रौतहट : रौतहटको गरुडा नगरपालिका–५ स्थित कटहरिया सडकखण्डमा सोमबार राति भएको मोटरसाइकल दुर्घटनामा एक युवकको घटनास्थलमै मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी राजन कार्कीका अनुसार सोमबार राति करिब १० बजे रोकिराखिएको ना ६ त ८१०६ नम्बरको ट्याक्टरको ट्रलीमा प्रदेश २–०३–०२० प ७२४८ नम्बरको मोटरसाइकल ठोक्किँदा कटहरिया नगरपालिका–१ भषेडवाका अन्दाजी २१ वर्षीय संजय साहको घटनास्थलमै मृत्यु भएको हो ।
साहसँगै मोटरसाइकलमा पछाडि सवार अन्दाजी २१ वर्षीय राजन ठाकुर गम्भीर घाइते भएका छन् । घाइते ठाकुरको गरुडास्थित वेटर नेपाल मल्टिस्पेसियलिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । इँटा लोड गरी ल्याइएको ट्याक्टर दुद्यीयाभार चौक नजिकै कालोपत्रे सडकमा बिग्रिएर रोकिराखिएको अवस्थामा थियो ।
घटनापछि गम्भीर घाइते दुवै जनालाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको थियो । तर, चिकित्सकले संजय साहलाई मृत घोषणा गरेका थिए ।
इलाका प्रहरी कार्यालय गरुडाले मोटरसाइकल र ट्याक्टर दुवैलाई नियन्त्रणमा लिएको छ । दुर्घटनापछि फरार ट्याक्टरका चालक र मालिकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।