२०८१ असोज ९ गते बुधवार / Sep 25 , 2024 , Wednesday
२०८१ असोज ९ गते बुधवार

अस्पतालमै असुरक्षित बिरामी, जिम्मेवार को ?

ADV
कुलेन्द्र शाही
२०८१ असोज ९ गते ०६:५५
अस्पतालमै असुरक्षित बिरामी, जिम्मेवार को ?

सुर्खेत : कर्णाली प्रदेशको प्रादेशिक अस्पताल सुर्खेतमा एकपछि अर्को मृत्युका घटना विवादमा आउने गरेका छन् । 

प्रदेश अस्पतालमा भएका प्रत्येकजसो मृत्युका घटनामा मृतकका आफन्तहरू छानबिनको माग गर्छन । तर अस्पतालले कुनै पनि घटनाको अनुसन्धान गरेर सही निष्कर्ष नदिएको नागरिकको गुनासो छ । 

सुत्केरी गराउन पुगेकी महिलाको समेत मृत्यु हुन पुगेको र यस्तोमा अस्पतालको लापरबाही रहेको आरोप मृतकका आफन्तको छ । 

घटना– १

२०८०  भदौ २९ गते सुर्खेतको पञ्चपुरी नगरपालिका–२ घर भई वीरेन्द्रनगर बस्दै आएकी जानकी रेग्मीलाई सुत्केरी बेथाले च्यापेपछि प्रदेश अस्पतालको प्रसूति वार्डमा भर्ना गरियो । उनी सोही दिन प्रसूति वार्डमा सुत्केरी भइन् । सुत्केरी भएपश्चात् एक्कासि समस्या देखा परेपछि उनलाई अप्रेसन वार्डमा लगेर शल्यक्रिया गरियो । तर भदौ ३१ गते अस्पतालले उनलाई एक्कासि मृत्युको घोषणा गर्‍यो । उनको अस्पतालमै छोरा समेत जन्मिएको थियो । छोरा जन्मेपछि आमालाई जनरल वार्डमा राखिएको थियो । 

त्यति बेलासम्म उनको अवस्था सामान्य थियो । उनले छोरालाई दूधसमेत खुवाएकी थिइन् । तर सोही वार्डमा एक्कासि बेहोस भइन् भन्दै अस्पतालले उनलाई आइसियुमा राख्यो । आइसियुमा राखिएकी केही समयमै अस्पतालले एक्कासि उनलाई मृत घोषणा गर्‍यो । 

घटना– २ 

गत २९ चैत २०८० मा दैलेखको आठवीस नगरपालिका पिपलकोटकी २१ वर्षे युवती रिजुका बलामी प्रदेश अस्पताल कालागाउँमा भर्ना भइन् । ९ महिनाको बालिका बाहिर आफन्तलाई छोडेर उनी पाठेघर सफा गर्ने भन्दै अस्पतालमा भर्ना भएकी थिइन् । रिजुकाको पाठेघरमा समस्या भएको भन्दै निजी अस्पतालमा चेकजाँच पश्चात् प्रदेश अस्पताल कालागाउँमा पुर्‍याइएको थियो । अस्पताल लगेपछि पाठेघर सफा गर्न भन्दै डाक्टरले काम सुरु गरेको थिए । 

तर काम सुरु भएको केही समयपछि अस्पतालले उनलाई मृत घोषणा गर्दै शव बुझ्न परिवारलाई एक्कासि खबर गरे । उनका आफन्तले सेवामा खटिएका डाक्टरको लापरबाहीका कारण उनको मृत्यु भएको आरोप लगाएका थिए । उनीहरूले एक हप्तासम्म पनि शवको पोस्टमार्टम गर्न दिएका थिएनन् । मृतकका परिवारले अस्पतालले क्षतिपूर्ति नदिएसम्म शव जिम्मा नलिने अडान लिएका थिए । त्यति मात्रै होइन घटना अदालतसम्म पुगेको थियो । जिल्ला अदालत सुर्खेतले गत वैशाख २१ गते संवेदनशीलतालाई हेर्दा शव परीक्षण फरेन्सिक मेडिसिनका विशेषज्ञबाट गराउन आदेश दिएको थियो । 

घटना–३ 

आइतबार वीरेन्द्रनगर–६ बस्ने १९ वर्षीया शर्मिला कुमाल अस्पतालमा भर्ना भइन् । उनी सुत्केरी व्यथाले च्यापेपछि अस्पताल भर्ना भएकी थिइन् । अस्पतालमा उनलाई रक्तस्राव भएको र आइसियुमा राखेर उपचार गरिएकोमा उनको सोमबार बिहान पौने ३ बजेको समयमा मृत्यु भयो । मृत्युपछि शर्मिलाका आफन्तहरूले दिनभर अस्पताल परिसरमा आन्दोलन गरे । 

शर्मिलाका आफन्तले डाक्टरको लापरबाहीले आफ्नो मान्छेको मृत्यु भएको भन्दै विभिन्न नाराबाजी गर्दै अस्पतालमा तोडफोड समेत गरेका थिए । दिनभर अस्पताल तनावग्रस्त बनेको थियो । अस्पतालका निर्देशक डा. डम्मर खड्का बिरामी भएर काठमाडौँ छन् । 

अस्पताल किन छैन गम्भीर ?

प्रदेश अस्पतालमा सुत्केरी महिलाको ठुलो संख्यामा मृत्यु हुने गरे पनि प्रदेश अस्पतालले यसको सत्य तथ्य छानबिन गर्न सकेको छैन । अस्पतालले सुत्केरी महिलाको मृत्युमा अस्पतालको कुनै पनि त्रुटि नरहेको दाबी गर्दै आएको छ । 

तर मृतकका आफन्तहरू अस्पतालको उक्त कुरालाई प्रतिकार गर्दै आएका छन् । अस्पतालले गत चैतमा भएको भिमाको घटनामा शल्यक्रियामार्फत पाठेघर सफा गरेपछि ओरल प्रेग्नेन्सी अवस्थामा जटिल पल्मोनरी एम्बोल्सिम देखा परेपछि बचाउन नसकिएको जनाएको थियो । 

रगत बग्ने समस्या लिई आउनुभएकोमा भिडियो एक्स–रे गर्दा पाठेघरमा सालको ट्युमर देखिएको र सोको उपचारका लागि सोही दिन प्रसूति वार्डमा भर्ना गरी विशेषज्ञ चिकित्सकहरूको सल्लाहबमोजिम थप परीक्षण गरिएको अस्पतालले दाबी गरेको थियो । बिरामीका आफन्तले अस्पतालको लापरबाही नै भएको भन्दै छानबिन गरी उपचारमा संलग्न चिकित्सकलाई कारबाही गर्न माग गर्दै आएका छन् । तर अस्पतालले घटनाको सत्य तथ्य छानबिन नगरी विभिन्न बहाना बनाउँदै आएको छ । अस्पतालले आफ्नो कमजोरी नभई बिरामीकै कमजोरीले मृत्यु हुने गरेको दाबी गर्दै आएको छ ।

अस्पतालमा घटेका सबै घटनाका आफन्तहरू आक्रोशित हुँदै सत्य तथ्य छानबिन गर्न आग्रह गर्दा पनि अस्पतालले हालसम्म कुनै पनि घटनाको अनुसन्धान गरेर सही निष्कर्ष निकालेको पाइएको छैन । यसले गर्दा पनि घटनामा अस्पतालकै चरम लापरबाही भएको पुष्टि हुन आउँछ । अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले अस्पतालमा जनशक्ति अभाव लगायतका कारणले यस्ता घटना घट्ने गरेको बताए । 

ADVADV

सम्बन्धित खबर

Advertise