२०८१ मंसिर १८ गते मङ्गलवार / Dec 03 , 2024 , Tuesday
२०८१ मंसिर १८ गते मङ्गलवार

कीर्तिपुरमा प्रतिष्ठाको लडाइँ

ADV
जानकी पाठक
२०८१ कार्तिक २१ गते ०६:४०
कीर्तिपुरमा प्रतिष्ठाको लडाइँ

काठमाडौं : राजनीतिक दलहरू स्थानीय तहको उपनिर्वाचन केन्द्रित भएका छन् । आगामी मंसिर १६ गते स्थानीय तहका ४४ पदमा उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगले उपनिर्वाचनका लागि आवश्यक तयारी तीव्र पार्दै लगेको छ । कुनै राजनीतिक दल उम्मेदवार छनोटमा व्यस्त छ भने कुनैले उम्मेदवार तय गरिसके । 

आयोगका अनुसार कोशी प्रदेशमा ९, मधेस प्रदेशमा ७ पद, बागमती प्रदेशमा ७ पद, गण्डकी प्रदेशमा १ पद, लुम्बिनी प्रदेशमा ६ पद, कर्णाली प्रदेशमा ८ पद र सुदूरपश्चिममा ६ पदमा निर्वाचन हुन लागेको हो ।  

र्निाचन आयोगका अनुसार काठमाडौंको कीर्तिपुर नगरपालिकामा प्रमुख, मोरङको रामग्राम नगरपालिकामा अध्यक्ष, दोलखाको गौरीशंकर गाउँपालिकामा उपाध्यक्ष, रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा उपाध्यक्षमा उपनिर्वाचन हुँदैछ । दैलेखको महाबु गाउँपालिकामा अध्यक्ष, जाजरकोटको नलगाड नगरपालिकामा उपप्रमुख, हुम्लाको सर्केगाड गाउँपालिकामा उपाध्यक्ष, बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा उपाध्यक्ष, कैलालीमा जिल्ला समन्वय समिति प्रमुख पदमा उपनिर्वाचन हुँदैछ । यसबाहेक अन्य स्थानमा वडाध्यक्ष र सदस्य पदमा उपनिर्वाचन हुँदैछ । 

४४ पदका लागि निर्वाचन हुन लागेको भएता पनि काठमाडौंको कीर्तिपुर नगरपालिकामा प्रमुखको उपनिर्वाचनको चर्चा दलहरूका बीचमा ज्यादा छ । संघीय सरकारको नेतृत्वकर्ता दल एमालेले डा. सुरेन्द्र मानन्धरलाई अघि सारिसकेको छ । एमालेको कीर्तिपुर नगर कमिटीले सर्वसम्मत रूपमा उनलाई उम्मेदवार बनाउने निर्णय गरेसँगै चुनावी अभियान पनि सुरू गरिसकेको छ ।

माओवादी केन्द्रले कीर्तिपुर नगरपालिकाको मेयर पदमा प्राध्यापक डाक्टर शिवशरण महर्जनलाई उमेदवार बनाउने निर्णय गरेको छ । कांग्रेसले भने उम्मेदवार तय गरिसकेको छैन । कांग्रेसको कीर्तिपुर नगर समितिले ११ जना आकांक्षीको नाम क्षेत्रीय समितिमा सिफारिस गरेको छ ।

नगर समिति सभापति कृष्णमान डंगोललाई पहिलो नम्बरमा राखेर नाम पठाइएको छ । त्यसपछि क्रमशः बद्रीलाल महर्जन, हिमाल कार्की, जमुना नकर्मी, संगीत बोगटी, सशीर महर्जन, राममान सिंह, जनकलाल महर्जन, मीनप्रकाश महर्जन, किरण केसी र सचिन्द्र महर्जनको नाम सिफारिस भएको छ ।

पहिलो नम्बरमा नाम सिफारिस भएका कृष्णमान वर्तमान नगर सभापति हुन् । तेस्रो कार्यकालका लागि नगर समिति सभापति रहेका उनी ललितकला क्याम्पसका पूर्वस्ववियू अध्यक्ष हुन् ।प्रमुख तीन दलले स्थानीय रुपमा पकड जमाएका र विश्वास गर्न सक्ने व्यक्तिलाई उम्मेदवार बनाएर चुनाव जित्ने नीति अवलम्बन गरेको देखिन्छ । 

आवधिक चुनाव भएको करिब आधा समय भएको बेला स्थानीय तहको उपनिर्वाचन हुन लागेकोले यसलाई राजनीतिक दलहरूको जनमत परीक्षणको रुपमा हेरिएको छ । यसमा पनि दलहरूले काठमाडौंको कीर्तिपुर नगरप्रमुखको पदको चुनावलाई प्रतिष्ठाकै रुपमा लिएको देखिन्छ ।

ADVADV

सम्बन्धित खबर

Advertise