दोहा, कतार : उपचारका क्रममा कतारमा निधन भएका पर्वतका दीपक परियारको परिवारलाई पर्वत समाज कतारले आर्थिक सहयोग हस्तान्तरण गरेको छ । जिल्लाको फलेवास नगरपालिका–५ खानी गाउँ निवासी परियारको उपचारको क्रममा गत फागुन ८ गते निधन भएको थियो ।
समाजको आजीवन सदस्यसमेत रहेका परियारको परिवारलाई नगर प्रमुख गंगाधर तिवारी र उपप्रमुख शोभाकुमारी क्षत्रीको उपस्थितिमा समाज कतारका संरक्षक एवं अन्तर्राष्ट्रिय पर्वत समाजका कार्यसमिति सदस्य नन्दलाल विश्वकर्मा (अजय)ले सोमबार एक कार्यक्रमका बीच सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
पर्वत समाज कतारको तर्फबाट संकलित ५४ हजार ८ सय ३४ रुपैयाँ र अन्तर्राष्ट्रिय पर्वत समाजको तर्फबाट प्राप्त ५० हजार गरी एकमुष्ट १ लाख ४ हजार ८ सय ३४ रुपैयाँ वडा अध्यक्ष नारायण लामिछानेलाई हस्तान्तरण गरिएको समाजले जनाएको छ ।
स्वर्गीय परियारका छोरीहरू नाबालिक रहेको हुँदा सहयोग रकम संयुक्त बैंक खातामा जम्मा गरिने भएको छ । समाजका अध्यक्ष सन्तोष क्षत्रीले समाजले आन्तरिकरूपमा सञ्चालन गरेको अभियानमा सहभागी व्यक्ति, अन्तर्राष्ट्रिय पर्वत समाज, गैरआवासीय नेपाल संघ, कतारलाई धन्यवाद ज्ञापन गरेका छन् ।
त्यसैगरी समाजले मोदी गाउँपालिका–१ भुकका आफ्ना आजीवन सदस्य तथा भलिबल खेलाडी सौगात सुनारका बुबा लडेर घाइते भएकाले उपचारमा सहयोग होस् भन्ने उद्देश्यले आन्तरिकरूपमा संकलन गरिएको ३५ हजार २ सय ७६ रुपैयाँ हस्तान्तरण गरेको छ ।