२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

प्रकाश ज्वाला भन्छन्– ‘सरकारी कार्यालयमा खुलेआम घुसखोरी चलिरहेको छ’

Nada
२०८२ वैशाख २४ गते २१:४५
Shares
प्रकाश ज्वाला भन्छन्– ‘सरकारी कार्यालयमा खुलेआम घुसखोरी चलिरहेको छ’

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य प्रकाश ज्वालाले सरकारी कार्यालयमा खुलेआम घुसखोरी चलिरहेको दाबी गरेका छन् । प्रतिनिधिसभाको शून्य समयमा बोल्दै ज्वालाले उक्त दाबी गरेका हुन् ।

ncell

उनले भने, ‘यतिबेला अनियमितता, व्यथिति र कुशासन व्याप्त छ, सरकारी कार्यालयहरूमा ढिलासुस्ती र खुलेआम घुसखोरी छ। दैनिक उपभोग्य बस्तु र सिमेन्ट, छड आदिमा पटकपटक मूल्य वृद्धि गरेर जनताको ढाड सेक्ने काम भएको छ ।’ 

प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति गोप्य राखेर सरकारले कस्तो पारदर्शिता पढाउन खोजेको ? भन्दै ज्वालाले प्रश्न गरे । साथै उनले प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति तत्काल सार्वजनिक गर्न माग गरे । उनले भने, ‘अहिलेको ठूलो समस्या कुशासन हो । कुशासनको एउटा जिउँदो नमूना सिंहदरबार गेटमा देखिन्छ । मन्त्री, सांसद, कर्मचारी प्रवेश गर्ने दक्षिण गेटमा जनताको भिड र लाइनतर्फ सरकारको ध्यानाकर्षण गराउँदछु ।’

उनले अगाडि भने, ‘मन्त्रालय जति सिंहदरबारभित्र थुपार्ने, सिंहदरबारलाई चार दिवार र फलामे गेटले घेरेर जेलजस्तै बनाउने अनि जनतालाई प्रवेश गर्न निशेध गर्ने कार्य स्वीकार्य छैन । मन्त्रीहरू कालो सिसावाला गाडीबाट भित्र पस्ने, जनता घाममा पसिना चुहाउँदै पासको लागि कसैको निगाहा पर्खदै गेट बाहिर तड्पिनुपर्ने अवस्थाको अन्त गरियोस् । मुख्य प्रशासनिक केन्द्र सिंहदरबारका गेट खुला गरियोस् र जनतालाई तत्काल आफ्ना मन्त्रालयमा सहज प्रवेशको व्यवस्था गरियोस्, म सरकारसँग जोडदार माग गर्दछु ।’

उपाध्यक्ष ज्वालाले भारतीय विश्वविद्यालय किटमा अध्ययनरत रहस्यमय ढंगले ज्यान गुमाएकी नेपाली विद्यार्थी प्रिशाप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै उक्त घटनाको अनुसन्धान गरी दोषीलाई कडा कारबाहीका निम्ति कूटनीतिक पहल चाल्न नेपाल सरकारको ध्यानाकर्षण गराए ।

ताजा खबर

सम्बन्धित खबर