२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

पानी नपर्दा सुक्न थाले मकैका बिरुवा, खानेपानीको हाहाकार

ADV
सुर्य प्रकाश बुढा मगर
२०८१ असार १ गते २०:४७
पानी नपर्दा सुक्न थाले मकैका बिरुवा, खानेपानीको हाहाकार

रोल्पा : पश्चिम नेपालमा पानी नपर्दा यतिबेला किसानहरु खडेरीको चपेट्टामा परेका छन् । रोल्पाका विभिन्न गाउँ–ठाउँमा आकाशबाट पानी नपर्दा मकैको बिरुवा सुक्ने अवस्थामा पुगेको छ । २५ वैशाखमा आकाशबाट पानी पर्न शुरु गरेको थियो । चार/पाँच दिन हल्का रूपमा पानी परेपछि मकै रोपेका थिए । 
असार १ लाग्दा समेत अहिलेसम्म आकाशबाट पानी परेको छैन । मकै रोपेको एक महिना पुग्दा समेत पानी नपरेपछि यतिबेला अत्यधिक गर्मीले मकै ओइलिएर सुक्ने अवस्थामा पुगेको छ । 

जसले गर्दा यतिबेला किसानहरु चिन्तित बनेका छन् । ‘हामीले रोपेको मकै पनि सुक्ने अवस्थामा पुगेको छ । यो हुनु कसैको दोष होइन्, प्रकृतिको दोष हो’परिवर्तन पालिका –६ ओह गाउँका किसान रत्न बहादुर बुढा मगरले भने ।

पिउने पानीको समस्या

अहिले मकै बिरुवामा मात्र होइन्, विभिन्न गाउँ ठाउँमा पिउने पानीको समेत अभाव भएको छ । घर–घरमा धारा बनाएपनि पानी आउन छोडेको छ । कुवाँ, पानीका स्रोतहरु सुकेर सुक्खा भूमिमा परिणत भएको छ । जसले गर्दा मान्छे र पशुचौपायलाई पिउने पानीको अभाव भएको छ । खडेरीले गर्दा पिउने पानी लिनकै लागि घण्टौ लगाएर जानुपर्ने अवस्था छ । परिवर्तन गाउँपालिका–६ ओह टोलका मनप्रसाद बुढा मगरले भने, ‘हामी करिब आधा घण्टा हिँडेर कुँवामा पानी लिन जानुपर्छ । त्यसमा पनि जो बिहान उठेर गयो,उसले एक/दुई गाग्री ल्यायो र पछि गएपछि त्यहीँ पनि पाइँदैन ।’

विद्यालयहरुमा पिउने पानीको समस्या

पश्चिम रोल्पाका विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयहरुमा समेत पिउने पानीको अभाव रहेको छ । परिवर्तन गाउँपालिका –६ ओह टोलमा रहेको दिव्य ज्योति आधारभूत विद्यालयमा पिउने पानी र शौचालय प्रयोगमा पानी नभएर समस्या देखिएको छ । करिब १ किलो मिटर टाढा रहेको खोलाबाट ल्याइएको पानीको स्रोत न्यून भएपछि पानी नआउने समस्या रहेको छ । विद्यार्थीहरुले आ–आफ्नो घरबाटै बोतलमा पिउने पानी लिएर विद्यालय जाने गर्दछन् । पिउने पानी विद्यालयमा नभएको कारण आफूहरूले घरबाटै बोटलमा पानी लिएर विद्यालय जाने गरेको सोही विद्यालयमा अध्यनरत विद्यार्थी करुणा बुढा मगरले बताइन् ।

स्वास्थ्यमा समस्या 

सुक्खा खडेरी र गर्मीले गर्दा सरसफाइमा चुनौती देखा परेसँगै स्वास्थ्य समस्याहरु पनि देखिन थालेको छ । जसमा  रुघाखोकी, टाइफाइ, झाडापखाला, टाउको दुख्ने, आँखा दुख्ने, घाँटी दुख्ने र शरीरमा विभिन्न किसिमका समस्या देखिने गरेको छ ।

उजाड भूमि

अहिले रोल्पाका अधिकांश गाउँमा सुक्खा खडेरी र गर्मीका कारण उजाड देखिन थालेको छ । चैत, वैशाख महिला जस्तै सुक्खा भूमि र खडेरीका कारण घाँस, बोट बिरुवा पनि ओइलिने अवस्थामा पुगेको छ । खेतीयोग्य जमिनमा लगाइएको विरुवा ओइलिएको देख्दा उजाड भूमि जस्तो देखिन थालेको छ । अन्य वर्षहरुमा असार १ गतेसम्म हरियाली देखिन्थ्यो, तर यो वर्ष भने उजाड लाग्ने देखिएको छ । 

जलवायु परिवर्तन, अव्यवस्थित विकास निर्माण, वातावरण प्रतिकूलन, प्राकृतिक प्रकोप, भूकम्प र डढेलो लगायतका कारण यस्तो समस्या देखिएको हुन सक्ने स्थानीयहरु बताउँछन् । 

ADVADV

सम्बन्धित खबर

Advertise