२०८३ असोज २४ गते शनिवार / Oct 10 , 2026 , Saturday
२०८३ असोज २४ गते शनिवार

जसपा मधेश प्रदेशको अधिवेशनमा विवाद, योगेन्द्र यादव पक्षले निर्वाचन बहिष्कार गर्ने

Nada
धर्मेन्द्रकुमार साह
२०८२ असोज ३० गते ११:४६
Shares
जसपा मधेश प्रदेशको अधिवेशनमा विवाद, योगेन्द्र यादव पक्षले निर्वाचन बहिष्कार गर्ने

रौतहट : जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेश प्रदेश अधिवेशनमा आन्तरिक विवाद चर्किएको छ । संस्थापन पक्षले प्रतिनिधि छनोटमा एकलौटी गरेको आरोप लगाउँदै बहुमत जिल्ला अध्यक्ष र शीर्ष नेताहरूले निर्वाचन बहिष्कार गर्ने घोषणा गरेपछि अधिवेशन नै संकटमा परेको छ ।

ncell

प्रदेशका पाँच जिल्ला (रौतहट, सप्तरी, धनुषा, बारा र सर्लाही) का अध्यक्षहरू लगायत प्रभावशाली नेताहरूले पत्रकार सम्मेलनमार्फत संयुक्त रूपमा निर्वाचन बहिष्कारको घोषणा गरेका हुन् । यसले निर्वाचन प्रक्रिया पूरै ओझेलमा परेको छ । बहिष्कार गर्ने नेताहरूमा मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सरोज कुमार यादव, पूर्वअर्थमन्त्री सञ्जय कुमार यादव, पूर्वप्रदेश अध्यक्ष रामबाबू यादव, प्रदेश अध्यक्ष पदका दाबेदार योगेन्द्र राय यादव, प्रदेश सांसद अनुरुध प्रसाद सिंह यादव लगायत छन् ।

योगेन्द्र पक्षका नेताहरूले सर्लाहीमा ७० जना प्रतिनिधि जबरजस्ती चयन गरिएको भन्दै तिनको भोटिङ रद्द गर्न माग गरेका छन् । त्यस्तै, प्रदेश अध्यक्षले गर्ने ५ प्रतिशत प्रतिनिधि मनोनयन पनि पार्टी विधानविपरीत भएको दाबी गर्दै उक्त मनोनयन पनि रद्द हुनुपर्ने उनीहरूको अडान छ ।

पूर्वमुख्यमन्त्री सरोज कुमार यादवले भने, "पार्टी अध्यक्ष उपेन्द्र यादवले हाम्रा यी मागहरू पूरा नगरी निर्वाचन प्रक्रिया अगाडि बढाउन खोजेपछि हामीले भाग नलिने निर्णय गरेका हौं । यो विधिविपरीतको जबरजस्ती हो ।"

पार्टीका बहुमत प्रदेश प्रतिनिधि, जिल्ला अध्यक्ष र शीर्ष नेताहरूले पनि विधानविपरीत निर्वाचन गराउन खोजिएको भन्दै प्रक्रिया बहिष्कार गरेका छन् । यसले जसपा नेपालको आन्तरिक एकतामा गम्भीर प्रश्न उठाएको छ । अधिवेशनको थप विवरण बाहिरिएको छैन, तर विवादले प्रदेश नेतृत्व चयनमा असर पार्न सक्ने राजनीतिक विश्लेषकहरूको भनाइ छ ।

सम्बन्धित खबर