काठमाडौं : अतिवादी संगठन जैश–ए–मोहम्मद संगठनका प्रमुख मसूद अजहरको परिवारका १० सदस्य र ४ नजिकका सहयोगी मारिएका छन् ।
भारतले पाकिस्तानमाथि गरेको आक्रमणमा जैश–ए–मोहम्मद संगठनका प्रमुख अजहरको परिवारका १० सदस्य र ४ नजिकका सहयोगी मारिएको जैश–ए–मोहम्मद (जेईएम)ले स्वीकार गरेको छ ।
जैश–ए–मोहम्मद (जेईएम)ले बुधबार एक विज्ञप्ति जारी गर्दै मसूद अजहरकी दिदी र भिनाजु, भतिजा, भतिजाकी श्रीमती, भतिजी र परिवारका ५ छोराछोरीको मृत्यु भएको जनाएको छ ।
जैश–ए–मोहम्मदले मसूद अजहरका ३ नजिकका सहयोगी र ती सहयोगीमध्ये एककी आमा आक्रमणमा मारिएको पनि उल्लेख गरेको छ ।
पाकिस्तानको बहावलपुरमा रहेको सुभान अल्लाह मस्जिदमा भारतले गरेको आक्रमणमा उनीहरूको मृत्यु भएको छ ।
फेब्रुअरी २०१९ मा जैश–ए–मोहम्मदले जम्मू–कश्मीरमा आत्मघाती बम विस्फोट गराएको थियो । जसमा ४० सैनिक मारिएको थियो ।
भारतले अप्रिल २२ मा पहलगाममा भएको आतंकवादी आक्रमण पछि ‘अपरेशन सिन्दूर’ सुरु गरेको छ ।
यस अपरेशनमा ९ आतंकवादी शिविरहरूलाई लक्षित गरी पूर्ण रूपमा ध्वस्त पारिएको भारतको दाबी छ ।
पाकिस्तानले भारतीय हवाई आक्रमणमा ३६ जना सर्वसाधारण मारिएको र ७६ जना घाइते भएको बताएको छ । भारतले नियन्त्रण रेखामा सीमापार गोलाबारी हुँदा १० जना भारतीय सर्वसाधारण पनि मारिएको र ३२ जना घाइते भएको बताएको छ ।