सिन्धुपाल्चोक : नेकपा एमाले सिन्धुपाल्चोकको अध्यक्षमा होमनारायण श्रेष्ठ निर्वाचित भएका छन् । आज सम्पन्न मतगणनामा श्रेष्ठ तीन सय ६३ सहित निर्वाचित भएको निर्वाचन समितिका संयोजक शारदाप्रसाद सापकोटाले जानकारी दिए । श्रेष्ठका प्रत्यासी कमल नेपालले तीन सय ४९ मत प्राप्त गरे ।
नयाँ नेतृत्वका लागि भएको मतदानमा कूल सात सत १३ खसेको थियो । चौताराको आहालडाँडामा मतदान प्रक्रिया सकिएपछि एमाले पार्टी कार्यालयमा मतगणना भएको थियो ।
उपाध्यक्षमा तीन सय ४५ मतसहित अर्जुनकुमार भण्डारी निर्वाचित भए । उनका प्रत्यासी विष्णुमणि आचार्यले तीन सय सात मत प्राप्त गरे । सचिवमा कृष्णगोपाल तामाङ चार सय तीन मतसहित विजयी भए भने प्रत्यासी यज्ञराज सापकोटाले दुई सय ७० मत पाए । उपसचिव खुलातर्फ शिवहरि सापकोटा तीन सय ३६ मतसहित विजयी हुँदा प्रत्यासी विजयकृष्ण श्रेष्ठले तीन सय १३ मत पाए ।
महिलातर्फ सुशीला पाख्रिन चार सय ५६ मत प्राप्त गरी विजयी हुँदा प्रत्यासी शोभा कार्कीले दुई सय आठ मत प्राप्त गरिन् । जनजाति खुलातर्फ दुई सदस्यमा उम्मेदवारी नै परेन । विभिन्न क्लष्टरबाट ५६ जना सदस्य निर्विरोध चुनिएका थिए । पदाधिकारीसहित ४४ पदमा चुनाव भएको निर्वाचन समितिले जानकारी दिएको छ । अधिवेशनमा सात सय ४७ जना प्रतिनिधि थिए ।
काठमाडौं : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौंमा प्लेकार्ड बोकेर एक्लै उभिएर प्रदर्शन गरेका छन् ।
धरानका विकासे योजना र सरोकारका मुद्दा लिएर उनी सिंहदरबार धाइरहेका मेयर साम्पाङ मंगलबार बिहान सडक किनारमा एक्लै उभिएर प्रदर्शन गरेका हुन् ।
उनले २०८४ अघि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गर्न माग गरेका छन् । उनले बोकेको प्लेकार्डमा लेखिएको छ, ‘८४ अघि जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था लागू गर ।’
उनले ‘जनमतबार’ भन्दै काठमाडौंमा एकल प्रदर्शन गरेको फोटो सामाजिक सञ्जालबाट सार्वजनिकसमेत गरेका छन् ।
यसअघि उनले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, अर्थमन्त्री वर्षमान पुन, खानेपानीमन्त्री राजेन्द्रकुमार राई, शिक्षामन्त्री सुमना श्रेष्ठलगायतलाई भेटेका थिए ।
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डीपी अर्याल पनि सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लगाएको छ ।
रास्वपा सभापतिसमेत रहेका गृहमन्त्री लामिछानेमाथि छानबिनका लागि संसदीय समिति बनाउन निरन्तर माग गर्दै आएको कांग्रेसले रास्वपाकै उपसभापतिसमेत रहेका श्रममन्त्री अर्याल पनि जोडिएको भन्दै प्रश्न उठाएको हो ।
मंगलबारको प्रतिनिधिसभामा कांग्रेस सांसद रामकृष्ण यादवले सहकारी ठगी प्रकरणमा श्रममन्त्री अर्याल पनि जोडिएको समाचार आएको भन्दै छानबिन समिति माग गर्नुको औचित्य थप पुष्टि भएको बताए ।
उनले भने, 'रास्वपा उपसभापति तथा श्रममन्त्री डीपी अर्याल हाम्रो नयाँ कृषि सहकारी संस्थाको उपाध्यक्ष हुँदा निक्षेपकर्ताले चार करोड बढी रकम फिर्ता नपाएको विषय छ। अर्याल मात्रै होइन रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटी समेत सहकारीको सञ्चालक थिए। सो सहकारीमा पनि गोर्खा मिडियाका अध्यक्ष जिवी राईलाई भित्र्याइएको छ। त्यो भित्र्याउने काम श्रममन्त्री लगायतको हो भन्ने आरोप छ ।'
उनले प्रधानमन्त्री र प्रहरी प्रमुखले नै छानबिन आवश्यक नभएको बताएपछि अनुसन्धान प्रभावित हुने आशंका बढेको बताए ।
यादवले गृहमन्त्री रवि लामिछानेलाई आफूमाथि लागेका आरोपमाथि निष्पक्ष छानबिन गरी आफूलाई निर्दोष प्रमाणित गर्न चुनौती दिए । अन्यथा यो दागले जीवनभर लामिछानेलाई नछाड्ने उनको भनाइ थियो ।
मकवानपुर : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का प्रदेशसभा सदस्य रमा आलेमगरलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले बिनाविभागीय मन्त्री नियुक्त गरेका हुन् ।
बागमती प्रदेशका प्रमुख शर्माले नवनियुक्त मन्त्री आलेमगरलाई आजै पद तथा गोपनीयताको शपथ गराए । मुख्यमन्त्री जम्कट्टेलले आगामी एक साताभित्र मन्त्रिपरिषद् विस्तार एवं कार्यविभाजन गरिने बताए ।
शपथ ग्रहण समारोहमा मुख्यमन्त्री जम्कट्टेल, सभामुख भुवनकुमार पाठक, उपसभामुख अप्सरा चापागाईँ, मन्त्रीहरू र विभिन्न राजनीतिक दलका नेता तथा विभिन्न मन्त्रालयका सचिव सहभागी थिए । नवनियुक्त मन्त्री आलेमगर काठमाडौँ क्षेत्र नं १० (२) बाट प्रदेशसभा सदस्य निर्वाचित भएका हुन् ।
शिव विक/मध्यान्ह
काठमाडौं : समाजवादी मोर्चा फेरि सक्रिय भएको छ । नेकपा एमाले समाहित हुने अनिश्चितताकाबीच नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्मिलित चार दलीय समाजवादी मोर्चाले स्थगित भएका पूर्व निर्धारित कार्यक्रमहरु अघि बढाउन थालेको हो ।
मंगलबार समाजवादी मोर्चाले काठमाडौंस्थित राष्ट्रिय सभागृहमा बृहत अन्तरक्रिया कार्यक्रम राखेको छ । यसअघि चैत ३ गते गर्ने तय भएर स्थगित भएको अन्तरक्रिया गत फागुन २१ गते सत्ता समीकरण बदलिएपछि स्थगित भएको थियो ।
सत्ता समीकरणमा एमाले जोडिएपछि मोर्चाले एमालेलाई जोडिन आग्रह गरेको थियो । तर, एमालेले ठोस जवाफ नदिएपछि पूर्व निर्धारित कार्यक्रम अनुसार मोर्चा सक्रिय हुन लागेको हो ।
एमाले समाहित हुने अनिश्चितताकाबीच चार दलीय समाजवादी मोर्चाले स्थगित भएका पूर्व निर्धारित कार्यक्रमहरु अघि बढाउन थालेको हो ।
नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसाल समाजवादी मोर्चामा सत्तारुढ एमाले नआए पनि मोर्चा कायम रहने बताउँछिन् । वामपन्थी दल र समाजवादी हुनुको नाताले समाजवादी मोर्चामा एमाले पनि आउनु राम्रो हुने उनको आग्रह छ ।
समाजवादी मोर्चा विगतमै बनेको उल्लेख गर्दै उनी सत्ता समीकरण फेरिँर्दैमा नरोकिने बताउँछिन् । एमालेसँग सत्ता सहकार्य भइरहेकाले एमाले मोर्चामा नआए पनि आपसी असमझदारी हुनु नहुने उनको धारणा छ ।
