बैतडीः बैतडीमा १८ वर्षीया किशोरी बलात्कृत भएकी छिन् । किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पञ्चेश्वर गाउँपालिका–४ लडागाउँ बस्ने १८ वर्षीय किशोरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
किशोरले गत असार २७ गते राति र भदौ २३ गते राति ती किशोरीलाई आफ्नै घरमा ल्याई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय तस्वदेहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
महोत्तरीः महोत्तरीमा स्रोत नखुलेको नगदसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको सितामढी थाना बेला पंचायत बस्ने ४० वर्षीय अरूण पंजियार रहेका छन् ।
उनलाई जलेश्वर नगरपालिका–७ बखरी चोकबाट स्रोत नखुलेको १३ लाख २० हजार नगद रूपैयाँसहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरी र अस्थायी प्रहरी पोष्ट नगरपालिकाबाट खटिएको संयुक्त टोलीले सम्सीबाट जलेश्वरतर्फ आउँदै गरेको ना.३ ख २८७८ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार पंजियारलाई उक्त नगदसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
दाङः चोरी गरेको अभियोगमा दाङ प्रहरीको नियन्त्रणमा रहेका एक व्यक्ति सोमाबार फरार भएका छन् । फरार हुनेमा घोराहीका २८ वर्षीय विवेक नेपाली रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिए । नेपालीलाई तीन दिनअघि प्रहरीले पक्राउ गरेको थियो ।
स्वास्थ्य उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लगेका बेला नेपाली फरार भएको प्रहरी उपरीक्षक केसीले जानकारी दिए । शौचालय जान्छु भनी भागेपछि अहिले उनको खोजी भइरहेको छ ।
बैतडी: अज्ञात समूहले बैतडीको डिलाशैनी गाउँपालिकाको एक्साभेटर तोडफोड गरेका छन् । डिलाशैनी–६ को वडा कार्यालय अगाडि राखिएको बा प्र.०१–००४क १२१६ नम्बरको एक्साभेटरमा तोडफोड भएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।
उक्त एक्साभेटरले केही दिनअघिसम्म ग्रामीण कच्ची सडक सफाइ गरेको जनाइएको छ । ढुङ्गा र फलामका हातहतियारले तोडफोड गर्न सकिने सबै सामानमा क्षति पुगेको छ । तोडफोड गर्ने समूहको पहिचान हुन नसकेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
साथै घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसैबीच तोडफोडमा संलग्नलाई यथाशीघ्र पत्ता लगाई कारबाहीको दायरामा ल्याउन प्रहरी प्रशासनसँग आग्रह गरिएको गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले बताए ।
रुकुम पश्चिमः रूकुम पश्चिमको मुसिकोट नगरपालिका– १ खलङ्गास्थित सत्कार होटलमा महिला मृत फेला परेको घटनामा शङ्कास्पद एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उक्त व्यक्तिलाई प्रहरीले सार्वजनिक भने गरेको छैन । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले शङ्कास्पद व्यक्ति पक्राउ गरिएको र अनुसन्धान चलिरहेकाले सकिएपछि सार्वजनिक गरिने जानकारी दिए ।
मुसिकोट नगरपालिकाका– ७ साँखकी २८ वर्षीया भावना विक खलङ्गाको सत्कार होटेलको कोठा नम्बर १ मा मङ्गलबार बिहान मृत फेला परेपछि साँझ कोहलपुरबाट प्रहरीको कुकुरसहितको टोलीले घटनास्थलमा अनुसन्धान गर्नाका साथै शङ्कास्पद एक व्यक्ति पक्राउ गरिएको र मृतक महिलाको घाँटी रेटेर हत्या गरिएकोे उनको भनाइ थियो ।
