२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

मनाङेले छोडे मन्त्री पद

ADV
भावना पाठक
२०८१ भदौ १८ गते ०६:४०
मनाङेले छोडे मन्त्री पद

काठमाडौं : वन तथा वातावरण मन्त्रीमा सरुवा भएपछि गण्डकी प्रदेशसभाका स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) रिसाएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेकपा एमालेलाई सरकारमा सहभागी गराउँदै कार्यविभाजन गर्दा मनाङेलाई भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयबाट वन मन्त्रालयको जिम्मेवारीमा सरुवा गरेका थिए । मुख्यमन्त्रीको यस्तो निर्णयबाट रिसाएका मनाङे शपथग्रहण समारोहमै रिसाए । 

कसैसँग नबोली शपथग्रहण समारोहबाट निस्किएका मनाङेले मन्त्री पदबाट राजीनामा दिए । पत्रकारहरूसँग कुरा गर्दै मनाङेले आफूलाई अल्छी लागेकाले राजीनामा दिएको बताए । ‘अब सरकारमा जान्न’ उनले भनेका छन्, ‘कति खाने मन्त्री ! अब रेष्ट गर्छु ।’ 

मनाङेको ‘कति खाने मन्त्री !’ भन्ने शब्द जे जस्तो गरी सार्वजपनक भएको भएता पनि उनको जीवनमा भने मेल खान्छ ।

मनाङे यस्ता पात्र हुन्, जो प्रदेश सभाको अघिल्लो कार्यकालमै सरकार गिराउन र बनाउन निर्णयक बने । वर्तमान कार्यकालमा पनि उनी पटक–पटक मन्त्री बने ।

सर्वोच्च अदालतले २३ फागुन २०७७ मा एमाले र माओवादी ब्यूँताइदिएपछि मनाङेले सत्ता खेलमा आफूलाई जता फाइदा उतै राख्न थाले ।

माओवादीले समर्थन फिर्ता लिँदा एमालेका पृथ्वीसुब्बा गुरुङ नेतृत्वको प्रदेश सरकार संकटमा पर्दा उनले मन्त्री बनाउनुपर्ने शर्त राखे । सरकार जोगिने आशमा तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उनलाई खेलकुदमन्त्री बनाए । पृथ्वीसुब्बा ठूलो दलका हिसाबले दोस्रो पटक मुख्यमन्त्री बने र मनाङे पनि दोस्रो पटक खेलकुदमन्त्री । 

राष्ट्रिय जनमोर्चाले समर्थन फिर्ता लिँदा सरकार ढल्ने भएपछि मनाङे फेरि नयाँ सरकार बनाउन प्रयासरत कांग्रेस र माओवादी केन्द्रतिर लागे । ६० सदस्यीय प्रदेश सभामा ३१ सदस्य पुग्ने भएकाले निर्णयक मनाङेकै जगमा २०७८ जेठ १९ गते कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वको सरकार बन्यो र तेस्रो पटक खेलकुदमन्त्री भए ।

अघिल्लो पटक एमालेको समर्थनमा चुनाव जितेका मनाङे मंसिरको चुनावमा निर्विरोध निर्वाचित भएर प्रदेशसभा छिरे । चुनाव जितेलगत्तै ५ दलीय गठबन्धनको सरकार बन्ने र फेरि मन्त्री बन्ने योजनाका साथ मनाङे १९ मंसिरमा नेकपा एकीकृत समाजवादी छिरे । तर, केन्द्रमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै प्रधानमन्त्री बन्न एमाले लगायतका दलसँग समीकरण गरेपछि गण्डकीमा खगराज अधिकारी बन्ने मुख्यमन्त्री बन्ने भए ।

खगराज सरकारमै मन्त्री हुने योजनासहित केन्द्रमा जे गठबन्धन भए पनि गण्डकीमा ‘खगराज दाइ’लाई नै समर्थन गर्ने बताए र नियुक्तिमा समर्थन पनि गरे । 

कांग्रेस–माओवादी गठबन्धन टुटेर एमाले र माओवादीको गठबन्धन बन्यो, कांग्रेसका सुरेन्द्रराज पाण्डेको नेतृत्वमा सरकार बन्यो, मनाङे मन्त्री बने । मनाङे समेतको मतको आधारमा एमाले र माओवादी गठबन्धन बिपरितको सरकार बनाउन सफल भएका कांग्रेसका मुख्यमन्त्री पाण्डेले फेरि पनि मनाङेलाई मन्त्रिपरिषदबाट हटाउन चाहेनन् । तर, मन्त्रालय फेरिदिँदा रिसाएर राजीनामा नै दिए । 

जे जस्तो भएता पनि प्रदेश सभाको अघिल्लो कार्यकाल समेतका आधारमा झण्डै पाँच वर्षदेखि जुन सरकार बनेपनि निरन्तरजसो मन्त्रीमा रहँदै आएका मनाङे यसपटक भने सत्ता बिमुख भएका छन् । 

नेताहरूका अनुसार अब मनाङेको सत्तारोहणका लागि कांग्रेस र एमालेको सत्ता समीकरण टुट्नुपर्छ । त्यस्तो भए फेरि मनाङे सत्ताको खेलमा निर्णायक हुनेछन् र रोजेको मन्त्रालय लिएर मन्त्रिपरिषद पुग्नेछन् । 

ADVADV

सम्बन्धित खबर

Advertise