ती निर्धारित बजार केन्द्रबाट मूल्य संकलन गरिन्छ । सोही आधारमा मुद्रास्फीति निकालिन्छ ।
अहिले राष्ट्र बैंकले र २९ वटा ग्रामीण तथा ३१ वटा सहरी गरी ६० बजार केन्द्र तोकेको छ भने ४ सय ९६ वटा वस्तु तथा सेवालाई मूल्यांकन गर्ने गरेको छ । उक्त सर्वेक्षणले छनोट गरेका वस्तुमा १ सय ६२ वटा खाद्यवस्तु, १४ वटा पेय पदार्थ र ३ सय २० वटा गैरखाद्यवस्तु राखिएका छन् । राष्ट्र बैंकका अनुसार छनौटमा परेका बजार केन्द्रहरूबाट साप्ताहिक, मासिक तथा त्रैमासिक रूपमा वस्तु तथा सेवाहरुको मूल्य संकलन गर्ने गरिन्छ । यसरी मूल्य संकलनका लागि राष्ट्र बैंकले केही शिक्षकलाई जिम्मा दिएको छ ।
अर्थशास्त्री डा. चन्द्रमणि अधिकारी के भन्छन् ?
मुद्रास्फीतिको औसत तथ्यांकले उपभोक्ताको खास मूल्य बोल्दैन । अहिले पनि उपभोक्ताले दैनिक उपभोग गर्ने बस्तु तथा सेवाको मूल्यमा कमी आएको देखिदैन । खाद्यान्ह, फलफूल माछामासु लगायतको मूल्य बढिरहदा राष्ट्र बैंकको औसत तथ्यांक उपभोक्ताले अनुभुत गर्ने त कुरै भएन नि ।
सरकार र जिम्मेवार निकायले यही तथ्यांकलाई आधार मानेर बजार मूल्य घटेको वा बढेको त भन्छन् । तर, उपभोक्ताले बुझ्ने गरी भन्न सक्दैन यो कमजोरी नै हो । अनि सरकारमा रहेका मन्त्री वा प्रधानमन्त्री आफूले जस लिनका लागि पनि सानो अंकको तथ्यांक देखाउँछन् । तर, के मन्त्री वा प्रधानमन्त्रीले गर्दा मूल्य घटेको हो त ? त्यसो होइन, आयातमा निर्भर देश नेपालमा आयात लागत घट्यो भने मूल्य घट्ने हो । यो कुरा उपभोक्तलाई बुझाइदैन ।
अर्को महत्वपूर्ण कुरा हाम्रो सर्वे गर्ने तरिका नै ठिक छैन । डालोमा दश वर्ष पहिलो जे थियो त्यही बस्तु तथा तथा सेवा रहेको छ । अहिलेको बजार, उपभोक्ता रुची र कारोबार नै फरक छ । यो त मिल्दै मिल्दैन । त्यस कारण नेपाल राष्ट्र बैंकले बजार मूल्यमा कमी आएको देखाए पनि यथार्थमा त्यो होइन ।