प्रारम्भिक अनुसन्धानका क्रममा हत्याको कारण आर्थिक कारोबार रहेको देखिएको जनाइएको थियो ।
काठमाडौंः नेपाली सेना र सशस्त्र प्रहरी बलले दशैँका बेला घर जाने आफ्ना सुरक्षाकर्मीका लागि यातायात सेवा उपलब्ध गराएको छ । आ–आफ्ना कर्मचारीलाई आवतजावतमा सहजताका लागि सेवा उपलब्ध गराइएको नेपाली सेना र सशस्त्र प्रहरीले जानकारी दिएको छ ।
नेपाली सेनाले सहुलियतमा हवाई तथा स्थल यातायात सेवा उपलब्ध गराएको जनाएको छ भने सशस्त्र प्रहरीले निःशुल्क यातायात सेवा उपलब्ध गराएको जानकारी गराएको छ । नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार यस वर्षको बडादशैँमा घर जाने नेपाली सेनाका बहालवाला सकलदर्जा तथा तिनका आश्रित परिवारलाई सहुलियतको यातायात सुविधा उपलब्ध गराएको जानकारी दिएको छ ।
निर्देशनालयका अनुसार सडक सञ्जालको पहुँच पुगेका स्थानमा सवारीसाधन (बस) मार्फत चार सय २१ जनाले हालसम्म सेवा पाएका छन् । यस्तै सडक सञ्जालको सहज पहुँच नपुगेका तथा दुर्गम पहाडी–हिमाली क्षेत्रलगायत लामो दूरीका गन्तव्यमा हवाई उडानमार्फत छ सय पाँच जना गरी हालसम्म एक हजार २६ जना सकलदर्जा एवं आश्रित परिवारले सेवा पाएका जानकारी दिइएको छ । उक्त सुविधा सेनाले यही कात्तिक २ गतेसम्म उपलब्ध गराउने छ ।
सशस्त्र प्रहरीले भने निःशुल्करूपमा शुरु गरेको सेवा आगामी कात्तिक २ गतेसम्म सञ्चालन हुने जनाएको छ । सशस्त्र प्रहरीका प्रवक्ता वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काका अनुसार सशस्त्र प्रहरी बल नेपालले बडादशैँ, तिहार र छठको अवसरमा बहालवाला तथा अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारी र उनीहरूका परिवारजनलाई लक्षित गरी निःशुल्क दुई बस सञ्चालन गरेको छ ।
चाडपर्वका बेला घरबिदा जाने सशस्त्र प्रहरी बलको प्रधान कार्यालयबाट छुट्ने एउटा बसले काठमाडौं, नारायणगढ, बुटवल, भालुवाङ हुँदै कन्चनपुरको गड्डाचौकीसम्म सेवा प्रदान गर्ने छ भने अर्को बसले नारायणगढ, बर्दिबास, सप्तरी, पकली हुँदै झापाको काँकडभिट्टासम्म सेवा प्रदान गर्ने सशस्त्र प्रहरी बलका प्रवक्ता सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक खड्काले बताए । यसअघि सशस्त्र प्रहरीले बडादशैँका अवसरमा सर्वसाधारणको सुविधालाई ध्यानमा राखी काठमाडौं उपत्यकाभित्र निःशुल्क बस सेवा सञ्चालन गरेको थियो ।
काठमाडौंः जिल्ला प्रहरी परिसर काठमाडौंले पठाओ र इनड्रइभका नाममा अफलाइन राइड गर्ने ८३ चालकलाई कारबाही गरेको छ । काठमाडौंका विभिन्न स्थानबाट अनधिकृत तवरले सर्वसाधारणलाई ओसारपसार गर्ने ‘अफलाइन राइड ट्रिप’ क्रियाकलापमा संलग्नलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा विगतका केही आपाराधिक घटनामा यस्ता सवारी चालकको संलग्नता देखिएको र सुरक्षा संवेदनशीलतालाई दृष्टिबाट सदैव जोखिम सिर्जना हुने भएको कारणले अफलाइन राइड शेयर नगर्ने तर्फ सचेत रहन अनुरोध गरिएको छ ।
नवलपरासीः जिल्ला प्रहरीले दश लाखबराबरको अवैधरूपमा ल्याइएका औषधि बरामद गरेको छ । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–१ स्थित नहरको बाँधमा प्रहरीले ती औषधि बरामद गरेको हो ।
