काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्माले एमालेलाई बहुमतबाट रोक्नका लागि पाँच दलीय, आठ दलीय, वाम गठनबन्धन, मोर्चालगायत हल्ला फिजाइरहेको बताएका छन् ।
लोकतान्तित्रक शेर्पा सँघद्वारा शनिवार काठमाडौमा आयोजित कार्यक्रममा उनले जति दलीय गठबन्धन भए पनि देशलाई ओरालो लाग्न नदिन नेकपा एमाले र एमालेको सरकार मात्रै चाहिने दाबी गरे ।
उनले नेकपा एमाले देश बनाउने सर्तमा मात्रै सरकारमा जाने पनि बताए । दसैंमा केटाकेटी रमाएजस्तो वा ल्होसारमा केटाकेटी खुसी भएजस्तो खुसी मनाउन मात्रै एमाले सरकारमा नजाने बताए ।
दिवाकर अधिकारी/मध्यान्ह
काठमाडौं, २७ साउन । सत्तारुढ पाँच दलीय गठबन्धनले सिट बाँडफाँटमा सैद्धान्तिक सहमति जुटाएको छ । सिट बाँडफाँट कार्यदलको बैठकले दलहरुबीच भागबण्डाको अनुपातबारे सैद्धान्तिक सहमति जुटाएको हो । सहमतिअनुसार, चार आधारमा दलहरुबीच सिट भागबण्डा हुनेछ ।
पहिलो, २०७४ को चुनावी नतिजा । दोस्रो, २०७४ मा पाएको समानुपातिक मत । तेस्रो, गएको स्थानीय चुनावको नतिजा र चौथो, दलहरुको संवेदनशीलता । कुन दलले कति र कहाँ सिट पाउने भन्नेबारे यो मापदण्ड निर्धारण गर्ने सैद्धान्तिक सहमति भएको हो । तर यही आधारमा सिट बाँडफाँट गर्न भने सजिलो छैन ।
त्यसको कारण हो, चुनाव सजिलै जितिने भएकाले जसरी पनि टिकट लिने नेताहरुको चाहना । ०७४ को चुनावमा नेकपा एमाले र माओवादी केन्द्रबीच तालमेल हुँदा गठबन्धनका नेताहरुले सजिलै जितेको नजीरले पनि नेताहरुको आकर्षण टिकटमा बढेको छ । वाम गठबन्धन भएकैले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पराजित भएका थिए । ०४८ देखिको कुनैपनि चुनाव नहारेका पौडेललाई एमालेका कृष्णकुमार श्रेष्ठ (किसान) ले हराएका थिए । शेखर कोइरालालाई लालबाबु पण्डितले हराए ।
गठबन्धनको समर्थनमा राप्रपाका राजेन्द्र लिङदेनले नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई हराएका थिए भने राजेन्द्र महतोले विमलेन्द्र निधिलाई हराए । गठबन्धनकै कारण एमाले र माओवादी केन्द्रका थुप्रै नेताहरुले जितेका थिए । अहिले एमालेविरुद्ध कांग्रेस नेतृत्वमा गठबन्धन बनेको छ । यसपटक एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी पनि कांग्रेस नेतृत्वकै गठबन्धनमा छ ।
तसर्थ, गठबन्धनका तर्फबाट टिकट पाएमा चुनाव जितिने आँकलनका कारणले पनि कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी केन्द्र र राष्ट्रिय जनमोर्चामा टिकटको आकर्षण बढ्दो छ । लगातार चुनाव हार्दै आएका नेताहरुमा पनि जितिने आत्मविश्वास बढी देखिन्छ । तसर्थ पनि उनीहरु गठबन्धनको पक्षमा वकालत गर्दै आएका छन् ।
तर यसको उल्टो एमालेमा भने चुनावप्रति नेताहरुमा इनिच्छा देखिन्छ । गएको स्थानीय चुनावमा गठबन्धनमा उत्साहजनक मत खसेकाले पनि एमालेका शीर्ष नेताहरु नै चुनाव नलड्ने मनसायमा देखिन्छन् । उपाध्यक्षहरु अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र रामबहादुर थापा बादल चुनाव नलड्ने मनसायमा रहेको एक नेता बताउँछन् ।
पदाधिकारी मध्ये उपमहासचिव विष्णु रिमाल त यसअघि पनि चुनाव लड्ने गरेका थिएनन् । यसपटक झनै प्रतिकुल परिस्थिति रहेकाले उनी चुनाव नलड्ने मनसायमा छन् । चुनाव नै नजितेपनि लगातार लाभको पद पाएकाले पनि उनी यसपटक जोखिम उठाउन तयार छैनन् ।
मुकुन्द लामिछाने/मध्यान्ह
काठमाडौं, २७ साउन । सरकारको नेतृत्व गरिररहेको दल नेपाली कांग्रेसले आज केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ । बिहान ९ बजे बोलाइएको बैठकमा दल दर्ताबारे निर्णय हुने प्रवक्ता डा.प्रकाशशरण महतले बताए । उनका अनुसार, चुनावी कार्यक्रमबारे अन्य निर्णय पनि बैठकले गर्नेछ ।
कांग्रेसले आगामी भदौ २ देखि २४ गतेसम्म देशब्यापी अभियान सञ्चालन गर्ने, साउन ३० र ३१ ग्ते जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिने कार्यक्रम तय गरेको छ । यसबारे पनि छलफल गर्ने प्रवक्ता महतले बताए । कांग्रेसले प्रशिक्षण र अभियानलाई चुनावी तयारीकै रुपमा लिएको छ ।
आफू नेतृत्वको गठबन्धनले भने यसअघि नै चुनावी तयारीबारे निर्णय गरिसकेको छ । गएको २० साउनमा गठबन्धनका शीर्ष नेताहरु सम्मिलित बैठकले सिट बाँडफाँटबारे निर्णय लिन ११ सदस्यीय कार्यदल गठन गरेको छ । पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदलको बैठकले सिट भागबण्डाबारे सैद्धान्तिक सहमति नै गरिसकेको छ ।
पाँच दलीय गठबन्धनमा ०७४ को चुनावको नतिजा, समानुपातिक मत, गएको स्थानीय चुनावमा पाएको मत र दलहरुको संवेदनशीलतालाई आधार बनाएर सिट बाँडफाँट गर्ने सहमति गरिसकेको छ । गठबन्धनको निर्णयपछि दलगत निर्णय गर्ने क्रममा कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको हो । नेकपा एकीकृत समाजवादीले भने चुनाव केन्द्रीत दुई महत्वपूर्ण निर्णय गरिसकेको छ । घोषणापत्र मस्यौदा निर्माणका लागि गंगालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेल रहेको समिति गठन गरेको छ ।
टिकट वितरणको मापदण्ड र विधि बनाउने जिम्मेवारी महासचिव बेदुराम भुसाललाई दिइएको छ । अर्का सत्तारुढ दल नेकपा माओवादी केन्द्रभित्र पनि चुनाव केन्द्रीत गतिविधि शुरु भइसकेको छ । तर निर्णय चाहिँ गरेको छैन । जनता समाजवादी पार्टी (जसपा) मा विभाजन भएकाले औपचारिक बैठक नबसेपनि तयारी भइरहेको नेताहरुले बताएका छन् ।
प्रमुख विपक्षी दल नेकपा एमालेले पनि चुनावी तयारी अगाडि बढाएको छ । बिहीबार केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक राखेर निर्वाचन परिचालन समिति नै गठन गरिसकेको छ । अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा जम्बो निर्वाचन परिचालन समिति गठन गरेको हो । यो समितिमा केन्द्रीय सदस्यहरु, प्रदेशका पदाधिकारी, केन्द्रीय निकायका पदाधिकारी, जनसंगठनका अध्यक्ष र महासचिव, विभागका सचिवहरु रहनेछन् । ओली सहित आठ पदाधिकारी रहेको चुनावी घोषणापत्र मस्यौदा समिति गठन पनि गरेको छ ।
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शनिबार बिहानका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । सभापति देउवाले शनिबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बैठक बोलाएका हुन् ।
बैठकमा आगामी निर्वाचन तयारी, निर्वाचन प्रयोजनका लागि दल दर्ता, भदौ २ देखि २४ गतेसम्म देशव्यापी सञ्चालन हुने संगठन सुदृढीकरण अभियान, यही साउन ३० र ३१ गते हुने जनप्रतिनिधिको भेलाको विषयमा छलफल हुने पार्टी प्रवक्ता प्रकाशसरण महतले बताए ।
सरकारले आगामी मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्ने घोषणा गरिसकेको छ ।
काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले शैक्षिक बेरोजगारी न्यूनीकरण गर्न युवा उद्यमशीलताको विकास गर्नुपर्ने बताएका छन् ।
अन्तर्राष्ट्रिय युवा दिवस मूल समारोह समितिले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले देशविकासको अभियानमा युवा वर्ग क्रियाशील हुनुपर्नेमा जोड दिए ।
विभिन्न पुस्तामा रहेका सीप तथा क्षमता युवालाई हस्तान्तरण गरी नयाँपुस्तालाई सवलीकरणको खाँचो औँल्याउँदै उनले मुलुकका सबै जाति समुदायलाई एकापसमा एकताबद्ध बनाएर शान्तिपूर्ण र सहअस्तित्वको समाज निर्माण गर्न युवा दिवसले प्ररेणा प्रदान गर्ने विश्वास व्यक्त गरे ।
राष्ट्रिय युवा परिषद्का अध्यक्ष एवं युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले मुलुकमा भएका विभिन्न आन्दोलनबाट प्राप्त भएको राजनीतिक परिवर्तनका कारण अब युवाले आन्दोलन गर्नुनपर्ने बताउँदै उनीहरुलाई उद्यमशील बनाउन सकेमा देश विकास हुने धारणा राखे ।
काठमाडौंः मिटरब्याज नियन्त्रणका लागि सरकारले कार्यदल गठन गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रालयका सह–सचिव डा.भिष्मकुमार भुसालको संयोजकत्वमा कार्यदल गठन गरेका हुन् ।
कार्यदलमा सिआईबीका एसएसपी दिनेश आचार्य, गृह मन्त्रालयका उप–सचिव श्रीकृष्ण पौडेल, उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्णप्रसाद कोइराला र राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक मुकुन्द मरहठ्ठा सदस्य छन् ।
प्रधानमन्त्री देउवाले शुक्रबार गृहमन्त्री, नेपाल प्रहरीका आईजीपी, सशस्त्र प्रहरी प्रमुख र गृह मन्त्रालयका सहसचिवलाई बोलाएर मिटर ब्याजको समस्या समाधान गर्न निर्देशन दिएका थिए ।
कान्ति न्यौपाने/मध्यान्ह
काठमाडौं : आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पाँच दलीय गठबन्धन कायमै हुने भएपन सिट बाँडफाँड भने थप सकसपूर्ण हुने भएको छ । गठबन्धनका शीर्षस्थ नेताहरुले नै टिकट नपाउने स्थिति देखिएपछि तालमेल चुनौतीपूर्ण हुने भएको हो ।
गठबन्धनले तालमेलको आधारका रुपमा पहिला जितेका स्थानमा सोही दललाई प्राथमिकतामा दिने निर्णय गरेको छ । जसले गर्दा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, नेताहरु रामशरण महत, प्रकाशशण महत र सहमहामन्त्री डिना उपाध्यायको टिकट संकटमा पर्ने निश्चित भएको हो ।
माओवादी केन्द्रका पम्फा भुसाल, अग्निप्रसाद सापकोटा, देव गुरुङ्ग र देवेन्द्र पौडेल लगायत नेताहरुको व्यवस्थापन थप संकटमा पर्ने देखिएको हो । एकीकृत समाजवादीबाट प्रेम आले, किसान श्रेष्ठ, रामकुमारी झाँक्री लगायत नेताहरुको व्यवस्थापन थप चुनौतीपूर्ण देखिएको हो । जसपा र नेसपाका नेताहरुलाई टिकट दिने विषय पनि सहज भने देखिदैँन ।
यद्यपि, नेकपा माओवादी केन्द्रका नेता देव गुरुङ्ग भने सिट बाँडफाँडबारेमा सहमति नजिक पुगेको दाबी गर्छन् । ‘हाम्रा आधारहरू विगतको निर्वाचन र अहिले संसदमा उपस्थिति नै हो । तर, यसले सबै दललाई कभर गर्दैन । मोटामोटी यसै सेरोफेरोमा रहेर सहमतिको प्रयास हुनेछ। प्रत्यक्ष र समानुपातिकमा रहेको मत र स्थानीय तह निर्वाचनमा दलहरूको नतिजाको आधारमा सैद्धान्तिक सहमति बनाइनेछ’ उनले भने ।
तर, कांग्रेसकी नेता सिर्जना सिंह भने गठबन्धन गर्न नहुने बताउँछिन् । ‘आउँदै गरेको संसदीय चूनावमा आ आफ्नो पार्टी आफ्नै चूनाव चिन्ह र गठबन्धन नगरी सबैले आफ्ना उम्मेदवार उठाउने बरू बहुमत नआए गठवन्धन गर्दा हुन्छ । स्थानीय चूनावमा देखेको भोगेको गठबन्धनले अन्यौल र अस्तव्यस्त बाहेक केही गर्दैन’ उनले भनिन् ।
तर, कांग्रेसले भने आफूले सय सिट लिने र बाँकी ६४ सिट अन्य दललाई दिने बताउँदै आएको छ । अन्तयसम्म ९० सिटसम्ममा झर्न सकिने कांग्रेसको निष्कर्ष छ । ‘कांग्रेसलाई ६० प्रतिशत र ४० प्रतिशत गठबन्धनका अन्य दललाई दिनेबारे हाम्रो प्रस्ताव रहन्छ । छलफलबाट के–कति भन्ने टुंगो लाग्छ,’ नेपाली कांग्रेसका सहमहामन्त्री भिष्मराज आङ्दाम्बले भने ।
यद्यपि, ०७४ मा गठबन्धन दलका उम्मेदवारले प्राप्त गरेको मतभार, गठबन्धनबाहेकका दल विजयी स्थानमा गठबन्धनभित्रका दलले पाएको मत, गठबन्धनका दलको संगठनात्मक अवस्था र जनसमर्थन लगायतका विषय स्थानीय तह निर्वाचनमा सिट बाँडफाँडका आधारमा गठबन्धन टुगिंनुपर्ने केही नेताहरुको भनाई छ । गठबन्धनमा रहेका दलले सम्मानजनक एकता हुनुपर्ने बताएपनि सिट बाँडफाँड सहज भने नहुने भएको छ ।
काठमाडौं : नेकपा एमालेले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी अगाडि बढाएको छ । बिहीबार पार्टी मूख्यालय च्यासलमा सचिवालय बैठक राखेर चुनावको तयारी अगाडि बढाएको हो । लामो समयदेखि बैठक नराखेको एमालेले बिहीबार सचिवालय बैठक बोलाएको थियो ।
एकदिन अगाडि मात्रै जानकारी दिएर बोलाइएको बैठकले निर्वाचन परिचालन समिति र घोषणापत्र मस्यौदा निर्माण समिति गठन गरेको छ । निर्वाचन परिचालन समितिको संयोजकमा अध्यक्ष केपी शर्मा ओली आफै बसेका छन् । ओलीको नेतृत्वमा केन्द्रीय सदस्यहरु, प्रदेश कमिटीका पदाधिकारी, केन्द्रीय निकायका पदाधिकारी, जनसंगठनका अध्यक्ष र महासचिव, विभागका सचिवहरु रहेको निर्वाचन परिचालन समिति गठन भएको छ । यो जम्बो कमिटीले निर्वाचनमा कार्यकर्ता परिचालनको केन्द्रीय नेतृत्व गर्नेछन् ।
मातहतका कमिटीले पनि अब निर्वाचन परिचालन कमिटी गठन गर्नेछ । ‘हामी निर्वाचन केन्द्रीत भएका छौं । अध्यक्ष केपी ओलीकै नेतृत्वमा चुनावमा होमिन्छौं’, प्रवक्ता रहेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले भने । उनका अनुसार, घोषणापत्र मस्यौदा समितिको संयोजक पनि अध्यक्ष ओली नै रहेका छन् । समितिमा ओली सहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र विष्णु रिमाल रहनेछन् ।
यो समितिले आगामी निर्वाचनका निम्ति एमालेको घोषणापत्र निर्माण गर्नेछ । निर्वाचन परिचालन र घोषणापत्र मस्यौदा समिति गठन गरेर एमालेले एक्लै चुनावमा होमिएको सन्देश पनि दिएको छ । ०७४ को चुनावमा भने एमाले र माओवादी केन्द्रले संयुक्त रुपमा घोषणापत्र सार्वजनिक गरेको थियो । त्यसबेला एक महिना मात्रै घोषणापत्र लिएर चुनावमा होमिएको एमाले भने यसपटक झण्डै तीन महिना अगाडि तयारीमा जुटेको छ ।
सरकारले आगामी ४ मंसिरमा चुनावको मिति तय गरेपछि एमालेले तत्काल बैठक राखेर तयारी अगाडि बढाएको हो । सचिवालयले महत्वपूर्ण निर्णय गरिसकेपनि स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठक पनि एमालेले राखेको छ । आगामी भदौ ७ मा स्थायी कमिटी, भदौ ९ मा पोलिटब्यूरो र भदौ १० मा केन्द्रीय कमिटी बैठक बोलाइएको छ । यो बैठकमा चुनाव केन्द्रीत छलफल गर्ने एमालेको तयारी छ ।
गएको वैशाख ३० गते सम्पन्न स्थानीय चुनावमा पनि सत्ता गठबन्धनविरुद्ध एमालेले एक्लै प्रतिश्पर्धा गरेको थियो । नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनविरुद्ध चुनावमा लडेको एमालेले २०५ स्थानीय तह जितेको छ । सत्ता गठबन्धनका नेपाली कांग्रेसले ३२९, माओवादी केन्द्रले १२१, जनता समाजवादी पार्टीले ३०, एकीकृत समाजवादीले २० र राष्ट्रिय जनमोर्चाले ४ स्थानीय तह जितेको छ ।
काठमाडौं : नेकपा एमालेले मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तयारी तथा सञ्चालनका लागि केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।
केन्द्रीय सचिवालयको आज बसेको बैठकले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको हो ।
परिचालन कमिटीमा केन्द्रीय कमिटीका सबै सदस्य तथा केन्द्रीय निकाय र आयोगका पदाधिकारी रहने छन् ।
त्यस्तै बैठकले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको संयाजकत्वमा ८ सदस्सीय घोषणापत्र मस्यौदा समिति पनि गठन गरेको छ । गठबन्धन गरेर जानेबारे एमालेले नसोचेको बैठकपछि प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताए ।
समितिको सदस्यमा उपाध्यक्षहरू रामबहादुर थापा ‘बादल’, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र विष्णु रिमाल छन् ।
निर्वाचन तयारीका लागि एमालेले भदौ ७ गते स्थायी कमिटी, ९ गते पोटिलब्यूरो र १० र ११ गते केन्द्रीय समिति बैठक बोलाउने निर्णय पनि गरेको छ ।
काठमाडौंः सत्तारुढ गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सिट बाँडफाँटमा वर्तमान संसदको उपस्थितिलाई मुख्य आधार बनाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको सत्तारुढ गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठकमा संसदमा दलहरुको संख्यालाई मुख्य आधार बनाउने समझदारी भएको माओवादी केन्द्रका नेता देव गुरुङले जानकारी दिए ।
उनका अनुसार साउन ३० गते फेरि बस्ने बैठकमा थप छलफल हुनेछ ।
कार्यदलमा कांग्रेसबाट ३, माओवादी केन्द्रबाट २, नेकपा एकीकृत समाजवादीबाट २, जनता समाजवादी पार्टीबाट २ र राष्ट्रिय जनमोर्चाबाट २ जना सदस्य छन्।
Bagbazar Kathmandu
Phone : 014226366, 014228298
Mobile : 9841293261, 9841206411
Email : [email protected]
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2022 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies