२०८२ जेठ २५ गते आइतवार / Jun 08 , 2025 , Sunday
२०८२ जेठ २५ गते आइतवार
Ads

५ जिल्लामा पूर्वसूचना प्रणाली स्थापना गर्न जोड

मध्यान्ह
२०८२ जेठ २५ गते १६:२०
५ जिल्लामा पूर्वसूचना प्रणाली स्थापना गर्न जोड

सोलुखुम्बु-  मनसुनको समयमा पहाडी जिल्लामा हिमताल विस्फोटन र नदीको बहाव चिन्ताकाबच ५ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले पूर्वसूचना प्रणाली स्थापना गर्नुपर्ने बताएका छन् ।

खोटाङको हलेसीमा सम्पन्न ओखलढुंगा, खोटाङ, भोजपुर, संखुवासभा र सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रतिनिधि तथा सरोकारवालाको अन्तरजिल्ला सुरक्षा समन्वय बैठकले पूर्वसूचना प्रणालीको स्थापनामा जोड दिएका हुन् । पूर्वसूचना प्रणाली स्थापना गर्नका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणमा अनुरोध गर्ने निर्णय भएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनोज घिमिरले बताए ।

५ जिल्लाका सुरक्षा प्रमुखले सगरमाथासहितका हिमालबाट बनेका हिमताल विस्फोटको उच्च जोखिममा रहेको र त्यसको प्रत्यक्ष प्रभाव सबै जिल्लामा पर्ने भएकाले उच्च सतर्कता अपनाउनुपर्ने निचोड निकालेका छन् ।

बैठकमा शान्ति सुरक्षाको समग्र अवस्था, आगामी दिनमा देखिन सक्ने मनसुनजन्य विपद् तथा सम्भावित सुरक्षा चुनौतीका विषयमा छलफल गरिएको थियो । बैठकले चोरी, तस्करी नियन्त्रण तथा फरार अभियुक्त पक्राउलाई प्रभावकारी बनाउने, पाँचै जिल्लाबीच प्राप्त सूचना छिटो आदानप्रदान प्रणाली सुदृढ गर्ने, प्रमुख नदीहरूमा पूर्वसूचना प्रणाली स्थापना गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई अनुरोध गर्ने, दूधकोशी जलाशययुक्त आयोजना र अरुण तेस्रो जलविद्युत् आयोजना क्षेत्रमा आवश्यक स्थानमा अर्ली वार्निङ सिस्टम स्थापना गर्न सम्बन्धित निकायलाई पत्राचार गर्ने निर्णय गरेको छ ।

यस्तै जग्गा अधिग्रहणसँग सम्बन्धित मूल्य निर्धारणका विषयमा अन्तरजिल्ला सहकार्य गर्ने, बाढीपहिरोले अवरुद्ध सडक खुलाउन सामग्री र उपकरणहरु छिमेकी जिल्लाबाट समेत परिचालन गर्न सक्ने गरी समन्वय गर्ने, ओखलढुंगाको हर्कपुरमा सशस्त्र प्रहरीको सुरक्षा बेस स्थापना गर्न गृह मन्त्रालयलाई अनुरोध गर्ने, सुनकोशी नदीमा रहेको घुर्मी जोड्ने पुल जोखिममा रहेको विषयमा आवश्यक सतर्कता अपनाउनेलगायत निर्णय भएको छ ।
 

ADV

सम्बन्धित खबर