२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

कविता : म टुलुटुलु हेरिरहें

shivam cement
खिमराज गिरी
२०८२ असोज ११ गते ०६:१०
Shares
कविता : म टुलुटुलु हेरिरहें

भदौको त्यो कालो बादलको अन्धकारमा अचानक आगो बल्यो, 
धरती माताको आँगनभित्र ७४ आत्माको चिता जल्यो 
आमाबुबाको काख खाली भयो बलिन्द्रधाराको आँसु रित्तिए, 
तर मेरो विवश आँखाले नियाल्न बाध्य भए अनि म टुलुटुलु हेरिरहेँ ! 

ती कलिला बाबु नानी खेलौना झैँ धुलोमा ढलिरहे
केही दोष नभएका आत्माहरू निर्दोष पीडामा रहिरहे
आखिर प्रश्नै प्रश्नले मेरो मुटु चिरेर जलिरहे
तर म नबोल्ने पत्थर झैँ केवल टुलुटुलु हेरिरहेँ ! 

सिंहदरबार, संसद् भवन सर्वोच्च सबै जल्यो अनि धुवाँले आकाश ढाक्यो,
देशभक्ति भन्दा पनि प्रतिशोधको भावनाले सीमा नाघ्यो
भ्रष्टाचारले गाँजिएको भए पनि मौन व्रत फेरिरहेँ
तर सुकेको स्वर र भिजेको आँखाले म टुलुटुलु हेरिरहेँ ! 

गोलीको आवाजले आकाश चिरेर मृत्युको गीत गाउँथ्यो
सडकभरि रगत र पसिनाले सपना हो कि बिपना सम्झाउँथ्यो
त्यो मौन सहरभित्र माताको चित्कारले पत्थरसमेत हल्लिरहे
ओठ सुके अनि सुके तालु तर म टुलुटुलु हेरिरहेँ, टुलुटुलु हेरिरहेँ ! 

देशभक्तिको नारा विदेशीको हातमा परेजस्तो देखियो
कहिल्यै नभएको अनौठो घटना यो इतिहासको पानामा लेखियो 
चित्कारको आवाज अनि धुवाँको मुस्लो आकाशतिर टोलाइरहेँ
तर म विवश दर्शक अघोषित शरणार्थी झैँ टुलुटुलु हेरिरहेँ ! 

सम्बन्धित खबर