तेजबहादुर बन/मध्यान्ह
इटहरी : सामाजिक सञ्जालबाट चिनेकै भरमा विश्वास गर्दा एक किशोरीले आफ्नो कुमारित्वसँगै साथमा रहेको सबै सम्पत्ति गुमाएकी छिन् । फेसबुक म्यासेन्जर र टिकटकमा चिनजान भएकै भरमा राखिएको प्रेम प्रस्ताव र विवाहको प्रलोभनमा परेपछि धनकुटाकी एक किशोरीले आफ्नो सबैथोक गुमाएकी हुन् ।
सामाजिक सञ्जालको प्रयोगबाट धेरैजसो महिला र किशोरीहरूलाई विवाहको प्रलोभनमा पारेर लुटपाट र बलात्कार गर्दै फरार रहेको अभियोगमा इलाका प्रहरी कार्यालय इटहरीले शुक्रबार एक व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।
प्रहरीले कास्कीका कास्कीकोट गाउँपालिका ४ का ३९ वर्षीय राजिव गुरुङलाई नियन्त्रणमा लिएको हो । गुरूङले उक्त किशोरीलाई इटहरीको एक होटलमा ३ दिनसँगै राखेको र विवाहको प्रलोभन देखाउँदै इच्छा विपरित जबरजस्ती करणी गरी मौकाको फाइदा उठाउँदै गरगहना, नगद लुटेर भागेको जनाइएको छ ।
किशोरी बाथरुममा नुहाउन गएको मौका छोप्दै अभियुक्त गुरूङले निजले लगाएको सुनको झुम्का, ब्रास्लेट, सिक्री, नगद रु.२७ हजार पाँच सय रुपैयाँ, सांग्रिला बैंकको एक थान एटिएम कार्ड र एक थान हवाई होनर मोबाइल समेत चोरी गरि फरार रहेका थिए । किशोरी नुहाएर बाहिर निस्कदा मान्छेसहित गहना र पैसा नभेटेपछि गुरूङबाट आफु लुटिएको भन्दै इटहरी प्रहरीमा उजुरी गरेकी थिइन् ।
उक्त किशोरीले विवाहको प्रलोभन देखाएर गत माघ २५ गते देखि २७ गते सम्म इटहरीस्थित आरआर होटलमा राखेर नियमित बलात्कार गरेको आरोप सहित प्रहरीमा उजुरी दिएकी छिन् । उजुरी परेपछि खोजतलाशको क्रममा प्रहरीले शुक्रबार इटहरी १३ बाट गुरूङलाई नियन्त्रणमा लिइ सार्वजनिक गरेको छ ।
प्रहरी नियन्त्रणमा रहेका गुरूङले यस अघि पनि झापाकी एक महिलालाई मेसेन्जर मार्फत विवाहको प्रलोभन देखाएर रकम लुटेको अनुसन्धानबाट खुलेको इटहरी प्रहरीले जनाएको छ । गुरूङले म्यासेन्जर र टिकटकमार्फत धेरैलाई साथी बनाउने र पारिवारीक वातावरण बुझेर विवाहको प्रस्ताव राख्दै शारिरीक सम्पर्क पछि नगद लुटेर हिँड्ने गरेको अनुसन्धानको क्रममा खुलेको इटहरी प्रहरीका प्रमुख डीएसपी अर्जुन केसीले बताए । उनले ति किशोरीलाई पनि सुरूमा म्यासेन्जर मार्फत चिनजान अघि बढाएको र टिकटकमा सामिप्यता बढाइ विवाहको प्रस्ताव राख्दै घटना यहा सम्म आइपुगेको बताए ।
पछिल्लो समय सूचना प्रविधिको विकाससँगै सबैको हात हातमा हुने मोबाइल इन्टनेट र सामाजिक सञ्जालको दुरूपयोग हुँदा यस्तो घटना बढ्दै गएको प्रहरी तथ्यांकमा देखाउँछ ।
सामाजिक सञ्जालमा नचिनेको मान्छेसँग सामिप्यता नराख्न र कसैले सञ्जालकै प्रयोगबाट रकम मागेको वा आफुमाथि दुव्यवहार तथा अपमानजनक व्यवहार गरे नजिकैको प्रहरी कार्यालयमा खबर गर्न इटहरी प्रहरीले अनुरोध समेत गरेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies