रौतहट : रौतहट जिल्लाको चन्द्रनिगाहपुरदेखि जयनगरसम्मको सडकखण्डमा हालै सम्पन्न भएको करिब २० लाख रुपैयाँको मर्मत कार्यमाथि गम्भीर प्रश्न उठ्न थालेको छ । मर्मत कार्य गुणस्तरहीन रहेको भन्दै स्थानीय र सरोकारवाला निकायहरूले निर्माण कम्पनी तथा सुपरिवेक्षण टोलीको भूमिकामाथि प्रश्न उठाएका हुन् ।
उक्त सडकखण्ड पूर्व–पश्चिम राजमार्गसँग जोडिएको हुँदा यहाँ दैनिक रूपमा अत्यधिक सवारी चाप रहने गर्छ । वर्षेनी खाल्डाखुल्डी देखिने यो सडकमा सतही मर्मत मात्रै हुने परिपाटीका कारण स्थानीयहरू निराश छन् । यस वर्ष पनि उस्तै प्रवृत्ति दोहोरिएको भन्दै आलोचना चर्किएको हो ।
सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरको मातहतमा शिवशक्ति निर्माण सेवाले मर्मत कार्यको जिम्मा पाएको हो । साइटमै रहेका सबइञ्जिनियर सुरेश महतोले सडक 'डिफेक्ट लायबिलिटी पिरियड' अन्तर्गत परेकाले मर्मत औपचारिक रूपमा गरिएको दाबी गरे । उनका अनुसार औसतमा ०.६ वर्ग मिटर क्षेत्रमा मात्र अलकत्रा प्रयोग गरिएको छ ।
तर स्थानीयहरू भने फरक तथ्यांक प्रस्तुत गर्छन् । उनीहरूका अनुसार कतिपय स्थानमा धुलोमाथि मात्र अलकत्रा छरिएको छ, जसले केही महिनामै सडक फेरि जस्ताको तस्तै हुने संकेत देखाएको छ ।
स्थानीय पवन उपाध्यायले आगामी आर्थिक वर्षमा सडक चार लेनमा विस्तार गर्ने योजना रहे पनि हाल देखिएको सतही मर्मत कार्यले त्यस योजनामाथि नै प्रश्न उठाएको बताए । "बजेट फ्रिज हुन नदिन जबरजस्ती खर्च गरिएको आभास हुन्छ," उपाध्यायले भने, "सडकमा आवश्यकता नभएका ठाउँमा समेत कालोपत्रे गरिएको छ, जुन सरासर औपचारिकता मात्र हो।"
वर्षेनी मर्मतको नाममा सरकारी स्रोतको दुरुपयोग भइरहेको भन्दै स्थानीयहरूले आक्रोश व्यक्त गरेका छन् । पटक–पटक मर्मत हुँदाहुँदै पनि खाल्डाखुल्डी यथावत् रहनु र कामको दीर्घकालीन असर नदेखिनुले निर्माणको गुणस्तरप्रति गम्भीर शंका उत्पन्न भएको छ ।
सडक डिभिजन कार्यालयको भूमिकामाथि पनि व्यापक आलोचना भएको छ । स्थानीय अधिकारकर्मीहरूले निर्माण कम्पनी तथा सुपरिवेक्षण टोलीलाई जवाफदेही बनाउन माग गरेका छन् । उनीहरूले प्राविधिक अनुगमन अझ सशक्त र पारदर्शी बनाउन पनि जोड दिएका छन् ।
स्थानीयहरू अहिले सडक डिभिजन कार्यालयसँग सार्वजनिक रूपमा स्पष्टिकरण माग गरिरहेका छन् । उनीहरूले आगामी दिनमा यस्ता मर्मत कार्यलाई नियमन गर्न प्रभावकारी अनुगमन संयन्त्र विकास गर्न पनि आग्रह गरेका छन् ।