म्याग्दी : मालिका गाउँपालिका–४ च्युरीबोटका एक वृद्धा र उनका परिवारले चौरासी पूजामा हुने खर्च कटाएर विद्यालयलाई रु चार लाख सहयोग गरेका छन् ।
च्युरीबोट घर भइ हाल बेलायत बसोबास गर्ने घनमाया पुन र उनका छोराहरुले मंगलबार चौरासी वर्ष पुगेको अवसरमा सिद्धार्थ माविलाई रकम हस्तान्तरण गरेका हुन् । घनमायाले आफ्नो नामबाट रु एक लाख, दिवङ्गत श्रीमान टेकबहादुर पुनको नाममा रु एक लाख र स्व छोरी चित्रा घर्तीको स्मृतिमा रु पचास हजार नगद हस्तान्तरण गरेको प्रअ ललितबहादुर घर्तीमगरले बताए ।
घनमायाका छोरा टार्जन र दुर्गा एवम् छोरी रुपी पुनले थप रु पचास/पचास हजार नगद उपलब्ध गराए । घनमाया, उनका छोराछोरी र बुहारीले वडाध्यक्ष भेजेन्द्रमान पुन, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तमबहादुर पुन, घर्ती, अक्षयकोषका अध्यक्ष भिजेन्द्रमान पुनलाई नगद हस्तान्तरण गरेका थिए ।
घनमायाका जेठा छोरा/बुहारी दलमान र माया पुनले गत वर्ष रु पचास हजार सहयोग गरेका थिए । उनका भान्जा खिमबहादुर बुढाले विद्यालयलाई रु दश हजार सहयोग गरेका थिए । सो रकम विद्यालयमा सिद्धार्थ अक्षयकोषमा जम्मा गरिने प्रअ घर्तीले बताए ।
चौरासी वर्ष पूरा भएको अवसरमा घनमायाले विद्यालयलाई सहयोग गरेर फजुल खर्च नियन्त्रण र सामाजिक क्षेत्रमा सकारात्मक सन्देश दिएको वडाअध्यक्ष पुनले बताए । सहयोगदाता पुनले विद्यालयका शिक्षक, विद्यार्थी र स्थानीयलाई ८४ वर्ष पुगेको अवसरमा भोजनसमेत गराएका थिए ।
विद्यालय, च्युरीबोट ख्याली सोरठी, स्थानीय आमा समुह, क्लबलगायत संघसंस्थाहरुले घनमाया र उनका परिवारलाई सम्मान गरेका थिए । विसं २०५५ मा स्थापित अक्षयकोषको रकमबाट विद्यालयमा अध्यापनरत निजी स्रोतका शिक्षकहरुलाई तलब र गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरणका लागि खर्च गरिँदै आएको शिक्षक छकप्रसाद घर्तीमगरले बताए । कक्षा १० सम्म पढाइ हुने विद्यालयमा एक सय २७ विद्यार्थी छन् ।
अक्षयकोषमा देशविदेशमा रहेका च्युरीबोटबासीबाट अहिलेसम्म रु २४ लाख १४ हजार छ सय ४३ संकलन भएको छ । सोही अवसरमा गत वर्षको एसइई परीक्षामा विद्यालयबाट सहभागी भई सो गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमध्ये उत्कृष्ट अंक ल्याउने विद्यार्थी बोमबहादुर रोकालाई विद्यालयले नगदसहित पुरस्कृत गरेको छ ।
बागलुङः हिजोआज विवाह, व्रतबन्ध र सांस्कृतिक कार्यक्रममा पञ्चेबाजा कम गुञ्जिन्छन् । पश्चिमा संस्कृतिको नक्कल गर्नुका साथै आधुनिक प्रविधिको प्रयोग बढ्न थालेपछि मौलिक संस्कृति हराउँदै गएका छन् । मौलिक संस्कृतिको संरक्षण र प्रवद्र्धनमा सरकारी निकायबाट पहल हुनुपर्ने बुढापाका बताउँछन् ।
पप्छिल्लो एक दशकयता पञ्जेबाजाको सट्टा ठूलाठूला साउण्ड सिस्टममा ‘रेकर्डेड’ गीत बज्ने गर्छन् । मौलिक संस्कृतिका रुपमा रहेको पञ्चेबाजा दलित समुदायअन्तर्गतका दमाइँ जातिले बजाउने प्रचलन रहेकामा पछिल्लो समय मगर र गुरुङ समुदायका युवाले पनि बजाउन थालेका स्थानीय बताउँछन् ।
बुढापाकाले नसक्ने र युवा पुस्ताले चासो नदिँदा पञ्चेबाजा लोप हुन थालेका स्थानीय भक्तबहादुर दर्जीले बताए । उनले बागलुङ जिल्ला पञ्चेबाजाका लागि चर्चित मानिए पनि पहिलेको जस्तो अवस्था अहिले नरहेको बताए । सहर बजारमा एक दशक अगाडिदेखिनै बाजाको सट्टा साउण्ड सिस्टम बजाउने गरिएको उनको भनाइ थियो ।
‘अहिले दूर दराजका गाउँमा पनि रेकर्डेड गीत बजाउने प्रचलन बढेको छ । विवाहका लागि पञ्चेबाजा नभइ नहुने माध्यम थियो । अझ पश्चिम बागलुङको केही ठाउँमा मृत्यु पश्चात् पनि बाजा बजाउने चलन थियो’, दर्जीले भने, ‘अचेल दहसंस्कारका लागि शवलाई मसानघाट लैजाँदा बाजा बजाउने चलन पनि हराउँदै गएको छ ।’ उनका अनुसार एकदशक पहिले जिल्लाको निसीखोला गाउँपालिका क्षेत्रमा दर्जन बढी बाजा बजाउनेको समूह रहेकामा अहिले हराउँदै गएका छन् ।
अहिलेका युवा शक्ति विदेशीन थालेपछि समूह बनाउन सङ्ख्या नपुग्दा बाजा बजाउन छोडिएको दर्जीले बताए । गाउँमा भएका युवाले पनि चासो नदिँदा पञ्चेबाजा हराउँदै गएको उनले गुनासो गरे । छ वर्षको उमेरदेखि बाजा बजाउन थालेको सुनाउँदै उनले पछिल्लो तीन वर्षदेखि भने बजाउन छोडेको बताए ।
पञ्चेबाजाको एक समूहका लागि न्यूनतम आठ जना चाहिने भन्दै गाउँमा त्यो सङ्ख्यामा युवा नभएको दर्जीको भनाइ छ । अहिलेका युवाले बाजा बजाउन लजाउने र बजाइ हाले पनि ताल मिलाउन नसक्ने उनले बताए । आफूले बाजा बजाएरै परिवार पालेको भन्दै अहिले बाजाको सट्टा आधुनिक विद्युतीय बाजाको चलन बढे्को उनले बताए ।
