रौतहट : वर्षौंदेखि अधुरो रहेको सर्लाही र रौतहट जोड्ने बागमती खोलाको पुल नबन्दा जनजीवन कष्टकर बनेको छ । हुलाकी राजमार्गअन्तर्गत दुर्गा भगवती गाउँपालिका–५ स्थित खोलामा पुल निर्माण रोकिएको वर्षौं बितिसक्दा पनि जिम्मेवार निकाय मौन छन् ।
पुल नहुँदा बर्खाको समयमा बागमती खोला तर्नु यात्रुहरूका लागि सास्तीको विषय बनेको छ । पानीको बहाव बढ्ने बित्तिकै यात्रुहरू ज्यान जोखिममा पारेर डुंगाको सहारामा वारपार गर्न बाध्य छन् । यता डुंगा सेवा पनि पर्याप्त छैन भने सुरक्षा प्रबन्ध कमजोर हुँदा दुर्घटनाको जोखिम झनै बढेको छ ।
स्थानीय कृषकहरू उत्पादन भएका अन्नबाली बजारसम्म पुर्याउन समस्यामा परेका छन् । स्वास्थ्य समस्या भएका बिरामीहरूलाई उपचारका लागि लैजानसमेत ठूलो चुनौती हुने गरेको छ । बाढीको समयमा एम्बुलेन्स त के पैदल जानसमेत नसकिने अवस्था हुने गरेको स्थानीयको भनाइ छ।
"हरेक चुनावमा पुल बनाउने आश्वासन सुनिन्छ, तर काम कहिल्यै अघि बढ्दैन," स्थानीय बासिन्दा बताउँछन् । स्थानीय सरकारमार्फत पटक–पटक ध्यानाकर्षण गराइए पनि संघीय सरकारको बेवास्ताका कारण पुलको काम अघि नबढेको स्थानीयको आरोप छ ।