काठमाडौं : राजनीतिक दलहरू स्थानीय तहको उपनिर्वाचनका तयारीमा जुटेका छन् । निर्वाचन आयोगले आगामी मंसिर १६ गते उपनिर्वाचन गर्ने गरी निर्वाचन पूर्वको काम अगाडि बढाएको छ । राजनीतिक दल दर्ता लगायतको कार्य सकाएको छ ।
स्थानीय तहको उपनिर्वाचनलाई आफ्नो जनमत परीक्षणको रुपमा लिएर एक्ला एक्लै चुनाव लड्ने राजनीतिक दलहरूको तयारी छ । यसका लागि उनीहरू आन्तरिक रणनीतिमा जुटेका हुन् ।
स्थानीय तहमा रिक्त रहेका ३४ जनप्रतिनिधिका लागि आगामी मंसिर १६ गते उपनिर्वाचन हुँदैछ । ३० वैशाख २०७९ मा भएको चुनावबाट निर्वाचित भई हाल रिक्त रहेका मेयर, उपमेयर, पालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष पदका लागि उप निर्वाचन हुन लागेको हो ।
यसका लागि निर्वाचन आयोगले यसअघि दल दर्ता आह्वान गरेको थियो । दल दर्ताका लागि प्राप्त निवेदनउपर निर्णय लिएर आयोगले आज दल दर्ता स्वीकृत गर्ने कार्यक्रम छ । यसपछि निर्वाचन सम्बन्धी निर्देशिका, कार्यविधी, मापदण्ड तथा आचारसंहिता तयारी गर्ने, निर्वाचन सामाग्री, जनशक्ति व्यवस्थापन, मतदाता शिक्षा, तालिम तथा क्षमता विकास लगायतका कार्यक्रम संचालन गरिनेछ ।
आगामी कातिक २६ गते मतदाताको अन्तिम नामावली प्रकाशन हुनछ । कातिक ३० गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ । मंसिर दुई गतेदेखी निर्वाचन कार्यक्रम संचालन गर्दै १६ गते मतदान गर्ने लगायतको निर्वाचन कार्यतालिका स्वीकृत भइसकेको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका अनुसार उनी नेतृत्वको पार्टीले आगामी उपनिर्वाचन एक्लै लड्दैछ । उपनिर्वाचन मात्रै नभएर २०८४ को निर्वाचनमा पनि एक्लै चुनाव लडेर माओवादीलाई आफ्नो पहिचानसहित स्थापित गर्ने उनको दाबी छ ।
शनिबार काठमाडौँको जडिबुटीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । दोलखाको गौरिशंकर गाउँपालिकामा उपाध्यक्षको निर्वाचन हुँदैछ ।
‘कहिले कांग्रेससँग, कहिले एमालेसँग समीकरण गरेर निर्वाचन लड्दा लड्दा कताकता माओवादीकै पहिचान हराउन लागेको हो कि भन्ने आशंका सर्वत्र भएको छ । यसकारण यो पटक हामी एक्लै चुनाव लडेर आफैँलाई समीक्षा गर्दैछौँ’ प्रचण्डले भनेका छन्, ‘ हामी आफ्नै खुट्टामा उभिएर, अहिले मात्रै होइन २०८४ को निर्वाचनमा पनि माओवादी एक्लै १६५ सिट र ३३० प्रदेश र सबै पालिकामा चुनाव लड्छ र माओवादीलाई आफ्नो पहिचानसहित स्थापित गर्ने हामीले संकल्प लिँदैछौँ ।’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तह उपनिर्वाचनमा उठाउने उम्मेदवारको मापदण्ड नै बनाएको छ । पार्टीमा आवद्ध नभएको भएता पनि उम्मेदवार बनाउन सकिने गरी गैरदलीय उम्मेदवारको विकल्प खुला राखेको छ ।
सत्तारुढ दुई दल नेकपा एमाले र नेपाली कांग्रेसले एक्ला एक्लै चुनाव लड्ने निर्णय गरिसकेका छन् ।
कांग्रेसका प्रवक्ता एवं सांसद डा. प्रकाशशरण महतका अनुसार उपनिर्वाचनमा पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारलाई दलको औपचारिक पत्र प्रदान गर्नका लागि पार्टी सभापति देउवालाई जिम्मेवारी प्रदान गर्ने निर्णय भएको छ ।
उनी भन्छन्, ‘उपनिर्वाचनमा पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारलाई दलको औपचारिक पत्र प्रदान गर्नका लागि पार्टी सभापति शेरबहादुर देउवालाई जिम्मेवारी प्रदान गर्ने निर्णय भइसकेको छ ।’
नेकपा एमालेभित्र भने स्थानीय तहमा रिक्त पदका आकांक्षीले लविङ सुरु गरिसकेका छन् । यस पटक उपचुनाव हुन लागेका ठाउँमध्ये कीर्तिपुर नगरपालिका सबैभन्दा ठूलो र तीन पद रिक्त भएको स्थानीय तह हो ।
कीर्तिपुर नगरपालिकामा मेयरसहित वडा नम्बर १ र ४ का वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ ।
कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधनका कारण त्यहाँ उपनिर्वाचन हुन लागेको हो । नकर्मी नेपाली कांग्रेसबाट निर्वाचित थिए ।
यसपटक जित आफ्नो हातमा ल्याउन एमालेले कीर्तिपुरको मेयरमा बलियो उम्मेदवारको खोजी गर्दैछ । नेताहरूका अनुसार सम्भावित नामहरू तय भएका छन् । जसमा रहेका छन् – केन्द्रीय सदस्य डा. सुरेन्द्र मानन्धर । उनी २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा उम्मेदवार बनेका थिए ।
मानन्धरबाहेक पूर्वमेयर रमेश महर्जन, केशरत्न बज्राचार्यको नाममा समेत छलफल चलिरहेको छ ।