उनी भन्छिन्, ‘सत्ता समीकरण फेरिँर्दैमा समाजवादी मोर्चा रोकिँदैन् । एमालेसँग सत्ता सहकार्य भइरहेकाले मोर्चामा नआए पनि आपसी असमझदारी रहँदैन् ।’
उपाध्यक्ष भुसालले समाजवादी मोर्चामा आबद्ध पार्टीहरुका बिचमा नीति, कार्यक्रमहरुमा सहमति बन्दै गएमा एकताको तहसम्म पुग्ने विश्वास गर्छिन । हाल मोर्चाले समाजवादको आधार तयार पार्ने र सो प्रकारको नीति, कार्यक्रम बनाउने उदेश्य अनुरुप काम गरिरहेको उनी बताउँछिन् । मोर्चाले सरकारको नीति, कार्यक्रम र बजेटलाई समाजवादी बनाउनका लागि सल्लाह सुझाव पनि दिने उनको भनाइ छ ।
हाल समाजवादी मोर्चाको संयोजकमा नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव रहेका छन् । यसअघि मोर्चाको संयोजक एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल थिए ।
नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङका अनुसार समाजवादी मोर्चाले हालसम्म ५८ जिल्लामा समाजवादी मोर्चाको संगठन विस्तार गरिसकेको छ । अब बाँकी रहेका जिल्लामा समाजवादी मोर्चा विस्तार हुने उनले जानकारी दिए ।
४ असार २०८० मा चार दलका शीर्ष नेताहरुले समाजवादी मोर्चाको घोषणा गरेका थिए । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्दले साझा अवधारणापत्रमा हस्ताक्षर गरेर समाजवादी मोर्चाको घोषणा गरेका थिए ।
काठमाडौं : अन्य दलहरु उम्मेदवार टुंगो लगाएर चुनावी प्रचारमा जुटिसक्दा नेपाली कांग्रेस इलाम– २ मा प्रतिनिधि सभा सदस्य र बझाङ १ मा सुदूरपश्चिम प्रदेश सभा सदस्यको उम्मेदवार कसलाई बनाउने भन्ने निर्णयमा पुग्न सकिरहेको छैन् ।
दुवै क्षेत्रमा आगामी वैशाख १५ गते उपनिर्वाचन हुँदैछ । यही चेत २४ गते उम्मेदवारी दर्ताको कार्यतालिका छ । सोमबार मात्रै माओवादी केन्द्रबाट इलाम क्षेत्र नम्बर २ मा धीरेन्द्र शर्मा तिम्सिना उम्मेदवारका लागि एकल सिफारिशमा परेका छन् । एमालेले सुहाङ नेम्वाङ र रास्वपाले मिलन गुरुङलाई उम्मेदवार तय गरिसकेको छ । तर, कांग्रेसले उम्मेदवाबारे निर्णय लिन सकिरहेको छैन् ।
सोमबार पार्टी सभापति शेरबहादुर देउवाले उम्मेदवारको विषयमा पार्टीका पदाधिकारीहरुसँग छलफल गरे । छलफलमा सभापति देउवाले उम्मेदवारका आकांक्षी, निर्वाचन क्षेत्रमा पार्टीको अवस्थाका विषयमा पार्टी पदाधिकारी र सम्बन्धित प्रदेश र जिल्लाका नेताहरुसँग बृफिङ लिए । तर, उम्मेदवारको टुंगो गरेका छैनन् ।
सभापति देउवाले आफ्नै निवास बुढानिलकण्ठमा पार्टीका उपसभापतिद्धय पूर्णबहादुर खड्का र धनराज गुरुङ, दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, कोशीका सभापति उद्धव थापा र सुदूरपश्चिमका सभापति वीरबहादुर बलायरसँग सामुहिक छलफल गरेका छन् । छलफलमा कोशीका सभापति थापा र सुदूरपश्चिमका सभापति वीरबहादुर बलायरले पार्टीको गत चुनावको अवस्था, अन्य दलहरुको अवस्था, अन्य दलहरुको उम्मेदवार उनीहरुको प्रभावका विषयमा बृफिङ गरेका छन् ।
नेपाली कांग्रेसको सम्बन्धित पार्टी कमिटीले इलाम–२ र बझाङ १ का लागि उम्मेदवारहरुको सिफारिस गरिसकेको छ । कांग्रेसको क्षेत्रीय कार्यसमिति, प्रदेश प्रतिनिधि र महाधिवेशन प्रतिनिधिको संयुक्त बैठकले ६ जनाको नाम सिफारिस गरेको छ ।
जसमा भेषराज आचार्य, डम्बरबहादुर खड्का, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बु र शान्तिकला राई तामाङ रहेका छन् ।
आचार्य २०७० सालको संविधानसभा निर्वाचनमा एमाले नेता सुवासचन्द्र नेम्वाङसँग पराजित भएका थिए भने खड्का ४ मंसिर २०७९ को आमचुनावमा नेम्वाङसँगै पराजित भएका थिए ।
बझाङको उपनिर्वाचनका लागि जिल्ला कार्यसमितिले आकांक्षी १० जना उम्मेदवारको नाम सिफारिस गरेको छ ।
पृथ्वीबहादुरका छोरा अभिषेक सिंहसँगै सत्यराज भण्डारी, जगतप्रसाद जोशी, शान्ति बोहरा, नन्दकृष्ण जोशी, ध्रुवराज उपाध्याय, विष्णुकुमार सिंह, लोकेन्द्रबहादुर रोकाया, नारायण हमाल र अर्जुन स्याडाको नाम सिफारिस भएको छ ।
पार्टी कार्यालयका मुख्य सचिव कृष्ण पौडेलका अनुसार सभापति शेरबहादुर देउवाले आवश्यक छलफल गरिसकेका छन् । उनका अनुसार दुवै क्षेत्रमा छिट्टै उम्मेदवारको टुंगो लाग्नेछ ।
दिवाकर अधिकारी/मध्यान्ह
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले डेढ वर्षको अवधिमा तेस्रो पटक विश्वासको मत पाएका छन् । ११० सदस्यीय बागमती प्रदेश सभामा ५६ मत पाएर मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तेस्रो पटक सरकार जोगाएका छन् । हाम्रो नेपाली पार्टीको दुईमध्ये एक सिट लिएर टुप्लुक्क बहुमत पु¥याएका जम्कट्टेललाई सत्ता गठबन्धनभित्र थोरै बेमेल आउँदा नै संकट आइलाग्नेछ ।
सोमबार भएको मतदानमा जम्कट्टेलको पक्षमा ५६ जनाले मतदान गरे । उनलाई आफ्नो दल माओवादी केन्द्रका २१, नेकपा एमालेका २७, नेकपा एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका १ जना सांसदले विश्वासको मत दिए । नेपाली कांग्रेस र नेपाल मजदुर किसान पार्टीले विपक्षमा मतदान गरेको छ भने राप्रपा तटस्थ रहेको छ ।
२५ पुस २०७९ मा मुख्यमन्त्री नियुक्त भएका जम्कट्टेलले सोमबार तेस्रो पटक विश्वासको मत लिएका हुन् । पहिलो पटक ३ माघ २०७९ मा विश्वासको मत लिंदा उनलाई प्रदेशसभाका ६ दलको समर्थन थियो । त्यसबेला जम्कट्टेलले ११० मध्ये १०५ जना सांसदको समर्थन पाएका थिए । पहिलो पटक जम्कट्टेललाई नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का ३ जना सांसदले मत दिएका थिएनन् भने एक जना अनुपस्थित थिए ।
तर नेकपा एमाले सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि उनले दोस्रो पटक १० चैत २०७९ मा विश्वासको मत लिएका थिए । त्यसबेला जम्कट्टेललाई प्रदेशसभाका ६७ जनाले समर्थन गरेका थिए । मुख्यमन्त्री जम्कट्टेललाई उनको दल माओवादी केन्द्रसहित नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले मत दिएको थियो । विपक्षमा नेकपा एमाले, राप्रपा र नेपाल मजदुर किसान पार्टीका सांसदले मत दिएका थिए ।
सोमबार तेस्रो पटक विश्वासको मत पाएता पनि उनलाई जुनसुकै बेला संकट आउन सक्छन् । प्रत्येक पटक विश्वासको मत लिँदा उनको पक्षमा मत संख्या घट्दै गएको देखिन्छ ।
हेटौँडा : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन् । बागमती प्रदेशसभामा उहाँले ५६ जना सांसदको मत प्राप्त गर्दै विश्वासको प्राप्त गरेका हुन् ।
मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सभामा रहेका एक सय १० सदस्यमध्ये बहुमत सदस्य ५६ जनाको मत प्राप्त गरेका हुन् । एक सय आठ जना प्रदेशसभा सदस्य उपस्थित भएकामा उनलाई सत्ता गठबन्धन दल नेकपा (एमाले) का २७, नेकपा (माओवादी केन्द्र) को २१, नेकपा (एकीकृत समाजवादी) को सात र हाम्रो नेपाली पार्टीका एक गरी ५६ जनाले विश्वासको मत दिएका छन् ।
त्यस्तै, नेपाली कांग्रेसका ३७ जना सांसदले विश्वासको मतको विपक्षमा मतदान गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र नेपाल मजदुर किसान पार्टी तटस्थ बसेको छ । राप्रपा नेपालको सभामुखबाहेक १२ र नेमकिपाको तीन मत रहेको छ । प्रदेशसभामा हाम्रो नेपाली पार्टीका एक सदस्य अनुपस्थित भएका छन् ।
प्रचण्ड खत्री/मध्यान्ह
रुकुम पश्चिम : नेकपा एमाले रुकुम पश्चिमको अध्यक्षमा नन्दराम देवकोटा निर्वाचित भएका छन् । दुई दिन चलेको एमाले रुकुम पश्चिमको ९औं जिल्ला अधिवेशनले देवकोटालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
अधिवेशनबाट उपाध्यक्षमा मनवीर घर्ती चयन भएका छन् । त्यस्तै सचिवमा शसिराम नेपाली, उपसचिवमा पुरुषबाट तिलक बस्नेत र महिलाबाट व्युझना पुन देवकोटा सर्वसम्मत चयन भएका छन् । अधिवेशनले ६९ सदस्यीय जिल्ला कमिटी बनाएको छ ।
समावेशीताबाट नयाँ कार्यसमितिले महिलालाई मनोनीत गर्ने निर्णय पनि भएको नवनिर्वाचित जिल्ला कमिटी अध्यक्ष देवकोटाले जानकारी दिए ।
काठमाडौं : नागरिक उन्मुक्ति पार्टीका नेताले पार्टीका संस्थापक रेशमलाल चौधरीले आफूहरुलाई ज्यान मार्ने धम्की दिएको आरोप लगाएका छन् ।
नाउपाका संस्थापक केन्द्रीय सदस्य रमेश बिकले काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गरेर आफूहरूलाई रेशम चौधरीले आइतबार पार्टी कार्यालयमा भएको छलफलमै हत्या हुन सक्ने धम्की दिएको बताए ।
उनले सोमबार केन्द्रीय समिति बैठक शुरु हुनुअघि अनौपचारिक छलफलमा प्रधानमन्त्री भेट्न बालुवाटार गए पिट्ने बताएको दाबी गरे ।
सोमबार अनामनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा संस्थापक केन्द्रीय सदस्यहरुको बैठक शुरु हुनुअघि आफूमाथि रेशम चौधरीसँगै आएका व्यक्तिहरुले कुटपिट गरेकोसमेत बिकले बताए ।
रेशम चौधरीले सुदूरपश्चिम सरकार ढल्यो भने चार जनाको हत्या हुनसक्ने चेतावनी दिएको उनले बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies