२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

चीन नेपालको लामो समयदेखिको प्रमुख विकास साझेदार : कार्यबाहक राष्ट्रपति

ADV
इसत्याक अहमद
२०८१ जेठ ३२ गते १८:२६
चीन नेपालको लामो समयदेखिको प्रमुख विकास साझेदार : कार्यबाहक राष्ट्रपति

काठमाडौं : कार्यबाहक राष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपाल भ्रमणमा रहेका चिनियाँ जन–राजनीतिक परामर्शदात्री सभा (सीपीपीसीसी)को राष्ट्रिय कमिटी उपाध्यक्ष बेटर नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलले शुक्रबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गरेको छ । 

भेटमा शुभकामना आदानप्रदान गरेपछि नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध, उच्च तथा जनस्तरीय भ्रमण, परस्पर सहयोग, व्यापार तथा पर्यटनलगायतका महत्वपूर्ण विषयमा छलफल भएको छ । 

कार्यबाहक राष्ट्रपति यादवले बेटर नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलको नेपाल भ्रमणप्रति खुशी व्यक्त गर्दै नेपाल र चीनबीच सदियौंदेखि रहिआएको सौहार्दपूर्ण एवम् अति घनिष्ठ सम्बन्ध हालैका वर्षहरुमा बहुआयामिक क्षेत्रमा अझ व्यापक, थप घनिष्ठ र अझ उच्च बनेको बताए । 

कार्यबाहक राष्ट्रपति यादवले उच्चस्तरीय भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप उचाईमा पुर्‍याएको तथा सहकार्यका क्षेत्रमा थप विस्तार गर्न मद्दत मिलेको बताए । ‘छिमेकी मित्रराष्ट्र चीन नेपालको प्रमुख एवम् लामो समयदेखिको विकास साझेदार रहि आएको छ,’ उनले भने, ‘चीनले झण्डै सात दशकदेखि नेपालको विकास प्रयासमा पुर्‍याउदै आयेको सहयोगका लागि धन्यवाद दिन चाहन्छु ।’

उनले सन् २०२६ सम्म नेपाल अल्पविकसित देशको श्रेणीबाट स्तरोन्नति हुन गइरहेको र तीव्र आर्थिक एवम् सामाजिक विकाससँगै नेपाली आम नागरिकको उन्नति र समृद्धिका लागि चीनले थप सहयोग गर्ने विश्वास व्यक्त गरे । 

कार्यबाहक राष्ट्रपति यादवले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले नेपालको पर्यटन बजारमा महत्वपूर्ण योगदान पुर्‍याउनेमा आफूहरु पूर्ण विश्वस्त रहेको बताए । उनले चीनको ‘सिचुआन विमान’ले छेन्दु र पोखराबीच चार्टर्ड उडान गेरेको तथा छिन्दाउ र काठमाडौंबीच उडान सुचारु भएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पोखरा र चीनका विभिन्न शहरबीच व्यावसायिक उडान शुरु हुनेमा विश्वास व्यक्त गरे ।

कार्यबाहक राष्ट्रपति यादवले चीन सरकारले हालै (१ मे २०२४) देखि लागू हुने गरी चीन भ्रमण गर्ने नेपालीका लागि भिसा शुल्क मिनाहा गरेको जानकारी पाएर खुसी लागेको उल्लेख गर्दै यस मैत्रीपूर्ण कदमका लागि चीन सरकारलाई धन्यवाद व्यक्त गरे । 

उनले कमान्थाङ्का–चेन्ताङमा २५ मे २०२४ मा सम्पन्न नेपाल–चीन सीमा व्यापारिक नाकाहरूको हालै संयुक्तरुपमा पुनः उद्घाटन हुनुले द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउन योगदान गरेको बताए ।

यस्तै बेटरले चिनियाँ प्रतिनिधिमडलको तर्फबाट नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सवल र सुदृद्ध बनाउने पक्षमा चीन रहेको बताए । उनले नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्धलाई थप दिगो, बलियो र प्रगाढ बनाउनुपर्नेमा जोड दिँदै नेपालको विकासमा चिनियाँ सहयोग निरन्तर जारी रहनेसमेत बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise