२०८१ मंसिर ८ गते शनिवार / Nov 23 , 2024 , Saturday
२०८१ मंसिर ८ गते शनिवार

रवि लामिछाने पक्राउ : कांग्रेस र एमालेले लिए जोखिम

ADV
जानकी पाठक
२०८१ कार्तिक ३ गते ०८:२२
 रवि लामिछाने पक्राउ : कांग्रेस र एमालेले लिए जोखिम

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेका छन् । लामिछानेलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआइबी)ले सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा नियन्त्रणमा लिएको हो । जिल्ला अदालत कास्कीबाट पक्राउ अनुमति लिएर सीआइबीले काठमाडौंस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ गरेको हो ।लामिछानेलाई पोखराको सूर्यदर्शन सहकारी ठगी गरेको आरोप लागेको छ ।

यही आरोपमा कास्की जिल्ला अदालतले पक्राउ अनुमति दिएसँगै प्रहरीले पक्राउ गरेर पोखरा लगेको हो । शुक्रबार नै रवि लामिछानेका सहकर्मी छविलाल जोशीलाई अदालतले अनुसन्धानका लागि ५ दिन म्याद थप गरेको छ । यो सँगै रवि र छवि दुवै थुनामा रहने भएका छन् । गोर्खा मिडियामा पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको अभियोगमा दर्ता भएको पूरक जाहेरीका आधारमा अनुसन्धानका लागि प्रहरीले रविलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ परेका रविलाई आइतबार कास्की जिल्ला अदालतमा पेस गरिनेछ । शनिबार बिदा भएकाले प्रहरीले आइतबार उनलाई कास्की जिल्ला अदालतमा पेस गरिन्छ । अदालतमा रविमाथि अनुसन्धानका लागि प्रहरीले समय माग गर्नेछ ।

रविलाई सहकारीको रकम संगठित रूपमा ठगी गरेको भन्दै सहकारी ऐन, २०७४ र संगठित अपराध निवारण ऐन, २०६४ ले वर्जित गरेको कसुर र सम्पत्ति शुद्धीकरणमा अनुसन्धानका लागि प्रहरीले म्याद माग गर्नेछ । सूर्यदर्शन सरकारीमा संगठित रूपमा ठगी गरेकाले ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान हुनेछ ।

आइतबार रविलाई अदालतमा पेस गरिएपछि सरकारी वकिलहरूले बहस गर्नेछन् । दुवै पक्षको बहसपछि अदालतले अनुसन्धानका लागि प्रहरीलाई उचित समय उपलब्ध गराउने छ । हालसम्मको अभ्यास हेर्दा सुरुमा पाँचदेखि सात दिन म्याद थप हुने देखिन्छ । उक्त म्याद सकिएपछि फेरि म्याद थपका लागि अदालतमा पेस गरिन्छ ।

प्रहरीले बयान र अभियोगपत्र जिल्ला सरकारी वकिल कार्यालयलाई नबुझाएसम्म म्याद थपको प्रक्रिया चलिरहन्छ । सहकारी ठगी र संगठित अपराध गरी ६० दिनसम्म उनलाई यसरी थुनामा राखेर प्रहरीले अनुसन्धान गर्न सक्नेछ । ६० दिन पूरा हुनु अगावै प्रहरीले अनुसन्धान प्रतिवेदनसहित जिल्ला सरकारी वकिलको कार्यालय कास्कीमा बुझाउने छ ।

सम्पत्ति शुद्धीकरणमा थप अनुसन्धान गर्न चाहेमा ९० दिनसम्म म्याद थपको माग प्रहरीले गर्न पाउने छ । त्यसपछि अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय पुग्नेछ । जिल्ला सरकारी वकिल कार्यालयले अनुसन्धान प्रतिवेदनमा अध्ययन गरेर अभियोग दाबीसहित जिल्ला अदालत कास्कीमा पेस गर्नेछ । जिल्ला अदालतमा अभियोगपत्र पेस भएपछि लामिछानेको थुनछेक बयान अनि बहस सुरु हुनेछ । 

