सल्लेरी- विश्वको सर्वोच्च शिखर सगरमाथासहितका हिमाल सफाइका लागि नेपाली सेनाको टोली सोलुखुम्बुको नाम्चेबाट अघि बढेको छ । सगरमाथा, ल्होत्से तथा नुप्त्से हिमाल सफाइका लागि सैनिकसहितको सफा हिमाल अभियान–२०२४ को टोली आज नाम्चेबाट सगरमाथा आधार शिविरतर्फ प्रस्थान गरेको हो ।
बाह्र जना नेपाली सेना र एक जना शेर्पा सरदारसहित १३ जनाको टोलीमध्ये दुई जना भने आपतकालिन जनशक्तिका लागि नाम्चेमै रहने रणशुर गुल्म नाम्चेका प्रमुख सेनानी प्रचण्ड बिक्रम भारतीले जानकारी दिए । ‘दुई जना आपतकालिन उद्धार तथा समस्याका लागि नाम्चे ब्यारेकमै तयारी अवस्थामा छन्, बाँकी ११ जनालाई नाम्चे ब्यारेकले आज एक कार्यक्रमका बीच बिदाइ ग¥यौँ, यो टोली सगरमाथा आधारशिविरतर्फ अघि बढेको हो’, उनले भने । यही वैशाख २ गते सेनाको हेलिकप्टरमार्फत स्याङ्बोचे ओर्लिएको उक्त टोली दुई दिन नाम्चेको बसाइपछि आज त्यहाँबाट प्रस्थान गरेको हो ।
सेनानी आदित्य कार्कीको नेतृत्वमा रहेको उक्त टोलीले अभियानलाई प्रभावकारी बनाउन स्थानीय जनसमुदायहरूसँग अन्तरसंवाद गर्दै करिब सात दिनको पदयात्रा पश्चात् सगरमाथा आधार शिविर पुग्ने सेनानी भारतीले बताए । पदयात्राको क्रममा सचेतना अभिवृद्धि तथा अभियानको प्रचारप्रसारका लागि पदमार्गको सरसफाइ समेत गरिनेछ । एन एन्डेवर टु सेभ द हिमालयज भन्ने मूल विषयका साथ सञ्चालन हुन गइरहेको यस अभियानअन्तर्गत सगरमाथा, ल्होत्से तथा नुप्त्से हिमालका विभिन्न क्याम्पहरूबाट करिब १० टन फोहोर सङ्कलनको लक्ष्य लिइएको नेपाली सेनाले जनाएको छ । यसअघि गत बिहीबार जङ्गी अड्डामा आयोजित एक समारोहमा प्रधान सेनापति प्रभुराम शर्माले अभियानका नेतृत्वकर्ता सेनानी आदित्य कार्कीलाई झण्डा हस्तान्तरण गरी अभियानको थालनी गरेका थिए ।
नेपाल सरकारको राष्ट्रिय कार्यक्रम अन्तर्गत नेपाली सेनाको अगुवाइमा सञ्चालन हुने सफा हिमाल अभियान सफल बनाउन वन तथा वातावरण मन्त्रालय, खुम्बु पासाङ ल्हामु गाउँपालिका, नेपाल पर्वतारोहण सङ्घ, हिमालयन उद्धार सङ्घलगायतका सङ्घ संस्थाहरूको प्राविधिक सहयोग रहेको छ । सङ्कलित फोहरमध्ये सड्ने फोहरहरू स्थानीय निकायहरूलाई र नसड्ने फोहरहरू रिसाइकल गर्ने संस्थालाई व्यवस्थापनको लागि हस्तान्तरण गरी समापन गर्ने योजना छ । अभियानले विश्वव्यापी चुनौतीका रूपमा रहेको वातावरणीय प्रदूषण तथा तापमान परिवर्तनको असरलाई केही हदसम्म न्यून गर्न सहयोग पुग्न नेपाली सेनाकोे विश्वास छ ।
काठमाडौं-परम्परागत विश्व कविता लेखक सङ्गठन ९टिपिडब्ल्युएडब्ल्यु०को चौथो अन्तर्राष्ट्रिय कवि सम्मेलन नेपालमा आयोजना गरिएको छ । हिजो यहाँ सम्पन्न सम्मेलनमा नेपाललगायत दक्षिण कोरिया, चीन, बेलायत र अमेरिकाका कविहरूको सहभागिता थियो ।
उक्त सम्मेलनका अवसरमा नेपालका तीनजना कविहरू क्रमशः भुवनहरि सिग्देल, सीताराम अधिकारी र प्रह्लाद पोख्रेललाई ‘येउ सुङ ग्यो’बाट सम्मान गरिएको थियो । सम्मेलन टिपिडब्ल्युएडब्ल्यु सभापति कोरियाली कवि किम बोङ गुन र नेपाल शाखाका सभापति प्राध्यापक रामकुमार पाँडेको संयुक्त अध्यक्षतामा भएको थियो । सम्मेलनमा विभिन्न देशका परम्परागत कविताबारे कार्यपत्र प्रस्तुतिका साथै हाइकु र छन्दोबद्ध संरचनाका कविता पनि वाचन गरिएका थिए ।
मलेखु - धादिङको नीलकण्ठ नगरपालिका–५ खाल्टेमा आइतबार मिनिट्रक दुर्घनामा परी घाइते भएका बालकको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका १२ वर्षे प्रितम मजकोटीको काठमाडौँस्थित केएमसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । यससँगै आइतबार बिहान बा ३ ख ८९४७ नम्बरको मिनिट्रक दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । नीलकण्ठ नगरपालिका–५ खाल्टेमा भएको मिनिट्रक दुर्घटनामा परी पाल्पाली टोलका ११ वर्षीय बालक सन्तोष रम्तेलको घटनास्थलमै र सन्तोषका बुबा रामबहादुर रम्तेलको धादिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
धादिङ अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ लगिएका छ जना घाइतेको भने काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार जारी छ । दुर्घटनाकै कारण मृत्यु भएका बालक सन्तोष र प्रितम दुवैजना स्थानीय पतेनी आधारभूत विद्यालयका विद्यार्थी हुन् । विद्यालय बिदा भएको बेला बारीमा काम गर्न हिँडेका अभिभावकसँग खेल्न गएका बालकहरुको मृत्युले गाउँ नै शोकमा परेको छ ।
साँघुरो ओरालो घुम्ती कच्ची सडकमा ब्रेक फेल भएर दुर्घटनामा परेको मिनिट्रकमा एकै परिवारका पाँचसहित नौ जना सवार थिए । घाइतेमध्ये अहिले ३५ वर्षीय हिरा रम्तेल, ४० वर्षीय बिष्णु रम्तेल, ११ वर्षीय सुजन रम्तेल, १४ वर्षीय सुजित मजकोटी, ११ वर्षीय बिमल मजकोटी र १३ वर्षीय कृष्ण रम्तेलको ट्रमा सेन्टर काठमाडौँमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।
काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आफू र आफ्नो पार्टीका तर्फबाट विश्वविद्यालयहरूमा कुनै हस्तक्षेप नहुने बताएकी छन् । विश्वविद्यालयहरूमा प्राज्ञिकता र योग्यताक्रमअनुसार नियुक्ति–क्रमलाई निरन्तरता दिन शिक्षाविद् केदारभक्त माथेमासहित विज्ञहरूको सुझाव आज सिंहदरबारमा ग्रहण गर्दै मन्त्री श्रेष्ठले आफू विश्वविद्यालयहरूको पदेन सहकुलपति भए पनि कुनै पनि उपकुलपति वा पदाधिकारीलाई आफू वा आफ्नो पार्टीका मान्छेलाई नियुक्ति दिनु वा यस्तो काम गरिदिनु भनेर नभन्ने बताएकी हुन् ।
शिक्षाविद्हरूले त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्ष र रजिष्ट्रारमा दलीय भागबण्डाका आधारमा नभई खुला प्रतिस्पर्धाका आधारमा नियुक्त गराएकामा मन्त्री श्रेष्ठलाई धन्यवाद दिएकी थिइन् । मन्त्री श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको सेवा आयोगका सदस्यहरुको नियुक्तिमा पनि प्रतिस्पर्धाका आधारमा नियुक्ति गरिने र उक्त छनोट प्रक्रियामा आफू संलग्न नहुने स्पष्ट गरिन् ।
उनले विद्यमान कानुनले कर्मचारी र शिक्षकलाई राजनीतिक दलको सदस्य बस्न नमिल्ने भएकाले बसेको पाइएमा कारबाही गर्न आफू कटिबद्ध रहेको अवगत गराउँदै शिक्षक बन्न ‘बिएड’ पढेकै हुनुपर्ने बाध्यतालाई हटाउनेलगायत शिक्षक पदपूर्तिको मापदण्डसम्बन्धी सुझाव दिनका लागि कार्यदल गठन गरिएको जानकारी दिइन् ।
काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–५ नागबेलीस्थित बहुमूल्य बोधिचित्त (बुद्धचित्त) को रुख काटेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्थानीय प्रभात तामाङ, श्यामकृष्ण मैनाली, मानबहादुर तामाङ र दुर्गालाल तामाङ रहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । उक्त समूहले गत बिहीबार राति विस्फोटक पदार्थसहित नागबेलीस्थित ठाकुरानी तामाङको बगैँचामा रहेको बहुमूल्य बोधिचित्तको एउटा रुख काटेको थियो ।
फूल फुल्दै गरेको बोधिचित्तको रुख काटिएको थियो । उक्त रुखमा फल्ने बोधिचित्त दाना यस वर्ष रु तीन करोडमा बिक्री गर्न बैना गरिएको तामाङले बताए । उनका अनुसार बिहीबार राति करिब १ बजे हातहतियारसहित आएका झण्डै २० जनाको समूहले डरत्रास देखाउँदै बोधिचित्तको रुख काटेको थियो ।
मैनाली र दुर्गालाललाई काभ्रेपलाञ्चोकको बनेपाबाट आइतबार पक्राउ गरेको हो भने प्रभातलाई शनिबार काठमाडौंको वनस्थलीबाट र मानबहादुरलाई रुख काटेकै दिन पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए । प्रभात र मानबहादुरको म्याद थप गरी अनुसन्धान थालिएको छ । अन्य दुई जनाको म्याद थप गरी थप अनुसन्धान थालिने छ ।
प्रहरीका अनुसार रुखधनी तामाङको रुख काटेपछि घरका ढोका र आँगनमा चार सकेट बम राखिएको थियो । उक्त बमलाई धुलिखेलस्थित नेपाली सेनाको कालीजङ्ग गणले निस्क्रिय पारेको थियो । घटनामा संलग्न भएका अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यसैबीच पीडित ठाकुरानीले पक्राउ परेका चारसहित आठ जनाविरुद्ध आइतबार जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गराएका छन् । उक्त रुखमा फलेको फल चार वर्षअघि पनि लुटिएको थियो । रुख काट्ने समूहले नै उक्त समयमा फल लुटेको हुनसक्ने प्रहरीको अनुमान छ । बोधिचित्त मालाको तामाङ समुदाय र विशेष गरी तिब्बती तथा चिनियाँ समाजमा धार्मिक एवं सांस्कृतिक महत्व छ ।
काठमाडौं - आज आइतबारदेखि सरकारले सातवटै प्रदेशबाट भर्ना अभियान सुरु गरेको छ । वैशाख २ गतेदेखि २१ गतेसम्म ३० वटा एफएम रेडियोबाट भर्नासम्बन्धी सन्देश प्रसारण हुदैछन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको संयोजनमा अभियान सुरु भएको हो । अभियान अन्तर्गत विद्यालयहरु र स्थानीय तहको शिक्षा शाखाले वैशाख ५ गते घरदैलो कार्यक्रम गर्ने, वैशाख १० गते विद्यार्थीलाई पोशाक र छात्रवृत्ति वितरण गर्ने, वैशाख ९ गते भर्ना हुन बाँकी बालबालिकाको विवरण तयार गर्ने र वैशाख १० गते नै भर्ना भएका विद्यार्थीहरुको विवरण स्थानीय तहमा पेश गर्ने कार्ययोजना छ ।
स्थानीय तहले विद्यार्थी भर्ना अभियानको समष्टिगत प्रतिवेदन शिक्षा विकास तथा समन्वय एकाइमा र एकाइले जेठ १५ गतेभित्र शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा पेश गर्नुपर्ने छ । यसैगरी निजी लगानीका विद्यालय संस्थागत विद्यालयलाई छात्रवृत्तिको कोटा कार्यान्वयनसहित विद्यार्थी भर्ना गर्न भनिएको छ ।शिक्षा पाउनु हरेक बालबालिकाको संविधान प्रदत्त एवं जन्मसिद्ध मौलिक अधिकार भएकाले सोको कार्यान्वयनका लागि सरकारले हरेक वर्ष वैशाखमा विद्यालय भर्ना अभियान सन्चालन गर्दै आएको छ ।
कैलाली - कैलालीमा एकै घरका दिदीबहिनी मृत भेटिएका छन् । घोडाघोडी नगरपालिका १० कने थेवरमन कलेशु चौधरीकी दुई छोरी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी पदमबहादुर बिष्टले जानकारी दिए ।
उनका अनुसार २७ वर्षीया श्रीमालु चौधरी र २२ वर्षीया इन्द्रा चौधरी घरको माथिल्लो तलाको धुरीमा झुन्डिएको अवस्थामा मंगलबार बिहान मृत भेटिएका हुन् ।
दुवै जना धुरीमा झुन्डिएको अवस्थामा भेटिए पनि यसबारे थप केही नखुलेको एसपी बिष्टले बताए । प्रारभ्मिक अनुसन्धानका क्रममा जेठी छोरीले केही वर्षदेखि मुटु रोग र कान्छी छोरीले डिप्रेशनको औषध खाइरहेको पाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको एसपी बिष्टले बताए ।
शहबाज खान/मध्यान्ह
कपिलवस्तु : कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ९ को दश नम्बरमा टिप्परको ठक्करबाट एक जनाको ज्यान गएको छ । ना ७ ख ९०२३ नम्बरको टिप्परको ठक्करवाट सोही गाडिका सहचालकको ज्यान गएको हो । मृत्यु हुनेमा विजयनगर गाँउपालिका वडा नं. २ जर्लैयाका १८ वर्षीय इरफान भाट मुस्लमान रहेको इलाका प्रहरी कार्यालय सुन्दरीडाँडाले जनाएको छ ।
मृतक मुस्लमानको शव पोष्टमार्टमका लागि शिवराज आधारभूत अस्पताल चन्द्रौटामा राखिएको छ । ठक्कर दिने टिप्पर प्रहरी नियन्त्रणमा रहेको र चालक फरार रहेको प्रहरीले बताएको छ । घटनाको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सुन्दरीडाँडाले जनाएको छ ।
पिन्टु यादव/मध्यान्ह
सप्तरी : समाज अहिलेसम्म अन्धविश्वासबाट मुक्त हुन सकेको छैन । धामीझाँक्री, टुनामुना, तन्त्रमन्त्र, झारफुक र बोक्सा बोक्सीजस्ता अन्धविश्वासले अमानवीय क्रियाकलाप भइरहेका घटनाहरु सार्वजनिक भइरहेका छन् । यसैबीच सप्तरीमा एक परिवार अन्धविश्वासको शिकार भएका छन् ।
जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका–७ मंसापुर बस्ने ६० वर्षीया श्यामादेवी मण्डललाई बोक्सीको लाञ्छना लागउँदै अपमानजनक व्यवहारका साथै कुटपिट भएको छ । सोही ठाउँ बस्ने जिबछ मण्डलका छोरा सन्तोष मण्डललगायत उनका पारिवारका सदस्यहरुले श्यामादेवीमाथि बोक्सीको लाञ्छना लगाउँदै उनीसहित उनका ३० वर्षीय छोरा डम्बरराज मण्डलमाथि हातपात र गाली बेइज्जती गरेका हुन् ।
हातपात गर्नेहरुको मुक्का प्रहारबाट घाइते आमा र छोराको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको छ । मिथिला क्षेत्रमा मनाइने जितीया पर्वको बेला मेला घुम्न गएकी आरोपित जिबछकी बुहारीलाई बोक्सी लगाइदिएको आरोप लगाउँदै शनिबार बिहान आफूहरुमाथि मुक्कामुक्की र गाली बेइज्जती भएको पीडित श्यामादेवीले बताइन् ।
जितिया पर्वदेखि नै बोक्सी लगाएको आरोप लगाएर आमालाई राखी पटक–पटक प्रताडित र अपमानित गरिरहेको भएता पनि शनिबार उनीहरुले भौतिकरुपमै आक्रमण गरेको डम्बरराजले बताए । किराना समान खरिद गर्न पसल जाँदै गरेको बेलामा आरोपितहरुले घेरा हाली आमाको बारेमा अपमानजनक शब्दहरु प्रयोग गरेपछि प्रतिवाद गर्दा उनीहरुमाथि हातपात भएको बताइएको छ ।
करिब दश वर्षदेखि आमा श्यामादेवीमाथि बोक्सी भनि छिमेकीहरुले आरोप लगाउँदै आएको डम्बरराजले गुनासो गरेका छन् । यस घटनाबारे स्थानीयहरुसँग बुझ्दा हातपात र गाली बेइज्जतीमात्रै भएको बताएका छन् । स्थानीयहरुले बोक्सीको आरोप लगाइएको भन्ने आरोपमा सत्यता नरहेको बताएका छन् । तर डम्बरराजले बोक्सीको आरोपमा आमासहित आफूलाई हातपात र अपमानजनक व्यवहार गर्दै मुक्का प्रहार गरेको भिडियो सुरक्षित राखेको बताएका छन् ।
उक्त घटनालगत्तै प्रहरी चौकी बर्साइनमा मौखिक जानकारी दिएको उनले बताए । त्यस्तै शनिबार जिल्ला प्रहरी कार्यालय राजविराजमा घाउँ जाँच फारमका लागि निवेदन दिएको पनि उनले बताए । उक्त निवेदनमा भने बोक्सीको आरोप लगाइएको उल्लेख गरिएको छैन ।
जिल्ला प्रहरी कार्यालय राजविराजका प्रहरी निरीक्षक प्रमोद खड्काका अनुसार प्रहरीमा बोक्सी आरोपमा हातपात भनेर सूचना नआएको बताएका छन् । उनले दुई पक्षबीच हातपात र झैझगडा भनेर पीडितको निवेदन आएको बताए ।
नेपालमा बोक्सीको आरोपसम्बन्धी कसुर तथा सजायका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनमा कुनै व्यक्तिलाई बोक्सा वा बोक्सीको आरोप लगाउने, आरोपित व्यक्तिलाई क्रुर, अमानवीय वा अपमानजनक व्यवहार गर्ने वा कुनै किसिमले यातना दिनेजस्ता अमानवीय कार्यलाई दण्डनीय मानेको छ । त्यस्तो आरोपमा कसुर ठहरिएका व्यक्तिलाई कसुरको मात्रा हेरी ६ महिनादेखी पाँच वर्षसम्म कैद सजाय हुने व्यवस्था गरिएको छ भने पाँच हजारदेखि एक लाखसम्म जरिवाना तिराउने व्यवस्था रहेको छ ।
सत्येन्द्र प्रताप सिंह/मध्यान्ह
रौतहट : रौतहटको गुजरा नगरपालिकामा ट्याक्टरको ठक्करबाट १३ वर्षीय बालकको मृत्यु भएको छ । धन्सरबाट जंगलसैयातर्फ जाँदै गरेको ना ७ त ७५७ नम्बरको ट्याक्टरले ठक्कर दिँदा गुजरा नगरपालिका ४ मुस्लिम टोलस्थित मामाघरमा बस्दै आएका शेष हसमुल्लाका १३ वर्षीय छोरा शेष सहनवाजको मृत्यु भएको हो ।
साइकल चढेर बाटो काट्दै गर्दा ट्याक्टरले ती बालकलाई ठक्कर दिएको थियो । टाउकोमा चोट लागेर गम्भीर घाइते उनलाई उपचारका लागि चन्द्रपुरतर्फ पठाइएकोमा बाटोमै मृत्यु भएको मृतकका बाबु हसमुल्लाहले जानकारी दिए । दुर्घटनापछि आक्रोशित स्थानीयहरुले जंगलसैया धन्सर सडक अवरुद्ध पारेका छन् ।
ट्याक्टरसहित चालकलाई नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय लक्ष्मीनीयामा राखिएको सशस्त्र प्रहरी बल नेपाल ११ नम्वर गणका एसपी विक्रम हुमागाईले जानकारी दिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies