काठमाडौं : गृहमन्त्री रमेश लेखकले सरकार नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमतिअनुसार नै अघि बढ्ने बताएका छन् ।
बिहीबार ललितपुरमा राष्ट्रिय मानव अधिकार आयोग र द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जालको आयोजना तथा द स्टोरी किचेनको सहकार्यमा आयोजित ‘दोस्रो राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा हालसम्मको प्रगति र आगामी कार्यदिशा’ विषयक कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।
उनले आफू मन्त्री बनेको १० महिना भएको र १० महिनाको समय धेरै नरहेको बताए । उनले विगतमा १० महिनामा सरकार परिवर्तन हुने स्थिति रहँदा एउटा सरकारको कार्यकाल जस्तै लाग्ने गरे पनि अहिलेको सरकार परिवर्तन नहुने बताए । उनले अहिलेको सरकार १० महिनामै नफेरिने र यस्ता १० महिना ३-४ वटा अरु पनि कट्ने बताए ।
गृहमन्त्री लेखकले संक्रमणकालीन न्यायका सम्बन्धमा कानुनलाई पूर्णता दिइएको बताए । ९ महिना यताको समयमा आफूहरुले कानुनलाई पूर्णता दिएको उनको भनाइ थियो ।