अदालतले सुरुमा बयान गराउने छ भने दुवै पक्षको दोहोरो बहस हुनेछ । दुवै पक्षको बहसपछि जिल्ला अदालतले थुनामा पठाउने कि धरौटी माग गर्ने भन्ने निर्णय सुनाउने छ । जिल्ला अदालतले धरौटी माग गरे रवि रिहा हुने छन् भने थुनामा पठाएमा उनी जेलमा जाने छन् ।

अर्थात, लामिछानेको भावी राजनीति समेत उनको शुक्रबारको पक्राउसँग सम्बन्धित हुने सरोकारवालाहरू बताउँछन् । कसूर पुष्टि भएमा उनी भविष्यमा राजनीतिमा आउन नसक्ने समेत हुन सक्नेछ । 
यसकारण लामिछानेको पक्राउलाई कतिपयले भावी राजनीतिसँग समेत जोडेर हेरेका छन् । नयाँ शक्तिको रुपमा गत चुनावबाट उदाएको पार्टी हो रास्वपा । यो पार्टीका सभापति नै सहकारी ठगीमा संलन्न रहेको संसदीय छानबिनले देखाएपछि ठूलो जमात झस्किएको थियो । यही प्रकरणमा लामिछाने पक्राउ परेका हुन् । यसलाई कतिपयले कांग्रेस र एमालेले लिएको राजनीतिक जोखिमको रुपमा समेत औंल्याएका हुन् । 

पूर्वाग्रहबाट प्रेरित कदम : रास्वपा 

पार्टी सभापति लामिछाने पक्राउको घटनालाई रास्वपाले राजनीतिक पूर्वाग्रहबाट प्रेरित कदम भनेको छ । पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले एक विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् । ‘संसदीय छानबिन समितिले सहकारी ठगीमा कुनै संलग्नता नरहेको पुष्टि गरेको अवस्थामा सोही मुद्दामा सभापतिलाई पक्राउ गरिनु राजनीतिक पूर्वाग्रह प्रेरित कदम रहेको हाम्रो ठम्याई छ’ विज्ञप्तिमा उल्लेख छ । 

यद्यपि रास्वपाले विधिको शासनलाई सम्मान गर्दै राज्यका न्यायिक निकायको छानबिनलाई सघाउन सदैव तयार रहेको बताएको छ । सभापति लामिछानेलाई गरिएको पक्राउप्रति घोर भत्र्सना गर्दै कानुनका छिद्रमा टेकेर रास्वपा र सभापतिमाथि साँधिने राजनीतिक प्रतिशोध आफूहरूलाई कदापि स्वीकार्य नभएको विज्ञप्तिमा जनाइएको छ । 

विना आधार सभापति लामिछानेलाई पक्राउ गरेर आम जनताको सहकारीमा डुबेको ८७ अर्ब अपचलन गर्नेलाई उन्मुक्ति दिने खेल सुरु भएको समेत दाबी विज्ञप्तिमा गरिएको छ । ‘गिरीबन्धु, भुटानी शरणार्थी काण्ड, टेरारमक्स र वाइड बडी जस्तो अरबौँको घोटालामा आपसी समझदारीमा एक अर्कालाई बचाउँदै लुट्दै आएका दलहरूले नयाँ राजनीतिक अभियानप्रति आक्रमण गरेका हुन् । हामी डराएका छैनौ । तर्सिएका हैनौँ । अब परिवर्तनको लडाई बुलन्द भएको छ’ विज्ञप्तिमा भनिएको छ । पक्राउ पर्नु अघि लामिछानेले आफूमाथि सरकारले प्रतिसोध साध्ने काम गरेको भन्दै प्रतिकारमा उत्रिन नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन् ।  
 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise