२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

कविता : मलाई सम्झेर नरुनु आमा !

shivam cement
खिमराज गिरी
२०८२ असोज २५ गते ०६:०५
Shares
कविता : मलाई सम्झेर नरुनु आमा !

मलाई सम्झेर नरुनु आमा
म त देशको लागि हाँस्दै ढलेको हो
मेरो रगतले अब यो माटो उर्वरा बन्नेछ
मेरो पीडाले होइन, तिम्रो सहनशीलताले भविष्य बाँच्नेछ
७४ जनाको बिचमा म पनि एउटा रंगीन फूल हुँ
हामी सबैले रोपेको बलिदान भोलिको बगैंचामा फुल्नेछ । 

आमा, तिमी मलाई सम्झेर आँसु नझार 
केवल देशकै लागि लडेको म महान् योद्धा हुँ
यो धरती मेरो अन्तिम शय्या बनेको छ
अनि देशकै लागि रगतको खोलो बगेको छ
सिंहदरबारलगायत सबै सरकारी भवन जले
तर मेरो हृदयले त्यो सबै कायरहरूको प्रपञ्च भनेको छ ।   

आमा मलाई सम्झेर आँसुको नदी नबगाऊ
कुनै दिन देशको माटोले सम्झेछ भने
सबै नेपालीहरूको सान र सम्मान थपिने छ
सुखी नेपाली समृद्ध नेपालको आभास सबैले पाउनेछन्
कोठा र चोटाबाट निकालिए रे धन दौलतका भकारी
अव पक्कै पनि ती पापिष्ठहरू सजायको भागीदार हुनेछन् । 

आमा मलाई सम्झेर नरुनु अब
देशलाई सम्झेर आँसुको खहरे बगाउनु
तर बिचौलियाले भरिएको यो मुलुकमा
मौकाको चौका हान्नेहरूको बिगबिगी आए पनि
अनौठो नमानी, सहर्ष स्विकार्नु आमा
तर मलाई सम्झेर अव कहिल्यै नरुनु आमा
मलाई सम्झेर कहिल्यै नरुनु आमा ।।

सम्बन्धित खबर