२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

यौन हिंसाका उजुरीको बढ्दो ग्राफ : ११ देखि १६ वर्षका पीडित अधिक

ADV
अस्मिता बम
२०८१ असोज ४ गते ०६:४५
यौन हिंसाका उजुरीको बढ्दो ग्राफ : ११ देखि १६ वर्षका पीडित अधिक

काठमाडौं : प्रहरी प्रधान कार्यालयका अनुसार यौन हिंसाका उजुरी वार्षिक रुपमा बढ्दो छ । आर्थिक वर्ष २०८०/८१ को हालसम्ममा यौन हिंसाका उजुरी दुई हजार पाँच सयभन्दा माथि देखिएका छन् । आव ०७९/८० मा यस्ता उजुरीको संख्या दुई हजार तीन सय ८० रहेको थियो । २०८०/८१ मा बढेर दुई हजार पाँच सय सातमा पुगेको हो । 

यौन हिंसामा परेका पीडितको संख्या आर्थिक वर्ष २०७९/८० को भन्दा ०८०/८१ मा बढेको तथ्याङ्कले देखाउँछ । २०७९/८० मा पीडितको संख्या दुई हजार तीन सय ९८ रहेकोमा ०८०/८१ को हालसम्म दुई हजार पाँच सय १५ पुगेको छ । 

यी दुबै आर्थिक वर्षमा सबैभन्दा धेरै पीडित ११ वर्षदेखि १६ वर्षसम्मका बालिका रहेको पाइएको छ । आर्थिक वर्ष ०८०/८१ मा यो उमेर समूहका पीडित बालिकाको संख्या पाँच सय २३ रहेको छ भने ०७९/८९ अझै बढी रहेको कार्यालयको तथ्याङ्कले देखाउँछ । जसको संख्या नौ सय ४४ रहेको छ । 

प्रहरी प्रधान कार्यालयका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार यो उमेर समूह यौनिक हिसाबले सक्रिय रहेको र सामाजिक सञ्जालको नकारात्मक प्रभाव पनि छिटो पर्ने हुँदा यो समूह यौन हिंसामा बढी परेको हो । 

उनी भन्छन्, ११ वर्षदेखि १६ वर्षसम्मका उमेर समूह यौनिक हिसाबले सक्रिय रहेको र सामाजिक सञ्जालको नकारात्मक प्रभाव पनि छिटो पर्ने हुँदा यो समूह यौन हिंसामा बढी परेको हो ।’ 

०८०/८१ मा यौन हिंसामा पर्ने १० वर्ष मुनिका बालिका दुई सय ५२ जना रहेकोमा यस अघिको आवमा दुई सय ५९ जना रहेका छन् । साथै ०८०/८१ मा सोही उमेर समुहका एक जना बालक पनि पीडित रहेको तथ्याङ्कमा उल्लेख छ । 

यसैगरी आव ०८०/८१ मै १७ देखि १८ वर्षमा महिला पीडितको संख्या चार सय ४६ जना रहेको छ । यस अवधिमा १९ देखि २५ वर्षसम्मका महिला पीडित नदेखिए पनि ३३१ जना पुरुष भने यौन हिंसामा परेको प्रहरी प्रधान कार्यालयको तथ्याङ्कले देखाउँछ । 

करणीको विषयलाई मात्र यौन हिंसा नभनि दुव्र्यवहार पनि यौन हिंसामै पर्ने हुँदा पछिल्लो समय यस्तो हिंसामा परेका पुरुषहरुले पनि मुद्दा दर्ता गर्ने गरेको प्रवक्ता कार्कीले बताए । 

यस्तै, सोही आवमा २६ देखि ३५ वर्षसम्मको उमेरका पीडित महिला चार सय १७ जना, ३६ देखि ४५ वर्षसम्मका महिला दुई सय ९८ जना, ४६ देखि ५९ वर्षसम्मका एक सय २३ महिला र ६० देखिमाथिका ५२ जना महिला गरी जम्मा पीडित बालिका एक हजार पाँच सय ९४ जना, बालक एक जना, महिला नौ सय २० जना र अन्य एक जना पीडित यौन हिंसामा परेका छन् । 

आव ०७९/८० मा १० वर्ष मुनिका पीडित बालिकाको संख्या दुई सय ५९ जना, १७ देखि १८ वर्षका तीन सय १२ महिला, १९ देखि २५ वर्षसम्मका चार सय २४ महिला, २६ देखि ३५ वर्षसम्मका दुई सय ६० जना महिला, ३६ देखि ४५ वर्षसम्मका एक सय तीन महिला, ४६ देखि  ५९ सम्मका ९८ महिला र ६० देखि माथिका ३७ जना महिला गरी यो वर्षमा पीडित हुने बालिकाको संख्या एक हजार पाँच सय १५ जना, महिला आठ सय ८२ र अन्य एक जना हिंसामा परेको तथ्याङ्कमा उल्लेख छ । 
विगतका वर्षहरुमा डर र लाजका कारण हिंसामा परेपनि मुद्दा दर्ता गर्नेको संख्या न्यून रहेको तर हाल मानिसमा अपराधलाई नसहने मानसिकता सिर्जना भएसकेकाले यौन हिंसाका उजुरी बढेको प्रवक्ता कार्कीको भनाइ छ । 

‘पहिला–पहिला समाजको डरले, लाजले हामीकहाँ रिपोर्ट हुन्नथ्यो । पछिल्लो समय रिपोर्ट हुने गरेको छ । रिपोर्टिङ मेकानिजम बढ्ने कारणले पनि अपराधलाई नसहने प्रवृति छ । त्यसकारण थाहा पाउनासाथ सूचना दिने, मुद्दा दर्ता गर्नेको संख्या बढेको छ’, उनले भने । 

यस्ता हिंसा न्यूनीकरणमा समाज पहिलो पात्र बन्ने उनले बताए । जसका लागि महिला र पुरुषको समानता आवश्यक पर्ने कार्कीको भनाइ छ । 

साथै प्रहरीले प्रशासनले हिंसाका उजुरीहरु सुन्ने र कानूनी उपचार तत्कालै गरे यौन हिंसा न्यूनीकरण हुने उनले औल्याए । 

यौन हिंसा हुन नदिन प्रहरीले विभिन्न किसिमका सचेतनामूलक कार्यक्रम गरिरहेको जानकारी दिए । 

उनले भने, ‘यौन हिंसा हुन नदिन हामीले एक वर्षमा एक लाखभन्दा बढी सचेतनामूलक कार्यक्रम सञ्चालन गछौं । त्यस्ता कार्यक्रमले नागरिकमा कस्ता कुरा हिंसा हुन्, उजुरी कता गर्ने, पीडितले उजुरी गर्न नसके कसले गर्नेलगायतका विषय समेटिने हुनाले हिंसा न्यूनीकरण हुनका साथै उजुरी गर्न नराउनेको संख्या बढिरहेको छ । 

ADVADV

सम्बन्धित खबर

Advertise