पश्चिम नवलपरासी : अत्यधिक गर्मीका कारण पठनपाठनमा असहजता उत्पन्न भएपछि पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले विद्यालय ३ दिनका लागि बन्द गर्ने निर्णय गरेको छ। गाउँपालिकाले एक सूचना जारी गर्दै जेठ २७ गतेदेखि ३० गतेसम्म सामुदायिक तथा संस्थागत विद्यालयहरू बन्द रहने जनाएको छ ।
गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवका अनुसार गर्मीले विद्यार्थीको स्वास्थ्यमा असर पार्न सक्ने भएकोले विद्यालय बन्द गर्नु परेको हो । "विद्यार्थीहरूलाई गर्मीका कारण समस्या भइरहेकाले अस्थायीरूपमा विद्यालय बन्द गर्ने निर्णय लिइएको हो," अध्यक्ष यादवले भने ।
यस निर्णयअनुसार गाउँपालिकाभित्रका सबै विद्यालयहरू ३ दिनसम्म पूर्णरूपमा बन्द रहनेछन् ।