‘बाजा जोकोहीले बजाउन जान्दैनन् । सबै जातिमा बाजा बजाउनका लागि कला हुँदैन । हामीले सानैदेखि बाउबाजेले बजाएको देखेर बजाएका हौँ । अहिलेका छोरा नातिले हामीलाई पनि नबजाउ भन्छन् । पहिले बाजा बजाउनेलाई हेपाइको दृष्टिकोणले हेर्थे’, दर्जीले भने, ‘अहिले हेराइ परिवर्तन भएको छ । अन्य जातिकाले पनि पञ्जेबाजा बजाउन थालेका छन् ।’
पहिले बाजा बजाउनेलाई हेपाइको दृष्टिकोणले हेरिने भए पनि अहिले आधुनिकतासँगै शिक्षाका कारण मानिसको हेराइँमा परिवर्तन आएको स्थानीय भीमबहादुर नेपालीले बताए । उनले यहीँ पेसाबाट जीविकोपार्जन भएको भन्दै अहिलेसम्म गाउँमा बुढापाकाले नै पञ्चेबाजा संरक्षण गर्दै आएको बताए ।
सानैदेखि बाजा बनाउने, बजाउने र नाचगानमा बढी चासो भएकाले बुढेसकालमा पनि नछोडेको नेपालीको भनाइ थियो । पहिलेपहिले गाउँका साथै सहरबजारमा पनि बाजा बजाउन जाने गरेको अनुभव सुनाउँदै उनले आधुनिक प्रविधिको विकासले पञ्चेबाजालाई विस्थापित गर्न थालेकामा चिन्ता व्यक्त गरे । अब पञ्चेबाजाको संरक्षण गर्न नसके एक दशकपछि गाउँ÷सहर कतै पनि पञ्चेबाजा नबज्ने स्थिति आउने उनको भनाइ थियो ।
‘वैशाख, मङ्सिर र माघमा धेरै विवाह हुने गर्थे । विवाह हुने सिजनमा कहिल्यै खाली बस्नु पर्दैनथ्यो । अहिले विवाह गर्ने चलन पनि फेरियो । पहिलेको जस्तो भातखुवाई, छैटी, छेवारलगायत परम्परामा बाजा बज्न छोडेका छन्’, नेपालीले भने, ‘त्यहीँ भएर बाजा बजाउने काम पनि कम भयो । अहिले महिनामा चार दिन पनि बाजा बजाउनु पर्दैन । हरेक दिन बाजा बजाउने समूहमा सदस्य घटिरहेका छन् ।’ उनले सिजनमा एकै महिनाको कमाइ पचास हजारभन्दा बढी हुने गरेको भएको सुनाए । बढ्दो पाश्चात्य संस्कृतिलाई नियन्त्रण गर्न नसके मौलिकता हराउने र पञ्चेबाजा पनि लोप हुने नेपालीको भनाइ थियो ।
जिल्लामा पञ्चेबाजा हराउँदै जान थालेपछि केही पालिकाले संरक्षणमा चासो दिएका छन् । बाजा बजाउने दलित समुदायकालाई प्रोत्साहनस्वरुप बागलुङ र गलकोट नगरपालिकाले पञ्चेबाजा, सनाइँ, झ्यालीलगायतका आवश्यक सामग्री सहयोग गरिरहेका छन् ।
कला संस्कृतिको संरक्षण गर्ने जिम्मा आफूहरुको भएको भन्दै बेलाबेला प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेको गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले बताए । बाजा समूहलाई नगरपालिकाले बाजासहित, कर्नाल र पोसाक उपलब्ध गराएको उनले बताए । स्थानीयस्तरमा हुने हरेक कार्यक्रममा मौलिक संस्कृतिसँग जोडिएका बाजा बजाउनुपर्ने गरी नीतिसमेत बनाउन थालिएको उनको भनाइ थियो । रासस
म्याग्दीः मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेमा रहेको नालन्दा वौद्ध विद्यालयले वाफबाट खाना पकाउने (स्टिम) प्रविधिको प्रयोग गरेको छ । विद्यालयको छात्रावासमा प्रयोग गरिएको स्टिम प्रविधि ग्यासको तुलनामा सस्तो, छिटो र दाउराको खपत घटाउन प्रभावकारी बनेको हो ।
विद्यालयका प्रधानाध्यापक अवन तुलाचनले खाना पकाउने यस्तो प्रविधि नेपालमा यहाँ र काठमाडौंको थानकोटमा मात्र प्रयोगमा रहेको जानकारी दिए । ‘दक्षिण भारतबाट भित्र्याइएको यो प्रविधिबाट एकै पटकमा पाँच वटा भाडामा तीन सय विद्यार्थी, शिक्षक र कर्मचारीलाई खाना पकाउने गरेका छौँ’, उनले भने, ‘पन्ध्र–बीस मिनेटमै सबैलाई पुग्ने खाना तयार हुन्छ । यसमा खाजा तथा चिया पकाउन पनि सजिलो छ ।’
फलामको पाइप लाइनबाट आगोको भट्टिमाथि राखिएको ६० लिटर क्षमताको फलामकै घ्याम्पोमा आउने पानी तताएपछि उत्पन्न हुने वाफलाई अर्को कोठामा रहेका भाडामा पुर्याउने संरचना जडान भएको तुलाचनले बताए । उनले ३०र३० लिटर क्षमताका भाडा माझ्न र सफा गर्न मिल्ने गरी स्थायी किसिमले राखिएको बताए ।
भट्टिबाट फलामको पाइपलाइनमा आपूर्ति गरिने तातो वाफले भाडा तात्ने र भित्र राखिएको दाल, चामल, तरकारी पाक्ने गरेको प्रअ तुलाचनले जानकारी दिए । उनका अनुसार आवश्यक परेको भाडामा अनुकूल समयमा वाफ आपूर्ति गराउने र पकाउन सकिन्छ ।
‘आगोको चुलोेमा पकाउँदा एक घण्टा भन्दा धेरै समय लाग्ने गर्दछ । ग्यासमा पकाउँदा खर्च धेरै लाग्ने गर्छ’, तुलाचनले भने, ‘रु. १२ देखि १३ लाखको लागतमा वाफबाट खाना पकाउने प्रविधि जडान गर्न सकिन्छ । यसबाट दाउराको खपत घट्नुका साथै समयको बचत भएको छ ।’
पद्मसम्भव च्यारिटी फाउण्डेशनले सञ्चालन गरेको विद्यालयको छात्रावासमा तीन सय विद्यार्थी, शिक्षक, कर्मचारीलाई खाने बस्नेसहित आवास सुविधाको व्यवस्था मिलाइएको छ ।
कक्षा १ देखि १० सम्म निःशुल्क आवासीय सुविधासहित अध्यापन गराइने विद्यालयमा हाल नेपाल र भारतका गरी दुई सय १५ विद्यार्थी रहेका विद्यालयका प्रधानाध्यापक तुलाचनले जानकारी दिए । उनका अनुसार विद्यालय जाने उमेरका कमजोर आर्थिक पृष्ठभूमि भएका विद्यार्थीलाई लक्षित गरेर विसं २०६७ मा स्थापना भएको उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीले दुई वर्षअघिदेखि मात्रै माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सहभागिता जनाउन थालेका हुन् ।
‘नेपाल सरकारद्वारा लागू भएको औपचारिक पाठ्यक्रमका साथै नेपाली, अंग्रेजी र तिब्बती पाठ्यपुस्तकको माध्यमबाट औपचारिक वौद्ध शिक्षा पनि प्रदान गरेका छौँ’, प्रअ तुलाचनले भने, ‘यहाँका विद्यार्थीलाई निःशुल्क शिक्षा, आवास, भोजन, पोसाक लगायतको सुविधा प्रदान गरेका छौँ । पछिल्लो दुई वर्षमा एसइई परीक्षाको औसतमा नतिजा सन्तोषजनक नै छ ।’
हाल छात्र मात्र रहेको विद्यालयमा समुदायको मागअनुसार आगामी शैक्षिक सत्रदेखि छात्रालाई पनि पठनपाठनको व्यवस्था मिलाउन लागिएको प्रअ तुलाचनले जानकारी दिए । उनका अनुसार पहिलो वर्ष ३० जना छात्रालाई भर्ना गर्ने योजना रहेको छ । रासस
तनहुँः व्यास नगरपालिका–२ कालिका मार्ग निवासी कल्पना गौली १६ वर्ष शिक्षण पेसामा लागिन् । उनीसँग प्राविदेखि मावि तहसम्म अङ्ग्रेजी विषयमा अध्यापन गराएको अनुभव छ । गौलीले अध्यापनपछि घरमै बुटिक व्यवसाय शुरु गरिन् ।
करिब १५ वर्षसम्म बुटिक व्यवसाय गरिसकेकी गौली यतिबेला भने व्यावसायिक कृषि पेसामा संलग्न भएकी छिन् । उनले व्यास नगरपालिका–५ ढोडेनीमा ‘ड्रागन फ्रुट’को खेती शुरु गरेकी छिन् ।
प्रकृति र माटोसँग रमाउन र यही क्षेत्रलाई साधान केन्द्रको रुपमा स्थापित गराउन आफू यस व्यवसायतर्फ लागेको किसान गौलीको भनाइ छ । वार्षिक रु. २० हजार बुझाउने गरी करिब नौ रोपनी जग्गा २० वर्षका लागि भाडामा लिएर व्यवसाय थालेकी हुन् । विसं २०७९ वैशाख १८ गते ‘माँ अम्बे अलौकिक कृषि फार्म’ दर्ता गरी सञ्चालन गरेकी गौलीले पहिलो वर्षमा रु. १२ लाखभन्दा बढीको ड्रागन फ्रुट बिक्री गरिसकेकी छिन् । वैशाखमा फूल खेल्न शुरु भएको ड्रागन फ्रुट ६० दिनभित्र खाना योग्य हुन्छ भने मङ्सिर महिनासम्म फल्ने उनको भनाइ छ ।
‘अहिले त व्यवसायीहरु फार्ममै आएर लैजानुहुन्छ, पहिले गाडीमा बजारसम्म लैजानु पर्ने अवस्था थियो’, उनले भनिन् । उनले प्रतिकिलो पाँच सयदेखि छ सयसम्म ड्रागन फ्रुट बिक्री गर्दै आएकी छन् ।
गौलीले गत वर्ष भारतको हैदराबादबाट दुई हजार एक सय वटा ड्रागन फ्रुटका बिरुवा ल्याएर फार्ममा पाँच सय पोल निर्माण गरी एउटा पोलमा चार वटाका दरले ड्रागन बिरुवा लगाएकी थिइन् । ‘करिब रु. ८० लाखमध्ये रु. ४२ लाख ५० हजार ड्रागन फ्रुटको खेतीमा लगानी गरेको छु’, उनले भनिन् ‘फार्ममा ड्रागन फ्रुटका साथै च्याउ, मौरी, फलफूललगायतका बहुआयामिक किसिमले खेती गरेको छु ।’
गौलीले यस वर्ष तीन लाखभन्दा बढीको ड्रागनका बिरुवा बिक्री गरिन् । प्रतिबिरुवा दुई सयदेखि पाँच सयसम्म बिरुवा बिक्री गरेको उनले बताइन् । ड्रागनका बिरुवा लिन तनहुँलगायत विभिन्न जिल्लाबाट मानिस आउने गरेको उनको भनाइ छ । किसान गौलीले व्यास नगरपालिका–३ मा ‘व्यास कोसेली घर’ समेत सञ्चालन गर्दै आइरहेकी छिन् । स्थानीयस्तरमा उत्पादित अर्गानिक तरकारी, घरेलु सामग्री, घरेलु कपडालगायत सामग्री उक्त कोसेली घरमा बिक्री गर्ने गरेको उनले बताइन् । रासस
बागलुङः शिरमा हरियो गलबन्दी, शरीरमा मैलिएका कपडा । बुढ्यौउली उमेर, चाउरिएका अनुहार ढल्दै गरेको उमेर । तर पनि काम गर्ने जोस जाँगर भने कत्ति पनि घटेको देखिन्न । हिजोआज पहेँलो त्रिपालले छाएको गोठ छेउमै भटिनुहुन्छ, रनबहादुर सिर्पाली । गोठ वरपर दुई सय ५० बढी भेडाबाख्रा चरिरहेका देखिन्छन् । युवावस्थामा एक सय ५० सय भेडाबाख्रा पालेको सुनाउने उहाँ अहिले तागत घट्दै गएपछि कम पाल्न थालेको बताउनुहुन्छ । बागलुङको सबैभन्दा दुर्गम गाउँ तमानखोला गाउँपालिका–५ का उहाँले व्यावसायिक रुपमा भेडापालन गन थालेको ६३ वर्ष भयो । नौ वर्षकै उमेरदेखि गोठालो गर्न थाल्नु भएका सिर्पाली अहिले ७२ वर्ष पूरा हुनुभयो ।
एउटै पेसामा यति लामो समयसम्म निरन्तरता दिई राख्ने यासदै होलान् । सरकारी कर्मचारी भए पनि २० वर्ष मात्रै जागिरमा रहन्छन् । तर सिर्पाली दशकौँसम्म एउटै पेसामा अनवरत रुपमा लागि राख्नुभएको छ । बिहान उठेदेखि राति नसुतुञ्जेलसम्म भेडाबाख्राको स्याहारमै व्यस्त हुने उहाँ दसैँ अगाडि मात्रै बुकीबाट झर्नु भएको थियो । विकट गाउँमा जन्म हुँदा सानैबाट गोठालोमा लाग्नुपरेको उहाँले गुनासो गर्नुभयो ।
आफ्नो बाल्यकालमा अहिलेको जस्तो पढ्ने लेख्ने चलन नभएको हुँदा आफूले पढ्न नपाएको उहाँ बताउनुहुन्छ । अहिले तमानखोला दुर्गम नै मानिन्छ । पहाडैपहाडले घेरिएको तमानखोलाका अधिकांश नागरिक रनबहादुर जस्तै पशुपालनमा लागेका छन् । अग्ला भिर पाखा र पशुपालनका लागि राम्रो वातावरण रहेको हुँदा हजारौँ पशु पाल्न सहज हुने उहाँको भनाइ छ ।
अझै १० वर्ष एक डेढसय भेडा पाल्न सक्ने उहाँ बताउनुहुन्छ । गाउँमा पाका पूर्खादेखि खेतीपाती गर्ने र पशुपालन गर्दै आएको हुँदा आफूले पनि सानैदेखि यही पेसा अङ्गाल्दै आएको उहाँले बताउनुभयो । पछिल्लो समय नयाँ पुस्ता भेडापालनमा चसो नदिँदा परम्परागत पेसा हराउना थालेको उहाँ हुनुहुन्छ ।
चार वर्ष अगाडिसम्म बुकीमा हजारौँ भेडा र सयौँ गोठाला भेटिने गरेकामा अहिले त्यो सङ्ख्या निकै न्यून भएको सिर्पालीले बताउनुभयो । समय परिवर्तनसँगै गाउँघरमा पेसा पनि फेरिँदै गएको हुँदा व्यापार व्यवसाय गर्ने बढ्न थालेको उहाँले बताउनुभयो ।
“सहर बजारमा सुविधा धेरै हुन्छ, हाम्रा गाउँ ठाउँमा बल्ल अलिअलि विकास हुन थालेको छ, पहिले मोटर गाडी देख्न सहर जानुपथ्र्यो, अहिले गाउँमै गाडी गुड्छन्, भेडाबाख्राले पनि अहिले त गाडी देख्न पाए, हाम्रो जमानामा साह्रै दुःख थियो, नून, चामल बटौली (बुटवल) पुगेर ल्याउनुपथ्र्यो, आजभोलि घरमै पाइन्छ,” उहाँले भन्नुभयो “हामी सानो–सानो हुँदा गाउँभरिका मान्छेले भेडाबाख्रा पाल्थे, एउटा घरमा कम्तीमा पनि एक सय भेडाबाख्रा र गाईभैँसी हुन्थे, अचेल त्यस्तो छैन, युवा बजार जान थाले, विदेश जान थाले त्यही भएर गोठालो गर्ने पनि घटे ।”
सिर्पालीका भेडाको बथानमा काला, सेता र खैरो रङ्गा पाठापाठी र माहु भेडाबाख्रा छन् । हुलमूलमा हराउने हुँदा ती सबैका सिङमा रातो, हरियो लगायतका रंग लगाइएका छन् । बर्खामा बुकी र हिउँदमा बेँसी झर्ने गर्दा घाँस र दाना पु¥याउन सहज हुने भएको छ । भेडापालनबाटै परिवार चलाउँदै आएको उहाँ बताउनुहुन्छ ।
पाँच भाइबहिनी छोराछोरी यही पेसाबाटै हुर्काएको र पढाएको जनाउँदै तीन छोरा र दुई छोरीको विवाहसमेत भेडा बेचेरै गरेको उहाँको भनाइ छ । आफूहरुले अहिलेसम्म भेडापालन गर्दै आए पनि छोराछोरीले यसतर्फ चासोनै नदिएको उहाँ बताउनुहुन्छ । उहाँले भेडा र गोठको सुरक्षाका लागि दुई कुकुरसमेत पाल्नुभएको छ । दुई कुकुरलाई गोठको दुई पट्टीबाँध्नु भएको छ । यसले गर्दा गोठ सुरक्षित हुने उहाँ बताउनुहुन्छ । पहिले–पहिले गोठ बलाङ, मान्द्रो ९बाँसको चोयाबाट बनेको सामान०ले बनाउने गरेको सुनाउँदै अहिले त्रिपाल र टेन्टले छाउन थालेको उहाँको भनाइ छ ।
स्थानीय, प्रदेश र संघीय सरकारले कृषिकका लागि हरेक वर्ष अनुदानका कार्यक्रम ल्याउने गरेको छ । तर ती कार्यक्रमले रनबहादुर जस्ता सयौँ किसानलाई अझै पनि छुनसकेको छैन । उहाँ भन्नुहुन्छ, “ कृषि अनुदान भन्ने मलाई थाहा छैन ।” रासस
स्याङ्जाः विश्वकर्मा समुदायको पुर्खौली पेसाका रुपमा रहेको आरन व्यवसायका लागि कोइलाको अभाव हुन थालेको छ । कोइला बजारमा प्रयाप्त किन्न नपाइने तथा कोइला बनाउन आवश्यक पर्ने रुख र वुट्यान सजिलै नपाइने भएपछि आरन पेसा गर्दै आएका विश्वकर्मा समुदायले समस्या झेल्दै आएका छन् ।
स्याङ्जाको गल्याङ नगरपालिका–७ भट्टीडाँडाका ६१ वर्षीय सुकबहादुर विश्वकर्माले ४८ वर्षदेखि आरन पेसा गर्दै आइरहेका छन् । उनी वालिङ नगरपालिका–११ बाँयखोलाबाट २२ वर्ष पहिले गल्याङमा बसाइँ सरेर यहाँ आएका हुन् । विश्वकर्माले गल्याङ बजारस्थित तल्लो गल्याङ जाने घुम्तिमा एएमसी कृषि औँजार निर्माण उद्योगको नाममा आरन व्यवसाय गर्दै आएका छन् । यहाँ मुलिवास, देवीथान, पेलाकोट, सल्यान, स्यालवास, कल्लेरी, सौरभञ्याङ, गल्कोट, ग्वादी, गल्याङ र ग्वादीका किसान औजार मर्मत गर्न तथा किन्न आउने गरेका उनले जानकारी दिए ।
विश्वकर्माले बाउबाजेले गरेको पेसालाई आफूले निरन्तरता दिए पनि कोइलाको अभाव हुँदा पुर्खौली कामलाई निरन्तरता दिन कठिन भइरहेको बताए । ‘गोलका लागि नन्डुके, साल, खयर, बेल, गोलैँची, धँयरो, बेलउती लगायतका काठ राम्रो मानिन्छ, पहिलेपहिले साल खयर काट्न पाइन्थ्यो, हिजोआज काट्न पाईदैन, अन्य काठ बालीघरे गर्दा विष्टहरुले त्यसै दिन्थे हिजोआज महँगो मूल्य तिरेर किन्नुपर्छ’, उनले भने ।
विश्वकर्माले बजारमा ४० किलो कोइलाको मूल्य तीन हजार पाँच सय सय भन्दा बढी रहेको जनाउँदै बजारमा पर्याप्त मात्रमा किन्न पनि नपाइने गुनासो गरे । हँसिया, बञ्चरो, कोदाली, कुटो, फाली लगायतका सामान नयाँ बनाउने तथा पुराना मर्मत समेत गर्ने गरेको उनले बताए ।
विश्वकर्माका अनुसार आरनको काम गरेर मासिक रु. २०/२५ हजार सम्म आम्दानी हुने गरेको छ । ‘कोदाली, सानो हँसिया अर्चापेको रु. ५०, घाँस काट्ने हँसियाको रु. ७०, बञ्चरो र खुर्पाको एक सय ज्याला लिने गरेको छु’, उनले भने, ‘नयाँ बञ्चरो एक हजार ६ सय, घाँस काट्ने हाँसिया चार सय, कोदाली एक हजारसम्ममा बिक्री गर्ने गरेको छु ।’
पहिलेको तुलनामा हिजोआज नयाँ फलामका औजार किन्ने र अर्चाप तिखार गर्न आउनेको सङ्ख्यामा कमि आएको विश्वकर्माले बताए । ‘हिजोआज भैँसी पाल्न र खेती गर्न छोडेका छन्, त्यसैले कृषि औजार पनि कम प्रयोग भएका छन्’ उनले थपे, ‘पहिलेपहिले ३० वटा हँसिया लिएर बेच्न जाँदा एउटै गाउँमा सकिन्थ्यो, हिजोआज दश गाउँ ठुल्दा पनि १० वटा हँसिया बेच्न मुस्किल पर्छ ।’ उनले परम्परागत शैलीमा आरन व्यवसाय गर्दा श्रम र समयको खर्च बढी हुने गरेको दु : खेसो पोखे ।
‘मलाई फलाम जमाउनका लागि वेल्डिङ मेसिन, धार लगाउन काट्न र चिल्लाउनका लागि ग्रेन्डर र आगो फुक्नका लागि विजुलीबाट चल्ने मेसिन आवश्यक छ’, विश्वकर्माले भने, ‘मसँग किन्नका लागि पैसा छैन । सरकारले दिएमा काम गर्न सहज हुन्थ्यो ।’ उनले नौ दश वर्षकै उमेरदेखि बुबा आरनमा काम गर्दा खलाँती फुक्ने र काम सिक्ने गरेको बताए । उनले १६ वर्षको हुँदादेखि फलामको सबै काम सिकेको बताए ।
गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराईले दलित समुदायले गर्दै आएका परमपरागत पेसा संरक्षणका लागि नगरपालिकाले विशेष योजना ल्याएको बताए । उनले गत साउनमा आरन व्यवसाय गर्नेहरुलाई ‘आरन सुधार कार्यक्रम’अन्तर्गत हाते पङ्खा, हम्बर, लिही, घन, ग्रेन्डर, वेल्डिङ मेसिन, सनासो, रेती, जस्तापातालगायतका सामग्री वितरण गरेको जानकारी दिए ।
नगरप्रमुख भट्टराईले गल्याङ बजारका परियार समुदायका लागि पनि नगरपालिकाले पोसाकसहित पञ्चेवाजा वितरण गरेको बताए । ‘पालिका परम्परागत पेसा, सीपको संरक्षणमा गम्भीरतापूर्वक अगाडि बढेको छ’, उनले भने, ‘आगामी दिनमा पनि कसरी अगाडि बढ्दा परम्परागत पेसा गर्दै आएका समुदायको सम्मान हुन्छ भन्ने विषयमा सुझाव सङ्कलन गरी नीति तथा कार्यक्रम तयार गरेका छौँ ।’ रासस
चितवनः सौराहका पर्यटन व्यवसायीका लागि असोज ‘सिजन’को महिना हो । अर्थात् पर्यटकको चहलपहल र आर्थिक गतिविधि बढ्ने समय हो । विगतका वर्षमा पर्यटकलाई सेवा दिन भ्याइनभ्याइ हुने यहाँका पर्यटन व्यवसायीहरु यस वर्ष भने असोज लागेदेखि पर्यटकको पर्खाइमा छन् ।
पर्यटकीय गन्तव्य सौराहसम्म आइपुग्ने सडक मार्ग सहज नहुनु तथा हवाई भाडा महङ्गो भएकाले पर्यटकको सङ्ख्यामा यस वर्ष कमी आएको व्यवसायीहरुको भनाइ छ । लामो समयदेखि नारायणगढ–मुग्लिन, मुग्लिन-नौबीसे र नारायणगढ–बुटवल सडक खण्डमा मर्मत तथा बिस्तारले यातायात असहज बनेको छ । पोखराबाट आउनेका लागि मुग्लिन–पोखरा खण्ड पनि बिस्तारले अवरुद्ध भइरहेको छ
क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष गङ्गा गिरीका अनुसार सौराहाका होटलमा यतिबेला जम्मा पाँच प्रतिशत हाराहारी बुकिङ छ । जबकी विगतका वर्षमा यतिबेला ३५ प्रतिशतभन्दा बढी बुकिङ हुने गरेको थियो । सडकको दयनीय अवस्था, महङ्गो हवाई भाडालगायतले पर्यटकको सङ्ख्या कम भएको उनको बुझाइ छ ।
उनका अनुसार एउटा विदेशी पर्यटक काठमाडौंबाट भरतपुर आउँदा एक सय ३५ डलर हवाई भाडा लाग्छ । आवतजावत भाडा मात्रै दुई सय ७० डलर खर्च हुन्छ । निकुञ्जमा जीप तथा हात्ती सफारी, पैदल यात्रा गर्दा खर्च स्वभाविक रुपमा बढ्छ । विदेशका लागि निकुञ्ज प्रवेशमा दुई हजार खर्च हुन्छ भने हात्ती सफारीका लागि दुई हजार पाँच सय, जीप सफारीका लागि दुई हजार खर्च लाग्छ ।
सङ्घका निवर्तमान अध्यक्ष दीपक भट्टराईले पर्यटक आकर्षित गर्नका लागि सङ्घले चितवन पर्यटन महोत्सव गर्ने तयारी गरिरहेको बताए । विगतका वर्षमा हुने हात्ती महोत्सवलाई पर्यटन महोत्सवका रुपमा गर्न लागिएको उनको भनाइ छ ।
सङ्घका पूर्वअध्यक्ष सुमन घिमिरे पर्यटकीय मौसम पछाडि सरेको बताउँछन् । विगतका वर्षमा सेप्टेम्बरको मध्य अर्थात् असोज पहिलो साताबाटै पर्यटक आगमन हुने भएपनि यसवर्ष अझै पर्यटक नआएको बताउँछन् ।
युनाइटेड हात्ती सहकारी संस्था लिमेटेडका अध्यक्ष दीपेन्द्र खतिवडाका अनुसार यसपटक हात्ती सफारीका बुकिङ खासै नभएको बताउँछन् । उनको सहकारीमा हाल ३० वटा हात्तीले दैनिक एउटा ‘ट्रिप’ समेत पाउन नसकेको अवस्था छ । ‘दैनिक १२ देखि १५ वटा मात्रै ट्रिप आउने गरेको छ, चाडपर्व शुरु भएपछि ट्रिप बढ्नेमा विश्वास छ’, उनले भने ।
चितवन राष्ट्रिय निकुञ्जभित्र वर्षामा सफारी बन्द गरिन्छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पूर्जा पुनका अनुसार अब पानी नपरेमा असोज १० गतेदेखि निकुञ्ज खुल्ला गरिने छ । बाटो र पुलहरु धेरै बिग्रिएका ठाउँ बाहेक अन्यत्र खुल्ला गर्न लागिएको उनको भनाइ छ । रासस
भोजपुरः भोजपुरको पौवादुङमा गाउँपालिकामा सञ्चालन भइरहको ‘आफैँ पाल्दै आफैँ खाँदै’ कार्यक्रम प्रभावकारी बनेको छ । गर्भवती तथा सुत्केरीको स्वास्थ्यलाई ध्यानमा राखेर सो कार्यक्रम सञ्चालनमा आएको थियो ।
यो अभियानअन्तर्गत यहाँका सबै छवटै वडाका गर्भवती तथा सुत्केरीलाई एउटा भाले, दुईवटा पोथी कुखुरा वितरण गर्दै आएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए । यसरी वितरण गरिएको कुखुरालाई पालेर उनीहरूले आवश्यकरूपमा अण्डा, मासुको रूपमा प्रयोग गर्न सक्ने उनले बताए ।
‘गर्भवती र सुत्केरीको स्वास्थ्यलाई लक्षित गरेर ‘आफैँ पाल्दै आफै खाँदै’कार्यक्रम सञ्चालन भइरहेको छ, यो कार्यक्रमअन्तर्गत महिलालाई भाले र पोथी कुखुरा वितरण गरेका छौँ । उहाँहरूले आफैँ पालेर खान सक्नुहुनेछ । महिलाको पोषणलाई ध्यानमा राख्दै यो कार्यक्रम सञ्चालन गरेका हौँ’, अध्यक्ष राईले भने ।
यसअघिको सुत्केरीका लागि रहेको रातोभाले कार्यक्रमलाई निरन्तरता दिँदै आर्थिक वर्ष २०८०/८१ बाट यो कार्यक्रम सञ्चालनमा ल्याइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले बताए । गाउँपालिकाभित्र घरमै सुत्केरी हुने चलनलाई शून्यमा झारिएको उनले बताए । नियमितरूपमा गर्भ परीक्षण गराउने र स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई गाउँपालिकाले आवश्यक प्रोत्साहन गर्दै आएको उनको भनाइ छ ।
यो कार्यक्रमअन्तर्गत वर्षमा दुईपटक वितरण गरिने गाउँपालिकाकी उपाध्यक्ष ज्योत्सना राईले बताइन् । सबै वडामा पहिलो चरण वितरण कामको अन्तिम भएको उपाध्यक्ष राईले जानकारी दिइन् । यसरी वितरण गरिएको पोथी भने उनीहरूले दुई वर्षसम्म पाल्नुपर्ने उनको भनाइ छ । ‘सबै वडामा पहिलो चरणको वितरणको काम अन्तिम आवस्थामा पुगेको छ’, उनले भनिन्, ‘वितरण गरिएको कुखुरा अनिवार्यरूपमा दुई वर्ष पाल्नुपर्ने हुन्छ ।’
यो कार्यक्रमअन्तर्गत पौवादुङमा–१ श्यामशिलाका १७ गर्भवती तथा सुत्केरीलाई एक भाले र दुईवटा पोथी वितरण गरिएको वडाध्यक्ष राजेन्द्र तामाङले बताए । उनीहरूलाई वडा कार्यालयमा बोलाएर स्वास्थ्य परीक्षणसँगै कुखुरा वितरण गरिएको उनको भनाइ छ ।
‘हाम्रो वडाका १७ गर्भवती र सुत्केरीलाई कुखुरा वितरण गरेका छौँ’, वडाध्यक्ष तामाङले भने, ‘यो कार्यक्रमले उनीहरूलाई लाभ पुगेको छ । यसलाई हामी निरन्तरता दिन्छौँ । यो कार्यक्रमले महिलाको पोषणको क्षेत्रमा सहजता थपेको छ ।’
गाउँपालिकाले सञ्चालन गरेको आफैँ पाल्दै खाँदै कार्यक्रमले सहज भएको स्थानीय महिला रमिला तामाङले बताइन् । यसरी पालेको कुखुराबाट घरमै ताजा अण्डा खान पाइने भएकाले कार्यक्रम लाभदायक रहेको उनको भनाइ छ । यसबाहेक गाउँपालिका तथा वडा कार्यालयबाट अन्य विभिन्न खालका सहयोग पनि पाइरहेको उनले बताए । रासस
बागलुङः भल्कोटवासी प्रत्येक वर्ष जेठ पहिलो सातादेखि पशुचौपाया लिएर लेक जान शुरु गर्छन् । चार महिनाअघि लेक चढेका उनीहरु असोज ५ मा मात्रै बेँसी झर्छन् । यसअवधिमा उनीहरु हजारौँ पशुचौपायासहित चार हजार दुई सय मिटर उचाइमा अस्थायी गोठ बनाएर बर्खा गुर्जाछन् ।
यो भल्कोटीहरुको दशकौँ पुरानो परम्परा हो । पुर्खाले शुरु गरेको परम्परा अहिले नियम बनेको छ । यो नियम भल्कोटवासीले कडाइका साथ पालना गर्छन् । निसीखोला गाउँपालिका–६ भल्कोटका अधिकांश किसान पशुपालनमै छन् । उनीहरु हरेक वर्ष यसैगरी कहिले लेक त कहिले बेँसी गर्दै पशुचौपाया पाल्छन् । आज असोज ५ । उनीहरु लेकबाट बेँसी झर्ने दिन । त्यसैले बिहानैदेखि पशुचौपाया लिएर बेँसी झरिरहेका भल्कोटीहरुको लर्को लागेको छ । भर्कोबाङ चौर पशुचौपायाले भरिएको छ ।
भर्कोबाङ मध्यपहाडी लोकमार्गको माथिल्लो पट्टी सानो पहाडको टुप्पोमा पर्छ । जहाँ समथर भूभागमा फैलिएको ठूलो मैदान छ । पशुचौपाया लिएर लेकबाट झरेका गोठाला बाँसको चित्रा र त्रिपालले अस्थायी गोठ बनाइरहेका छन् । हरेक वर्ष आजकै दिनलाई पर्वका रुपमा मान्ने भल्कोटवासीले लेकबाट पशुचौपाया झार्छन् । शुभ र अशुभ दिन हेर्दा आजको दिन अशुभ भएको भन्दै केही किसानले भने हिजोदेखि नै पशुचौपाया झार्न शुरु गरिसकेका थिए ।
भर्कोबाङको पाटाहरुमा मकै, गहुँ, जौ का खेती हुन्छन् । केही खेतीयोग्य जमिन बाँझो भइसकेको छ भने केही जग्गामा मकै भित्र्याएर बाँकी रहेका डाँठ मात्रै बाँकी छन् । ती पाटाहरुमा लेकबाट झरेका सयौँको सङ्ख्यामा गाईगोरु, बाच्छाबाच्छी, भैँसी र भेँडाबाख्राले भरिएका छन् ।
आज साँझसम्म सयौँ किसानका हजारौँ पशुचौपाया यहाँ जम्मा हुन्छन् । अबका करिब २० दिन भर्कोबाङको चारैतिर काला, खैरा गाईगोरु, भेँडाबाख्राले भरिन्छन् । दर्जनौँ पशुचौपाय पाल्ने स्थानीयले गाउँमा घाँस पुर्याउन नसकेपछि लेकमा लैजाने गर्छन् । लेकमा बस्दा पशुचौपाया चराउनुका साथै उनीहरु चोयाबाट विभिन्न किसिमका सामग्री निर्माण गर्छन् । घ्यू उत्पादन र बिक्री पनि गर्छन् ।
असारपछि बेँसीमा पशुचौपाया राख्न पनि पाइँदैन । यो स्थानीयले बनाएको वषौँ पुरानो कानून हो । कानून उल्लङ्घन गर्नेलाई कारबाहीसमेत हुने गर्दछन् । त्यसले गर्दा पनि सबैले परम्परादेखि नियमन पालना गर्दै आएको स्थानीय कुलबहादुर घर्तीमगरको भनाइ छ ।
त्रिचालिस वर्षदेखि गाईभैँसी पाल्दै आएको सुनाउँदै अहिलेसम्म असोज ५ भन्दा अगाडि बेँसी कहिल्यै पनि नझरेको सुनाए । आजभन्दा पछाडि असोजभित्रसम्म आउन पाइने भए पनि अछाडि आउन नपाइने नियम भएको उनले बताए । केही गोठालाहरु निकै लेकमा पुगेको हुँदा असोज १० सम्म बेँसी झरिसक्ने घर्तीको भनाइ छ ।
लेक जानेबेला त्यहाँ बसुन्जेललाई पुग्ने खर्च बोकेर जाने समयसमयमा गाउँ झर्ने र आवश्यक सामान लिएर फर्किने गरेको घर्ती बताउँछन् । उनले पटकपटक लेकबेँसी गर्न गाह्रो हुनेहुँदा चार÷पाँच महिनाका लागि पुग्ने खर्च एकैपटक बोकेर जाने गरेको बताए । ‘यो चलन हामीले बसालेको होइन, बाउबाजे र पुर्खाहरुले बसालेको हो, उहाँहरुले जे सिकाउनुभयो हामीहरुले त्यही गर्दै आएका छौँ, उहाँहरुले जे नीति कानून बनाउनुभयो हामीहरुले त्यही पालना गर्दै आएका छौँ, उहाँहरुले बनाएको नीति कानुनलाई मानेनौँ भने हामीहरुलाई कानुन लाग्छ’, घर्तीमगरले भने ।
यहाँका गोठालाहरु खास गरी गोठ लिएर रोल्पा, रुकुम र बागलुङको सिमाना क्षेत्रसम्म पुग्छन् । उनीहरु गोठ रिग, खोलाखर्क, तिलचन, निसेलढोरको शिरलगायतका ठाउँमा बस्छन् । घर केही टाढा हुनेहरु भर्कोबाङ नै भेट्न पुग्छन् भने केही लेकमै पशुचौपाया झार्न जान्छन् । पशुचौपायालाई अब १५ दिन यही भर्कोबाङमा राख्ने र त्यसपछ आआफ्नो बारीमा लैजाने स्थानीय किसान कुम्बिर घर्तीमगरले बताए ।
भल्कोटमा धेरै वर्ष अगाडिदेखि किसानले पशुपालन गर्दै आएको र घाँस तथा चरन क्षेत्रको व्यवस्थापनका लागि लेकबेँसी गर्ने प्रचलन शुरु भएको घर्तीमगरको भनाइ छ । हिउँदको समयमा लेकमा घाँस सुक्ने र हिउँपर्ने हुँदा बेँसीमै पशुचौपायाललाई घाँस, दानको व्यवस्थापन गरेर पाल्नुपर्ने उनले बताए ।
‘एउटै घरमा भेडाबाख्रा दुई/तीन सयसम्म हुन्छन्, कोहीको गाई धेरै हुन्छन्, कोही भैँसी, एकै ठाउँमा राखेर पाल्न सकिँदैन, त्यही भएर लेक बेँसी गर्नु परेको हो, बर्खाभरि पशुचौपायाले लेकको घाँस खाए, लेकमा घाँस कम हुँदै गयो, जेठदेखि अहिलेसम्म बेँसीमा घाँस पलाएको छ, मकै पाकेर भित्र्याइसके, बारीभरि घाँस छ, अब त्यही घाँसले हिउँद कटाउनुपर्छ, पशु पाल्न त लेकमै ठीक हुन्छ, बेँसीमा घाँस पुर्याउनै गाह्रो हुन्छ’, उनले भने ।
आज बिहानैदेखि मध्यपहाडी लोकमार्गको भल्कोटदेखि रोल्पा, रुकुम र बागलुङको सिमानामा पातीहाल्नेसम्म हजारौँ पशुचौपायाको लर्को लागेको छ । अघिपछि गोठालाले किलो, दाम्लो र भाँडाकुँडा बोकेर हिँडिरहेका हुन्छन् भने अघिअघि भेडाबाख्रा, गाईभैँसीको ठूलो लाइन देखिन्छ । बर्खामास बेँसीमा चौपायाहरु पाल्नै गाह्रो हुनेहुँदा लेक लैजानु परेको स्थानीय अम्बर बुढामगरले बताए ।
बर्खाको समय स्थानीयको सयौँ पशुचौपायाले बारीमा खेतीपाती गर्न नदिने हुँदा लेक लैजानुपर्ने उनको भनाइ छ । हिँउदमा बेँसीमा खासै खेतीपाती नगरिने हुँदा झण्डै सात महिना यही राखिने उनको भनाइ छ । अब भल्कोटीहरु वैशाखसम्म बेँसीमै बस्छन् । वैशाखसम्म गाउँकै बारीमा पशु चौपाया चराउने र जंगलबाट घाँस काटेर खुवाउने गर्छन् ।
निसीखोला गाउँपालिका–६ का अध्यक्ष सूर्यमान बुढामगरले असोज ५ स्थानीय पशुपालक किसानका लागि नैतिक बन्धन बनेको बताए । परापूर्वककालदेखि घाँस व्यवस्थापनका लागि जेठ तथा असार महिनामा लेक जाने र असोजमा बेँसी झर्ने परम्परा बसालेको हुँँदा अहिलेसम्म यो चल्दै आएको उनको भनाइ छ । अहिले अधिकांश बुढापाका नै पशुपालनमा सक्रिय भएको हुँदा उनीहरुले परम्परालाई नियमका रुपमा मान्दै आएको अध्यक्ष बुढामगर बताउँछन् ।
‘यो हाम्रो महत्वपूर्ण परम्परामध्येको एक हो, यो पर्वले यस क्षेत्रका सयौँ पशुपालक किसानलाई एउटा सूत्रमा बाँधेको छ, उनीहरु योभन्दा दायाँबायाँ गर्दैनन्, पुर्खाको अपमान हुन्छ भन्छन्’, अध्यक्ष बुढामगरले भने, ‘हामीहरुले पनि यो परम्परालाई मान्दै आएका छौँ, राम्रो संस्कार संस्कृतिलाई आत्मसात् गर्ने र कुसंस्कृतिलाई हटाउने हाम्रो प्रयास हो, अहिले यो हाम्रा लागि कानून बनेको छ ।’ रासस
बाँकेः “मैले १२ वर्ष उमेरदेखि दमाह, मादल र ट्याम्का बनाउन शुरु गरेको हुँ”, बाँके कोहलपुर–१३ भरैयाका ५७ वर्षीय पस्तोके बादीले भने, “मेरा लागि आजसम्म पनि जीविकोपार्जनका लागि यही माध्यम बनेको छ ।”
उनी सोमबार बिहान पनि घरको चोटामा नजिकैको मन्दिरको दमाहा मर्मत गर्दै थिए । दमाहा मर्मतपछि ट्याम्का र मादल पनि साथमै राखेका थिए । पञ्चेबाजा अन्तर्गत पर्ने दमाहा, ट्याम्का र मादल बनाउन उनले सानैदेखि सिकेको पेसा हो ।
“बुबा सानैमा बित्नुभयो । उहाँ बितेपछि काका र दाईले यो सीप मलाई सिकाउनुभएको हो”, उनले भने, “विद्यालयमा गएर नपढे पनि सीपले जीवन धानेको छ ।” साढे चार दशकदेखि गोरुको छाला काडेर दमाहा बनाउँदै आएका उनले पछिल्लो समय गोरुको छाला सहजै पाउन गाह्रो भएपछि दमाह बनाउन पनि कठिन भएको बताए ।
“मरेको गोरुको छाला काटेर दमाहा, ट्याम्का र मादल बनाउछौँ । पहिला गाईगोरु पनि धेरै हुन्थे र धेरै मर्थे पनि । हिजोआज गाईगोरु पाल्न छाडेका छन् । त्यसैले मेरेको भेटाउन पनि गाह्रो हुन थालेको छ”, उनले भने । पछिल्लो समय आधुनिक बाजाको प्रयोग बढेको र नयाँ पुस्ता पनि त्यसैमा लागेको पनि उनको भनाइ छ । “गोरुको छाला पाउन गाह्रो भएपछि राँगाको छाला प्रयोग गर्न थालेका छौँ”, एउटा राँगाको छालालाई रु दुई हजारदेखि दुई हजार पाँचसम्म पर्छ”, उनले भने ।
एउटा दमाहा बिक्रीबाट उनले पाँच हजार आम्दानी गर्छन् भने ट्याम्का बनाएको दुई हजार लिन्छन् । यद्यपि दमाहाको आकारअनुसार पैसा लिने गरेको उनको भनाइ छ । दमाहाको मूल्य आकारअनुसार पाँच हजारदेखि १५ हजारसम्म पर्ने उनको भनाइ छ ।
पस्तोके बादीका घरमा दमाहा, ट्याम्का र मादल मर्मतका लागि बाँके, बर्दिया सुर्खेतदेखि मानिसहरु आइपुग्छन् । विशेषगरी चाडवाड नजिकिँदै गर्दा यस्ता सामान बनाउन आउनेको सङ्ख्या बढी हुने उनको भनाइ छ ।
जाजारकोटको शिवालय गाउँपालिका–६ थालारैकरबाट बसाइँसराइ गरी बाँके झरेका पस्तोकेले दमाहा बनाएरै आफ्नो सात जनाको परिवार पाल्दै आएका छन् । पर्वको अवसर पारेर मात्रै यस्ता बाजा बनाउन आउने भएकाले घरखर्च धान्न र परिवार पाल्न कठिन हुँदै गएको पस्तोको भनाइ छ ।
बाह्रैमास कमाइ नहुने भएकाले अहिलेका वादी पुस्ताले यो पेसालाई अगाल्न नचाहेको उनको अनुभव छ । “यो यस्तो सीप हो जस्को प्रयोग पर्व छ महिना वा वर्ष दिनमा मात्रै गर्न पाइने भएकाले छोराहरु यो पेसा गर्न चाहदैनन् । हाम्रो शेषपछि यो पेसा धरापमा पर्छ भन्ने ठूलो चिन्ता छ मलाई”, उनले भने ।
पस्तोके जस्तै दमाहा र ट्याम्कामा गोरुको छाला कसेर पाँच जनाको परिवार पाल्दै आएका छन् र अम्मर बादीले पनि । सुर्खेतको राकमबाट बाँकेको भरैयामा झरेर ३५ वर्षयता अम्मरले दमाहा र ट्याम्का बनाउँदै आइरहेका छन् । उमेरले पाँच दशक पार गरी सकेका अम्मरले यो सीप आफ्नै बाबुबाट सिकेका हुन् । यो पेसामा बुबा र आमा दुवै संलग्न भएको उनको भनाइ छ ।
आमा बुबाबाटै सिकेको सीपलाई अम्मरले पेसाका रुपमा अगालेर यसैबाटको आम्दानीले परिवार पाल्दै आएका छन् । कूल २७ घरधुरी भएको भरैयामा पस्तोके, अम्मर, खम्मबलाल र बले गरी चार जना पुराना पुस्ताले दमाहा, ट्याम्का र मादल बनाएर बादी समुदायको पेसालाई धान्दै आइरहेका छन् ।
बादी समुदायका नयाँ पुस्ताले विशेष गरी फलामबाट बनिने हँसिया, बञ्चरो, हठौँडा, खुर्पा, खुकुरीलगायतका सामान बनाउने आरनको पेसालाई अँगालेका छन् । यसरी पूर्खाले गर्दै आएको पेसालाई छाडेर वादी समुदायबाट आरनको पेसालाई अँगाल्नेमध्यका एक छन् निमबहादुर वादी । सैतिस वर्षीय निमबहादुरले आरन पेसाबाट मासिक रु. ३० हजारदेखि ४० हजारसम्म कमाइ गर्ने गरेको बताउँछन् । “आरनबाट मैले दिनको १२ देखि १५ सयसम्म कामउने गरेको छु । मासिक न्यूनतम रु ४० हजार आम्दानी हुन्छ”, पूर्खाले गर्दै आएको पेसा दैनिक आम्दानी हुने पेसा होइन”, उनले भने ।
विसं २०५८ मा एसएलसी पास गरेका निमले आरन पेसाबाट परिवार पाल्दै आइरहेका छन् । उच्च शिक्षा पढ्ने रहर हुँदाहुँदै पनि आर्थिक अभावका कारण पढ्न नसकेको बताउँदै आर्थिक अभावले आफ्ना सन्तानलाई पढ्नबाट वञ्चित हुन नपरोस् भनेर पनि आफूले दैनिक कमाइ हुने आरन पेसालाई रोजेको उनको भनाइ छ । निम जस्तै भरैया गाउँका केही युवा आरन पेसा गर्दैछन् भने केही वैदेशिक रोजगारमा विदेश गएका छन् । रासस
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies