२०८२ वैशाख २५ गते बिहिवार / May 08 , 2025 , Thursday
२०८२ वैशाख २५ गते बिहिवार
Ads

संसद्मा प्रवेश गर्‍यो भारत–पाकिस्तान तनाव

मध्यान्ह
२०८२ वैशाख २४ गते १६:३३
संसद्मा प्रवेश गर्‍यो भारत–पाकिस्तान तनाव

काठमाडौं : भारत र पाकिस्तानबीच बुधबारबाट सुरु भएको सैन्य कारवाइको विषय संसदमा प्रवेश गरेको छ ।

सांसदहरूले भारत र पाकिस्तानबीच युद्ध सुरु भएपछि भूराजनीतिक संवेदनशीलता र खुला सीमानाको कारणले नेपाल जोखिममा रहेको बताएका छन् ।

नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले भारत र पाकिस्तानबीच सुरु भएको युद्धका कारण नेपाल जोखिममा रहेको बताए ।

प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा बोल्दै गौतमले २ देशबीचको युद्धले नेपाललाई पार्नसक्ने अल्पकालीन र दीर्घकालीन प्रभावबारे सरकारलाई बेलैमा सोच्न आग्रह गरे ।
उनले भने, ‘यो विषयमा सरकारले समयमै छलफल अघि बढाओस् । छिमेकी समकक्षीसँग हाम्रा प्रधानमन्त्रीको कुरा भएको भन्ने आएको छ । यस बिषयमा गम्भीर हुन आवश्यक छ ।’

यस्तै स्वतन्त्र सांसद अमरेशकुमार सिंहले भारत र पाकिस्तानबीच युद्ध सुरु भएको बनाउँदै भारतसँग नेपालको खुला सीमा रहेका कारण सरकारले ध्यान त्यता केन्द्रित गर्नुपर्ने सुझाव दिए । ‘कुनै आतंकवादी गतिविधि नहोस् ।

सरकारलाई अन्तर्राष्ट्रिय सम्बन्धको ज्ञान छैन । किनकि साइकोलोजी पढेको व्यक्ति परराष्ट्र मन्त्री भएको छ । त्यसैले उहाँलाई डिम्लोमेसी र परराष्ट्र नीति भनेको के हो नै थाहा छैन’, सिंहले टिप्पणी गरे ।

उनले पाकिस्तानका ३ वटै सेनाको ११ जना अहिले नेपालमा रहेको बताए । सरकारले ठूला देशलाई जिस्क्याउने काम गरिरहेको उनले आरोप लगाए ।

यसैगरी, नेपाली कांग्रेसका सांसद एनपी साउदले भारत र पाकिस्तानबिचको पछिल्लो तनावलाई मध्यनजर गरेर सरकारले कूटनीतिक जिम्मेवारी बोध गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय दायित्व निर्वाह गर्नुपर्ने बताए ।

उनले छिमेकमा युद्धको आगो सल्किरहेको बेला सरकारले कूटनीतिक जिम्मेवारी बोध गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय दायित्व निर्वाह गर्नुपर्ने उल्लेख गरे ।

‘आफ्नै नागरिक आस्थाका आधारमा आतंकको शिकार भएको र छिमेकमा युद्धको आगो सल्किरहेको बेला नेपाल सरकारले कूटनीतिक जिम्मेवारी बोध गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय दायित्व निर्वाह गर्न सुझाव दिन चाहन्छु, साउदले भने ।

पूर्वपरराष्ट्रमन्त्री समेत रहेका साउदले विश्वव्यापी आतंकवादीहरूबाट भइरहेका आक्रमणहरूको शिकार हुनबाट नेपालीहरू पनि अछुतो रहन नसकेको बताए । उनले भने, ‘पहलगाम आतंककारी घटनाले हाम्रो छिमेकी मित्रराष्ट्र भारत र पाकिस्तानबिच गम्भीर तनावको स्थिति उत्पन्न भएको छ ।’

छिमेकमा भएको जघन्य आतंककारी घटना र विकसित परिस्थितिलाई नजरअन्दाज गर्दै पाकिस्तानको उच्चस्तरीय सैनिक प्रतिनिधिमण्डलले नेपाल भ्रमण गरेको प्रति पनि उनले असन्तोष व्यक्त गरे ।
 

ADV

ताजा खबर

सम्बन्धित खबर