दुईवटा कार्टुनमा राखेर अवैधरूपमा ल्याउँदै गरेको माईकोफेनोलेट, हेप्रिन इन्जेकसन पि, साइक्लोसपोरिन आइपी, माईकोफेनोलिक एसिड, टेलमिस्टार्टन, माईकोफोनोलेट, आर्थोरोपोईटिन इन्जेक्सन, डर्विपोइटिन अल्फा इन्जेक्सनलगायत औषधि प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रेशम बोहराले बताए ।
ती औषधि नौ लाख ८१ हजार ६२ बराबरको रहेको उनको भनाइ थियो । भारतबाट एक व्यक्तिले पैदलै ल्याउँदै गरेको कार्टुनलाई प्रहरीले देख्नासाथ नजिक जाँदा औषधि छोडेर मान्छे फरार भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बरामद गरिएको उक्त औषधिलाई महेसपुरस्थित भन्सार कार्यालयमा पठाइएको र फरार व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
मुस्ताङः मुस्ताङमा ५ वर्षीया वर्षीया बालिका बलात्कृत भएकी छिन् । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा लोमान्थाङ गाउँपालिका–३ बस्ने २६ वर्षीय जप्याङ गुरूङ बिहीबार बेलुकी पक्राउ परेका छन् ।
गुरूङले ती बालिकालाई थासाङ गाउँपालिका–२ स्थित विद्यालयको कक्षाकोठामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय लोमान्थाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
गोरखाः सत्तरी वर्षीया बृद्धाको हत्याका तीन अभियोगी पुर्पक्षका लागि कारागार चलान भएका छन् । गोरखाको आरुघाट गाउँपालिका–१ श्यामचेतकी ७० वर्षीया बृद्धा सुनमाया लामाको हत्याका अभियोगीलाई जिल्ला अदालतको आदेशमा बिहीबार कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
कारागार चलान हुनेमा सोही ठाउँका २९ वर्षका कर्माछिरिङ लामा, १९ वर्षका साने भनिने सुपराज लामा र १९ वर्षकै अन्जय लामा गुरुङ रहेका छन् । गत भदौ २८ गते साँझ घरमा एक्लै भएको मौका छोपेर कर्मा र सुपराज मिलेर सुनमायाको हत्या गरेका थिए । अन्जयले भने हत्यापछि उनीहरू भगाउन भूमिका निर्वाह गरेको पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।
हत्या भएको दुई दिनपछि भदौ ३० गते बिहान एककोठे कच्ची घरमा शङ्कास्पद अवस्थामा झुण्डिएको सुनमायाको शव फेला परेकाले आङ्शकामा प्रहरीले अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा पक्राउ परेका उनीहरूले गरगहना लुटपाट गर्ने उेद्दश्यले वृद्धाको हत्या गरेको खुलेको उनको भनाइ थियो ।
प्रहरी निरीक्षक शेखर खड्को नेतृत्वको टोलीले गरेको अनुसन्धानका क्रममा उनीहरूले भदौ २८ गते करिब साँझ ६ बजे सुनमायालाई घरमै घाँटीमा दुवैतिरबाट डोरीले कसेर हत्या गरी घटनालाई घटना ढाकछोप गर्न घरभित्र कोठाको बलोमा मृतकको शव झुण्ड्याएको पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले उल्लेख गरे । ।
हत्यापछि कर्मा र सुपराजले मृतकको कानमा रहेको सुनका रिङसमेत लुटेर भागेका थिए । घटनाको अनुसन्धानपछि प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत तिनै जनाविरुद्ध जिल्ला अदालतमा कर्तव्य ज्यान कसुरमा मुद्दा दायर गरेको थियो । सोही क्रममा अदालतले घटनामा संलग्न सबैलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश थियो । रासस
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies