एक दिन एउटा भिखारी भिक्षा माग्दै हिँड्न थाल्यो । बाहिर निस्कनुपूर्व उसले सोच्यो कि भिक्षापात्र खाली देखे भने कसैले पनि उसलाई भिक्षा दिँदैनन् । भिक्षा दिनेको पनि साइकोलोजी हुन्छ, खाली पात्रमा अक्सर मानिस भिक्षा दिन्ननँ ।
भिक्षा माग्न थालेको पाँच वर्षको अनुभवबाट उसले यही कुरा जान्यो । श्रम गरेर खानलाई उसको एउटा औंला अलिक लुलो थियो । ‘म फरक क्षमता भएको मानिस हुँ, मलाई सबै मान्छेको सहयोग मिल्नुपर्छ,’ भन्ने यसको मान्यता थियो । उसको सामान्य अपांगता नै भिख माग्ने सर्टिफिकेट सम्झिन्थ्यो ऊ, जसरी मानिस सरकारी जागिरका लागि आफ्नो अध्ययनको प्रमाणपत्र पेस गर्छन् । उसलाई भिक्षा दिने कोही कोही त ‘यस्तो लक्का जवान छोरो, मान्छे त श्रम गर्नु नि, त्यत्रो तिघ्रामा हुनेले के भिक्षा मागेको ?’ भनेका थिए ।
त्यस्ता कुरालाई उसले खासै ध्यान दिन्थेन । ऊ एक नम्बरको लोभी पनि थियो । भिक्षा माग्दै जाँदा कसैले दिएन भने उसलाई रिस उठ्थ्यो । ऊ एउटा गाउँमा दुई तीन साता बिराएर मात्र जान्थ्यो । अक्सर मानिस भ्रममा हुन्थे कि यो माग्नेलाई पहिला कतै देखेको हो कि होइन ?
ऊ हरेकपटक भेष बदलेर जान्थ्यो ताकि मानिस उसलाई देखेर झुक्किऊन्, ‘अहो, यो त्यही पुरानो माग्ने होइन भने ?’
ऊ माग्ने त हो तर अलिक भिआइपी माग्ने । माग्दा ऊ जुन ठाउँमा गए पनि समयअनुसार जे मिल्थ्यो, त्यही भिक्षाका रूपमा ग्रहण गर्थ्यो । फलफूलको पसलको साहुसँग फलफूल लिन्थ्यो । दुध पसलेसँग दुध लिन्थ्यो र तुरुन्तै पिउँथ्यो । मासु पसलेसँग मासु लिन्थ्यो । गाउँको तल्लो भागमा मोटरबाटो र बजार थियो । परपर गाउँ हुँदै भिक्षा मागेर फर्किंदा ऊ बजार हुँदै आउथ्यो । भिक्षापात्र नै भरिएपछि, ऊ झोलामा हाल्थ्यो चामल, पैसा र अरू खानेकुरा ।
हरेक दिन ऊ त्यही गर्थ्यो । उसको कुटीमा अरू पनि गाजा–भाङ खान आउँथे, तिनीहरूलाई पनि पाल्थ्यो भिक्षा मागेर । उसको कुटीमा जवान अल्छी भिखारी थुप्रै थिए ।
भिक्षाटन गर्न जानुअगाडि एक दिन उसले भिक्षापात्रमा १००/५० का नोट र आधा माना चामल राख्यो आफ्नै भण्डारबाट, ताकि अरूले उसलाई सजिलै पत्याउन सकून् कि उसले सबैको सहानुभूति पाएको छ ।
एक दिन बाटोमा जाँदै गर्दा उसले आफूभन्दा गम्भीर प्रकृतिको एउटा अपांग भिखारी देख्यो, जसको काम गर्ने दुवै हात नै थिएन । त्यो भिखारीले भन्यो, ‘दाजु, म सात दिनदेखि भोकै छु । अन्नको दाना मुखमा परेको छैन । अब पनि केही खाइनँ भने म मर्नेछु ।’
नभन्दै, उसले त्यो अपांग भिखारीको शरीर भोकले गलित भएको देख्यो । उसले सोच्यो, ‘भिक्षापात्रमा भएको यो चामल र केही पैसा उसलाई दिएँ भने म दिनभर भिक्षाहीन हुन सक्छु । यसले मेरो दिनको सुरुवात नै बिगारी दिन्छ ।’ ऊ मनमा मुर्मि¥यो किनकि खाली पात्रमा कोही भर्न चाहँदैनन् । भरिएको पात्र मात्रै हेर्छ यो समाज । त्यो भिखारी बडो संकटमा परेछ ।
दिउँ कि नदिउँ, भनिरहेको थियो उसको मनले । भिक्षापात्रमा रहेका केही चामलका दाना मुठ्ठीमा राख्दै सोच्न थाल्यो, ‘के गरूँ ?’
दुवै हात नभएको अपांग भिखारीले भन्यो, ‘मित्र, दानपात्रको एक मुठ्ठी चामल मलाई दिनलाई तिमी यतिन्जेलसम्म सोचिरहेका छौ ? तिम्रो मनले दिऊँ कि नदिऊँ भनिरहेको छ ? दान गर्न कति गाह्रो रहेछ है ! हाम्रो मन र अरूको मन के फरक होला र है ? कसरी माग्दैमा भिख दिन्छन् त ती किसानहरूले, जो एक गेडा अन्न उब्जाउन १०औंं थोपा पसिना खर्च गर्छन् । अझ तिमी त मभन्दा शारीरिक रूपमा पनि सशक्त छौ ।’
दुवै हात नभएको भिखारीको कुरा सुनेर ऊ रिसायो र भन्यो, ‘जुन गोरुको सिङ छैन, त्यही गोरुको नाम तिखे । दुवै हात छैन, उसैको फुर्ती ।’
दुवै हात नहुने भिखारीले भन्यो, ‘म त शारीरिक रूपमा अपांग त हुँ, नि तिमी त मानसिक रूपमा अपांग रहेछौ दाइ । शारीरिक अपांगताभन्दा मानसिक अपांगता झन खतरा हो ।’
ऊ झन् मुर्मिरियो । मुठ्ठीमा राखेको चामलका दाना पुनः आफ्नै भिक्षापात्रमा राख्यो र हिँड्यो । आधा घण्टा हिँडेपछि, एउटा सुर्तीपुर गाउँ आयो । त्यो गाउँ तिनै गजडीहरूको गाउँ हो जसलाई उसले आफ्नो कुटीमा शरण दिएको थियो । तिनैमध्ये एकको आमाले उसलाई चिनिन् र गाली गर्दै लखेट्न थालिन्, ‘हाम्रा छोराछोरीलाई भाँड्न तिमलाई लाज लाग्दैन, युवा भएर भिख माग्ने कि श्रम गर्ने ?’
बाटो अलिक भिरालो थियो । ऊ चिप्लियो र भिक्षापात्रमा भएका सबै चामल पैसा पोखियो । गाउँलेहरूले उसलाई अब त्यो गाउँ आउन नै प्रतिबन्ध लगाए ।