२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

अर्घाखाँचीमा ज्वरो, डेंगु र स्क्रब टाइफसका बिरामी बढे

shivam cement
सूर्यप्रसाद भुसाल
२०८१ असोज ४ गते २०:४२
Shares
अर्घाखाँचीमा ज्वरो, डेंगु र स्क्रब टाइफसका बिरामी बढे

अर्घाखाँची : अर्घाखाँचीमा विगत तीन सातादेखि भाइरल ज्वरो,डेंगु र स्क्रब टाइफसका बिरामी बढेको पाइएको छ । जिल्लाका सबै निजी अस्पताल, क्लिनिक मेडिकलहरुमा भाइरल ज्वरो,डेंगु र स्क्रब टाइफसका बिरामी बढेका छन् । 

जिल्ला अस्पतालको ओपीडी कक्षमा  दैनिक २ सयभन्दा बढी बिरामी आउने गरेकोमा अहिले बढेर तीन सयदेखि  तीन सय पचाससम्म  पुगेका छन् । 

जिल्ला अस्पताल अर्घाखाँचीका प्रमुख डाक्टर जगन्नाथ तिवारीका अनुसार विगतका वर्षमा डेंगु र स्क्रब टाइफसका बिरामी खासै नदेखिएकोमा यस वर्ष भने बिरामी निकै बढेका छन् । 

साउन, भदौ  र असोज ४ गते सम्म अर्घाखाँची जिल्लाभरका ५० बिरामीलाई  डेगु संक्रमण पुष्टि भएको छ भने  २८ जनामा ‘स्क्रब टाइफस’ देखिएको जिल्ला अस्पताल अर्घाखाँचीको रेकर्डमा उल्लेख छ । जिल्ला अस्पतालमा जस्तै अर्घाखाँचीको  निजी अस्पताल छाया अस्पतालमा पनि डेंगु र स्क्रब टाइफसका बिरामीको संख्या निकै बढेको अस्पतालका प्रमुख फिजिसियन मुटुरोग विशेषज्ञ डाक्टर प्रदिप केसीले बताए । 

छाया अस्पतालमा अहिले दैनिक ३ सयदेखि ४ सय बिरामी ओपीडीमा चेक जाँच गराउन आउने गरेका छन् । अर्घाखाँची जिल्ला अस्पताल तथा अर्घाखाँची छाया अस्पताल सन्धिखर्कमा पछिल्लो समय भाइरल ज्वरोका बिरामीको संख्या निकै बढेको बताइएको छ। ज्वरो आउने, शरीर दुख्ने, खान मन नलाग्ने, कमजोर महसुस हुने जस्ता लक्षण देखिने तर सामान्य उपचारले बिरामी निको नहुने हुनाले बिरामीलाई अस्पतालमै भर्ना गरी उपचार गर्नुपरेको  जिल्ला अस्पतालका एमडीजीपी डाक्टर अशोक शाहले बताए ।

सामान्य ज्वरो देखिएपनि समयमै स्वास्थ्य संस्थामा गइ चिकित्सकहरुको सल्लाह लिन र उपचार गर्न अस्पतालले सबैलाई आग्रह गरेको डाक्टर शाहले बताए  । रुघाखोकी जस्तो सामान्य देखिए पनि डेंगु र स्क्रब टाइफस समेत हुने भएकाले सचेत हुनपर्ने डा.शाहको भनाइ छ । अर्घाखाँची जिल्ला अस्पताल  ५० बेड क्षमताको अस्पताल हो । अर्घाखाँची  र छिमेकी जिल्ला गुल्मी, प्युठानको उत्तरी क्षेत्रका बिरामीले अर्घाखाँची अस्पतालबाट सेवा लिने गरेका छन् । यहाँ दैनिक ओपीडीमा ४ सय र इमरजेन्सीमा ६० बढी दैनिक बिरामी आएर उपचार सेवा लिने गरेका अस्पतालका सूचना अधिकारी निम रानाले बताए । 

अहिले अस्पताल आएका अधिकांश बिरामीलाई भर्ना गरेर उपचार गर्नुपर्ने अस्पताललाई बाध्यता हुन्छ ।  सुविधा सम्पन्न भवन निर्माण समयमै शुरु नहुँदा अस्पतालमा भर्ना भएर उपचार गर्नुपर्ने बिरामीलाई प्यासेज र बेन्चमा राखेर उपचार गर्नुपर्ने बाध्यता भएको अस्पतालका प्रमुख डा.जगन्नाथ तिवारीले  बताए ।

सम्बन्धित खबर