२०८१ मंसिर ८ गते शनिवार / Nov 23 , 2024 , Saturday
२०८१ मंसिर ८ गते शनिवार

मौलिकता हराएको देउसी भैलो

ADV
सुर्य प्रकाश बुढा मगर
२०८१ कार्तिक १९ गते १९:०७
मौलिकता हराएको देउसी भैलो

रोल्पा : पछिल्लो समय देउसी भैलो खेल्ने चलन फेरिँदै गएको छ । केही वर्ष पहिलेको देउसी भैलो र अहिलेको देउसी भैलोमा धेरै भिन्नता पाउन थालिएको छ । आजकलको देउसी भैलोमा झ्याली, मादल र बाँसुरी देख्न पाइँदैन । पछिल्लो समय परम्परागत बाजा मात्रै होइन पुरानो संस्कृति समेत ओझेलमा पर्दै गएको महसुस हुन थालेको परिवर्तन गाउँपालिका–६ का ८६ वर्षीय मनबहादुर बुढाले बताए । उनी भन्छन् ‘पहिले तिहार आउँदा गाउँघरमा भएका बुढापाका मिलेर देउसी भैलो खेल्ने गर्‍थ्यौं, तिहार आएजस्तो हुन्थ्यो, आज भोलि त पहिलेको जस्तो झ्याली मादल, डमरु बजाएर देउसी भैलो खेल्न छोडे ।’ 

परम्परागत संस्कृतिलाई भुल्दै गएको आफूले महसुस गरेको बुढाले बताए । ‘अहिले स्पिकरमा बजारमा आएका गीतमा ४/५ मिनेट नाचे गए, हामी बुढापाकालाई पहिलेको तिहार सम्झिदा त आज भोलीको तिहार निकै फरक लाग्छ, आज भोलीका युवायुवतीहरु आधुनिक परिवेशमा हुर्केर पनि होला पुरानो संस्कृति भुल्दै गएका छन्’, उनले भने । 

पुराना संस्कृति र परम्परालाई जोगाउन सबैले आफ्नो ठाउँबाट पहल गर्नुपर्नेमा कसैको ध्यान जान नसकेको उनको भनाइ छ । पहिलेका तिहारमा देउसी भैलो खेल्दा नाच्न मन लाग्नेमा साउन्ड सिस्टमबाट बजारमा आएका गीतमा हामीलाई नाच्न नआउने उनले बताए ।

‘आहै भन भन भाइ हो देउसिरे ! आहै राम्ररी भन देउसिरे ! यस्तै मिठा मिठा शब्द मिसाएर गरेर भट्याएको र भट्याउँथ्यौं भने गीत पनि हामी आफैले तयार गर्दथ्यौं’, उनले भने, ‘पहिले त हाम्रो पालामा मुखले यसरी नै भट्याएर देउसी भैलो खेलिन्थ्यो, अब मुखले भट्याउने दुःख कसैले गर्दैनन्, एउटा डेक बोक्यो हिँड्यो नाच सकियो, कलाकारहरुले भट्याएकोलाई बजाइदियो र आफूहरुले ताली पटकाएर देउसिरे, भैलीरे भन्यो पुग्यो ।’ आजकलको देउसी भैलोमा कला संस्कृति जोगाउने भन्दा पनि कसले कति कमाउने भन्ने प्रतिस्पर्धा हुन बुढाले बताउँछन् । 

No description available.

‘हामी त दश÷बिस रुपैयाँ दिन्थे र त्यहीँ लिएर खुसी हुन्थ्यौँ, साथीभाइ छरछिमेक जम्मा भएर रमाइलो गर्ने चलन थियो, आज भोली त त्यस्तो देखिदैन्’, उनले भने, ‘अहिले त धेरै पाँच सय देखि तीन हजार पैँतिस सय बराबर रुपैयाँ दिएको देखिन्छ, कसैले केही सामाजिक काम गरेको देखिँदैन ।’ मौलिकतालाई जोगाइ राख्न पछिल्लो पुस्ताले यसमा जोड दिनुपर्ने उनको ठम्याइ छ । मौलिकता बचाउँदा देउसी भैलोमा मादल, डमरु, बाँसुरी लगायतका सामग्री प्रयोग हुने र ती सामग्री बनाउने व्यवसायको पनि प्रवद्र्धन हुने उनले बताए ।

परम्परागत संस्कृति बिर्सिदै जाने हो भने पछि आउने पुस्तालाई यसको कुनै पनि महत्व नहुने र परम्परागत संस्कृति मासिने भएकोले परम्परागत संस्कृतिलाई जोगाउन र यसको प्रवद्र्धन गर्न गाउँ समाजका साथै स्थानीय सरकारले पनि चासो दिनुपर्ने स्थानीयहरुको बुझाइ छ ।

ADVADV

सम्बन्धित खबर

Advertise