इस्तयाक अहमद/मध्यान्ह
रौतहट : रौतहट जिल्लाको झेत्र नं दुई राजपुर नगरपालिकास्थित डमार चोकदेखि बैरिया टोलसम्म सडक कालोपत्रे हुने भएको छ । करिब चार सय मिटर लम्बाईको उक्त निर्माणाधीन सडकको शिलान्यास भएको छ । राजपुर नगर प्रमुख मो.सकिल अखतर, प्रशासकीय अधिकृत बैजु ठाकुर, वडा अध्यक्ष शेख अनसारुल शेख मोजरेआलमलगायतले सामुहिक रुपमा उक्त निर्माणाधीन सडकको शिलान्यास गरेका हुन् ।
शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख अखतरले सडक निर्माणमा कुनै भ्रष्टाचार हुन नदिने र समयमै काम सक्न लगाउने प्रतिवद्धता व्यक्त गरे । उक्त कालोपत्रे सडक बन्ने भएपछि स्थानीय जनताहरुमा खुसीको छाएको छ । शिलान्यास कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय बुद्धिजीवी, पत्रकार एवं सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।
पूर्ण चलाउने/मध्यान्ह
टोकियो : नेपाल पत्रकार महासंघ जापान शाखाको दशौं स्थापना दिवस सम्पन्न भएकोछ ।टोकियोको सिनओकुबो स्थित महासंघको सम्पर्क कार्यालयमा शुक्रबार दशौं स्थापना दिवस मनाइएको हो । कार्यक्रमका प्रमुख अतिथि तथा पत्रकार महासंघ जापान शाखाका सल्लाहकार भूषण घिमिरेले ‘केक’ काटेर स्थापना दिवस समारोहको शुभारम्भ गरेका थिए ।
सो अवसरमा प्रमुख अतिथि घिमिरेले जापानको नेपाली समाजलाई सुचना तथा समाचारका माध्यमद्वारा सुसुचित गर्नुपर्ने कर्तब्य जापानमा रहेका नेपाली पत्रकारहरुको भएको बताउदै समाजप्रति जिम्मेवार भएर योगदान गर्न पत्रकारहरुलाई सुझाव दिए ।
पत्रकारहरुमा बिशेष अध्ययन, विशेष क्षमता र बिशेष दक्षता हुनुपर्ने उल्लेख गर्दै उनले पत्रकार राम्रो भए मात्रै महासंघ राम्रो हुने बताए ।’ पत्रकार महासंघको स्थापना दिवस मनाइनु भनेको संस्थापकहरुप्रतिको सम्मान हो’, घिमिरेले भने - ‘ नेतृत्व परिवर्तन भइरहन्छन् यो प्रकृया हो,तर पत्रकारहरुबिचको एकता आजको आवश्यकता हो ।’
कार्यक्रममा पत्रकार दिनेश थपलियाले महासंघले पत्रकारहरुबीच भेटघाट, छलफल तथा क्षमता अभिवृद्धिको अवसर दिएको उल्लेख गर्दै महासंघको स्थापना दिवसको शुभकामना व्यक्त गरे ।
पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घलेले स्थापना दिवसको अवसरमा अग्रज पत्रकारहरुप्रति सम्मान प्रकट गर्दै महासंघले आगामी दिनमा प्रभावकारी कार्यक्रमहरु गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
महासंघ जापान शाखाका सदस्यहरु कृष्ण अधिकारी, बिश्वास आचार्य, व्यवसायी शिव पौडयाल लगायतको उपस्थिति रहेको उक्त कार्यक्रमको संचालन महासंघका कोषाध्यक्ष आनन्द कोइरालाले गरेका थिए भने महासंघका उपाध्यक्ष पूर्ण चलाउनेले स्वागत मन्तब्य राखेका थिए ।
कोरोना भाइरसको प्रकोप बढिरहेका कारण स्थापना दिवस सामान्य ढंगले मनाइएको पनि महासंघले जनाएको छ । पत्रकार महासंघ जापान शाखाको स्थापना सन २०११ मा टोकियोमा भएको हो ।
काठमाडौं : चर्चित कार्टुनिस्ट अविन श्रेष्ठको कार्टुन संग्रह 'वेषट अफ अविन' नामक पुस्तक सार्वजनिक भएको छ । जन आन्दोलन-२ पछिको नेपाली राजनीतिक कालखण्डसँग सम्बन्धित व्यंग्य चित्रहरु समावेश गरिएको उक्त पुस्तक विहीबार सार्वजनिक गरिएको हो ।
समसामायिक र राजनीतिक विकृतिहरुमाथि चोटिलो प्रहार गर्ने कार्टुनिस्टका रुपमा परिचित श्रेष्ठले विगत अढाइ दशकदेखि कार्टुन लेखनलाई निरन्तरता दिँदै आएका छन् । उक्त पुस्तक बुक आर्ट नेपालले प्रकाशन गरेको हो ।
काठमाडौं : कालिकोटको दुर्गम गाउँमा जन्मिएका विजय शाहीले ‘च्याम्पियन्स बुक अफ वर्ल्ड रेकर्डस्’ मार्फत विश्व कीर्तिमान कायम गर्न सफल भएको छन् । १९ वर्षको उमेरमै संसारकै सबैभन्दा चाँडो उल्टो÷सुल्टो नम्बर स्मरण गर्दै विश्व कीर्तिमान कायम गरेका हुन् । उनले १ मिनेटमा ७० शब्दको रेकर्ड कायम गरेका हुन् ।
शाहीले पुनः ३० सेकेन्डको रेकर्ड पनि बनाउन सफल भएका छन् । शाहीले आफ्नो अर्को रेकर्ड ३० सेकेन्डमा १०२ शब्द स्मरण गर्दै उल्टो सुल्टो र क्रमबद्ध याद गरेर पनि विश्व रेकर्ड बनाउन सफल भएको बताइएको छ । उनले विश्व रेकर्ड कायम गरेसँगै उनलाई सुर्खेत विरेन्द्र नगरपालिकामा भब्य अभिनन्दन सहित स्वागत गरिएको थियो ।
नगरपालिकाका मेयर देव कुमार सुवेदी लगायत स्थानीयवासीले भब्य स्वागत गरेका थिए । बाल्यकालमा खासै तेज दिमाग नभए पनि अहिले उनले कलेज टप हुँदै एम.बी.बी.ए (डाक्टर)को किताब समेत लेखिसकेको बताएका छन् । उनले मार्च १४ मा रिसर्चका लागि अमेरिकाको नासा जाने तयारी गरेको समेत बताएका छन् । उनले फोल्डर बनाउने याद गर्न सक्ने लाखौंलाई टिप्स दिने समेत बताएका छन् ।
शुभ नारायण कामती/मध्यान्ह
सिरहा : समाचार संकलन गर्न सिरहाको भगवानपुरस्थित दशगजा क्षेत्र पुगेको नेपाली सञ्चारकर्मीको टोलीलाई भारतीय सिमा सुरक्षा बल(एसएसबी) का जवानहरुले दुर्व्यवहार गरेका छन् । सिरहाको भगवानपुर गाउँपालिका वडा नम्बर ४ ठाढी स्थित दशगजा एरिया नजिकै नेपाली भूमिमा नेपाली पक्षले बनाइरहेको सुरक्षा पोष्ट निर्माणमा भारतीय सुरक्षाकर्मीले शनिबार अवरोध गरेको विषयमा समाचार संकलन गर्न पुगेको मध्यान्ह दैनिक सिरहा जिल्ला सम्वाददाता शुभनारायण कामती लगायतका सञ्चारकर्मीमाथि एसएसबीका ए कम्पनी लौकहाका सदापोशाकका सुरक्षाकर्मीहरुले दुर्व्यवहार गरेका हुन् ।
आफ्नै भूमिमा डिउटी पोष्ट बनाउँदा समेत भारतीय सुरक्षाकर्मीले रोकेको विषयमा समाचार संकलन गर्न गएको सञ्चारकर्मीलाई एसएसबीको सदापोशाकमा रहेका जवानहरुले ‘क्यामरा लिएर किन आएको ?, गुप्चरी गर्न खोजेको हो ? क्यामरा खोसिदिन्छु’ भन्दै धम्कीपूर्ण भाषा प्रयोग गर्दै दुर्व्यवहार गरेको हो ।
कपिलवस्तु : नेपाल नेत्र ज्योती संघ तौलिहवा शाखाका सचिव मनोज कुमार श्रीवास्तवले सचिव पदबाट राजीनामा दिएका छन् । आफनो सचिव पदको जिम्मेबारी प्रभावकारी एवं स्वतन्त्रतापुर्वक निर्वाह गर्न नपाएको भन्दै श्रीवास्तवले शाखा सदस्य पदमा यथावत रहने गरी सचिव पदबाट राजीनामा दिएका हुन् ।
शाखामा दर्ता गराएको राजीनामामा आफुलाई अत्यधिक मतले बिजयी गराउने सम्पुर्ण सदस्यलाई कृतज्ञता व्यक्त गर्दै संस्थाको निरन्तर सहयोग गर्ने जनाउँदै संस्थाको प्रगतीको कामना गरेका छन् । सचिव श्रीवास्तवको पहलमा यस अघि नेपाल फोटो पत्रकार महासंघ कपिलवस्तु शाखाले नेत्र ज्योती संघको शाखा अन्तर्गतको आँखा अस्पताललाई ८२ थान कम्मल हस्तान्तरण गरेको थियो ।
हालै मात्र उनकै पहलमा हेल्पिंग हेन्ड्स नामक संस्थाले संघलाई २१ लाख बराबरको आँखा उपचार सम्बन्धी उपकरण प्रदान गरेको थियो । शाखा सभापति रमेश शर्माको कार्यशैली र लुम्बिनी नेत्र बिज्ञान प्रतिष्ठानको एकलौटीपना विरुद्ध श्रीवास्तवले आफुले सचिव पदबाट राजीनामा दिएको बताए ।
काठमाडौं : फ्रान्समा आगामी मार्च महिनामा हुन लागेको निर्वाचनमा नेपाली मुलका निर्मल अर्याल रेभेइए ओबरभिलिए (Reveiller Aubervilliers)समूहको तर्फबाट नगर उपप्रमुखका लागि उम्मेद्वारी हुने भएका छन् । मार्चको १५ र २२ तारिकमा हुने स्थानीय तहको निर्वाचनका लागि हाल बसोबास गरिरहेको ओभरभिलिय नगरपालिकामा उपप्रमुख पदका लागि उम्मेद्वारी दिएको अर्यालले बताएका छन् ।
फ्रान्सको पेरिस नगरपालिकासँग जोडिएको सेनशाँनदनि जिल्लामा रहेको ओभरभिलिय नगरपालिका जिल्लाको चौथो ठुलो नगरपालिका हो भने यो नगरपालिकामा करिब ८५ हजार जनसंख्या रहेको छ । फ्रान्समा ३५ हजार भन्दा बढी स्थानिय तह रहेको छ जसमध्ये ८५ प्रतिशत गाउँपालिका रहेका छन् ।
एनआरएनए फ्रान्सका पूर्व अध्यक्ष तथा वर्तमान संरक्षक समेत रहेका अर्याल फ्रान्सकै एक प्रतिष्ठित इन्स्योरेन्स कम्पनीको सिनियर वातावरणीय इन्जिनियर हुँदै खरिद (procurment) प्रमुखको रुपमा कार्यरत रहेका छन् । सरल स्वभाव र सहयोगी भावना भएका अर्याल कुरा भन्दा काम गर्न मन पराउँछन् । अर्यालको जन्म नेपालको गोरखा जिल्लामा भएपनि उनको प्राथमिक तथा उच्च शिक्षा फ्रान्समै पूरा भएको थियो यसकारण उनी फ्रेन्च समुदायसँग र त्यहाँका सामाजिक कार्यकर्ताहरुसँग राम्रोसँग घुलमिल र नजिकबाट चिनिने मौका पाएका थिए । उनी नगरप्रमुख उम्मेद्वारका अत्यन्त नजिक र विश्वास पात्रको रुपमा चिनिन्छन् ।
उनको समुहलाई चुनावी मैदानको दौरानमा आवश्यक पर्ने आर्थिक संकलन र परिचालनको जिम्मा पनि उनै अर्याललाई दिइएको छ । अर्यालले उम्मेद्वारी दिएको रेभेइए ओबरभिलिए समूहमा राजनीतिमा लागेका व्यक्तिहरु कम छन्, यसमा धेरै जसो नागरिक समाजका व्यक्तिहरु आबद्ध रहेका छन् । यद्यपि यस समूहलाई फ्रान्सको सोसियलिष्ट पार्टी लगायत अन्य थुप्रै सानातिना पार्टीको पनि समर्थन रहेको छ । यो समूहको मूल नारा ‘एक दिगो र साझेदारी परियोजनाको लागि’ भन्ने रहेको छ । फ्रान्सको स्थानीय तहको समयावधी ६ वर्षसम्मका लागि हुने छ ।
यस्तो छ चुनावी प्रक्रिया
निर्वाचनको पहिलो चरणमा अत्याधिक बहुमत ल्याउने अर्थात ५० प्रतिशत भन्दा बढी मत ल्याउनेले नगरपरिषद्को जम्मा संख्याको आधा हिस्सा लग्छ र बाँकी रहेको सिट समानुपातिक ढङ्गले ५ प्रतिशत भन्दा माथि भोट ल्याउने लिष्टलाई बाँडिन्छ ।
पहिलो चरणमा अत्याधिक बहुमत नआए न्यूनतम १० प्रतिशत ल्याउने लिष्ट दोस्रो राउण्डमा जान पाउँछ । दोस्रो राउण्डमा जाने लिष्टहरु मिसिन मिल्ने प्रावधान छ । न्यूनतम ५ प्रतिशत भोट ल्याए १० प्रतिशत भन्दा बढी भोट ल्याउने लिष्टसँग मिसिएर दोस्रो राउण्डको चुनावमा भाग लिन पाउँछ ।
दोस्रो राउण्डमा कुनै पनि लिष्टको बहुमत नआएमा अग्रपंक्तिमा रहेको लिष्टले बहुमतको ५० प्रतिशत सिट लैजाने व्यवस्था छ । र अरु बाँकी सिट भोट पाएको हिस्साले समानुपातिक हिसाबले बाँडिन्छ । स्थानिय चुनावमा महिला र पुरुषको हिस्सा बराबरी हुनु पर्ने प्रावधान छ । लिष्ट तय गर्दा पार्टी अथवा समुहले पुरुष महिला पालैपालो मिलाउनु पर्छ । नगरको जनसंख्याको आधारमा नगरपरिषद्को संख्या तोकिएको हुन्छ ।
ओभरभिलिय सहरमा नगरपरिषद्को संख्या ५३ जनाको रहेको छ । फ्रान्सको स्थानीय चुनावमा नगरप्रमुख को बन्ने भन्ने कुरा हरेक पार्टी अथवा समुहले घोषणा र दर्ता गर्नुपर्ने हुन्छ । नगरप्रमुख बाहेक अरु पदहरु निर्वाचनको परिणाम आएपछि तय गरिन्छ । तर अर्यालको भने उपप्रमुखमा लगभग पक्का भइसकेको छ ।
अर्यालको समुहले जिते नेपालीलाई हुने फाइदा
अर्यालको टिम रहेको ‘रेभेइए ओबरभिलिए’ समूहले उक्त नगरपालिकामा विजय प्राप्त गरेमा जिल्लाको चौथो ठुलो सहर समेत रहेको सहरमा नेपाली मुलको व्यक्ति नगरसमाजमा जितेमा नगर भित्ररहेका नेपालीहरुलाई स्थानीय रुपमा बढी र प्रभावकारी रुपमा सहयोग हुने छ । नेपाली समुदाय र फ्रेन्च समुदायको सम्बन्ध विस्तारमा टेवा पु¥याउने छ जसबाट फ्रेन्च समुदायसँग बढी घनिष्ठता र हार्दिकता बढाउन सक्दछ । त्यहाँ रहेका नेपालीहरुले स्थानीय तहको स्रोत र साधन नियम कानून सम्मत रहेर सहजरुपले उपयोग गर्ने सम्भवाना बढ्ने छ ।
नेपालको स्थानीय तह एवं सरकारसँग घनिष्ठता बढाउन पुलको काम गर्न सक्ने अवसर प्राप्त हुन सक्छ । नेपालीहरु आफ्नै समुदायमा मात्रै सिमित रहेको परिस्थितिमा नेपाली समुदाय र फ्रेन्च समुदायको सम्बन्ध विस्तारमा टेवा पुग्ने विश्वास लिइएको छ । फ्रान्समा नेपाली समुदाय धेरै सानो भएपनि यो अवसरले नेपाल चिनाउन सहयोग पु¥याउने छ । नेपाली कुट्नैतिक नियोगसँग हातेमालो गर्दै नेपालको स्थानीय तहसँग भगेनी सम्बन्ध विस्तार, सहयोग र संस्कृतिक आदन प्रदान र नेपाली जनताको हितमा काम गर्न सक्ने अवसर प्राप्त हुने छ ।
को हुन निर्मल अर्याल ?
२०३२ सालमा गोरखा जिल्लामा जन्मिएका निर्मल अर्याल १३ वर्षको उमेरमा आफ्ना पिता हरिहर अर्यालसँगै फ्रान्स गएका थिए । उनले माध्यामिक देखि एमफिल सम्मको पढाई फ्रान्समै पूरा गरे । पेसाले उनी सिभिल इन्जिनियर हुँदै वातावरण विज्ञानमा एमफिल गरेर हाल खरिद प्रमुख रहेका छन् ।
बौद्धिक क्षेत्रमा निकै अब्बल व्यक्तित्व अर्याल सामाजिक क्षेत्रमा पनि सक्रिय हुँदै आए । फ्रान्सको खे्रजीलेमोँ शहरमा खोलिएको फ्रान्स नेपाल बी पनौति मैत्री संघमा आबद्धता भएर सामाजिक क्षेत्रमा पहिलो पाईलाको सुरुवात गरे । तत्पश्चात विभिन्न संघ संस्थामा अबद्धता हुँदै सन् २००७ मा एनआरएनए फ्रान्सको युथ कोअर्डीनेटर भई जिम्मेवारी ग्रहण गरेभने युथ कोअर्डिनेटर हुँदा गरेको प्रशंसनिय कार्यले सन् २०११ मा उनले एनआरएनए फ्रान्सको अध्यक्ष पदको नेतृत्व गर्न पुगे ।
उनी अध्यक्ष भएको बखत गरेका कार्यलाई आज पनि फ्रान्सको नेपाली समुदायले एउटा स्वर्णीम पलको रुपमा सम्झना गरेको पाइन्छ । त्यो सँगै उनी फ्रान्सको सोसियलिष्ट पार्टीसँग निकट हुन थाले र पार्टीमा सहयोगी भुमिका निर्वाह गर्दै आए । फलस्वरुप उनी अहिले बसोबास गरिरहेको ओभरभिलिय नगरपालिका अन्र्तगत स्थापना भएको (सीसीसीई) विभिन्न ३२ देशको प्रतिनिधित्व गर्ने एउटा स्वेच्छिक वोर्ड जसले हरेक प्रकारको भेदभावका विरुद्धमा लड्ने, सुझाव दिने, सहयोग गर्ने र स्थानीय चुनावमा नगरभित्र बस्ने बासिन्दाहरुलाई भोटको अधिकार दिईनुपर्छ भन्ने बारे लविङ गर्ने समुहको अध्यक्ष समेत रहेर कार्य गरे ।
फ्रान्सको सेनशाँनदनि शहर स्थित सहकारी बैँकको तीन कार्यकाल अध्यक्ष समेत बन्न सफल भए यसरी उनीसँग आर्थिक क्षेत्रको पनि लामो अनुभव रहेको छ । उनी त्यो बैँकको अध्यक्ष रहँदा फ्रान्समा रहेका नेपालीहरुलाई खाता खोल्न, ऋण लिन मिल्ने सहज बाटो बनाइदिएका थिए । हरेक वर्ष जसो नेपाल आइराख्ने उनीमा नेपाली कला संस्कृति रीतिरीवाजप्रतिको चाख अझै मरेको छैन । उनले राष्ट्रिय समन्वय परिषद् फ्रान्सको अध्यक्ष हुँदा नेपालमा प्राकृतिक प्रकोपमा परी समस्यामा रहेकाहरुलाई ठुलो परिमाणमा आर्थिक सहयोग गरेका थिए ।
उनले अनाथ अपाङ्ग, गरिब बालबालिकाहरुलाई शिक्षा स्वास्थ्य क्षेत्रमा पाल्पा गोरखा र धादिङमा आर्थिक सहयोग पनि प्रदान गर्दै आइरहेका छन् । अर्याललाई साहित्य र लेखन क्षेत्रमा पनि चाख रहेको पाइन्छ । उनको ज्ञानविन्दु पत्रिकामा अंग्रेजी लेख प्रकाशन भएको पनि पाइन्छ । यी र यस्तै लगनशीलता, परीश्रमी, अध्ययनशीलता, सामाजिक भावना, जिम्मेवारीबोध र उच्च शिक्षित, अनुभवी व्यक्तित्व भएकै कारण उनी फ्रान्सको स्थानीय निर्वाचनमा सोसलिष्ट पार्टीको समूहबाट उम्मेद्वार बन्न सफल भएकोे पाइन्छ ।
इमरान खान/मध्यान्ह
काठमाडौं : चाइल्ड सेफ नेट (childsafenet) को आयोजनामा रेड सर्कल तथा डिजिटल ब्रोडकास्टिङ इन्सेटिभ इक्वएल एक्सेसको सहकार्यमा २३ जनवरी देखी सञ्चालन गरेको बालबालिका तथा युवाहरुको लागी साइबर सुरक्षा सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम आइतबार सम्पन्न भएको छ ।
काठमाडौं उपत्यका तथा बाहिरका गरी २० जना व्यक्तिहरुलाई अन्लाईन सिस्टमबाट छनोट गरी उक्त ४ दिवसीय कार्यक्रम सञ्चालन गरेको संस्थाका अध्यक्ष अनिल रघुबंशीले बताए । डिजिटल एज, इन्टरनेट, सामाजिक सञ्जाल, यसको प्रयोग, इन्टरनेटले बालबालिका तथा अन्य व्यक्तिलाई परेको समस्या, इन्टरनेटसम्बन्धी चुनौती तथा जोखिम, कानुनी प्रावधान, हालसम्मको अभ्यास, साईबर सुरक्षा सम्बन्धि ज्ञान सुरक्षित हुने तरीका लगाएतका प्रशिक्षण गराइएको अध्यक्ष रघुवंशीले जानकारी दिए । साथै आगामी फेब्रुअरी ११ मा सुरक्षित ईन्टरनेट दिवस (Safer Internet Day) समेत मनाउन लागिएको अध्यक्ष रघुवंशीले जानकारी दिए ।
अहिले भर्चुअल संसारले समेत ठुलो क्षेत्र ओगटेको बताउँदै संस्थाका उपाध्यक्ष पुष्कर माथेमाले सामान्य हेलचेक्राई तथा अज्ञानताले हामीहरु धेरै जसो साइबर सम्बन्धी समस्यामा परेको हुँदा प्रत्येक नेपालीलाई साइबर सुरक्षाका बारेमा जनचेतना फैलाउने उद्देश्यले संस्था खोलिएको बताए । यो तालिम तेस्रो प्रशिक्षक प्रशिक्षण तालिम रहेको र यो तालिमपछि प्रशिक्षकहरुले बालबालिका नवयुवाको लागी साइबर सुरक्षाबारे तालिम प्रदान गर्ने समेत उपाध्यक्ष माथेमाले जानकारी दिए ।
शुभ नारायण कामती/मध्यान्ह
सिरहा : प्रदेश २ सरकारले सञ्चालन गरेको ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत सिरहा नगरपालिका वडा नं. ९, १०, ११, १२ र २२ मा शनिबार सम्पन्न छोरी शिक्षा बीमा सप्ताह शिविरमा १२७ छोरीको बीमा गरिएको छ । सिरहाको कल्याणपुर नगरपालिका तथा नरहा र अर्नमा गाउँपालिका र सिरहा नगरपालिका उक्त ५ वडामा सम्पन्न छोरी शिक्षा बीमा सप्ताह शिविरमा हाल सम्म ५३७ छोरीको बीमा गरिएको छ ।
गत २०७५ माघ २ पछि जन्मिएका सबै छोरीको बीमा गर्न सिरहाको कल्याणपुरमा दुई दिन, नरहा गाउँपालिकामा एक दिन, अर्नमा गाउँपालिकामा २ दिन र सिरहा नगरपालिकामा पहिलो दिन उक्त ५ वडामा हाल सम्म ५३७ छोरीको बीमा गरिएको जनाइएको छ ।
सिरहाको कल्याणपुर नगरपालिकास्थित रेडक्रस भवनमा सम्पन्न शिविरमा १९७ जना तथा नरहा गाउँपालिकामा ९३ जना, अर्नमा गाउँपालिकामा १२० जना र सिरहा नगरपालिकाको उक्त ५ वडामा गरी १२७ जना छोरीको बीमा गराइएको सामाजिक सुरक्षा सिरहा जिल्ला संयोजक टीकाराम विश्वकर्माले जानकारी दिएका छन् । शिविरमा छोरीहरुलाई काखमा च्यापेर बीमा गराउन शिविरस्थलमा अभिभावकहरुको घुइँचो लाग्ने गरेको छ । सिरहाको १७ वटै स्थानीय तहहरुमा शिविर सञ्चालन गर्ने योजना रहेको संयोजक विश्वकर्माले बताए ।
छोरा र छोरीबीच हुने विभेदलाई अन्त्य गर्दै छोरीहरुको शिक्षामा पहुँच पुर्याउने उद्देश्यले सञ्चालित छोरी शिक्षा बीमा सप्ताह शिविरमा गत २०७५ माघ २ गतेपछि प्रदेश २ मा जन्मिएका सबै छोरीको सबै कागजात पूरा गरी शिविरमै बीमा गरिने जनाइएको छ । छोरी शिक्षा बीमा शिविरमा बीमा गराउने छोरीहरुको प्रभु बैंकमा मुद्धति खाता खोलेर बीमा गरिने र बीमा बापत लाग्ने रु १३ हजार ५४७ प्रिमियम रकम प्रदेश सरकारले नै खातामा जम्मा गरिदिने प्रदेश २ सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिए ।
प्रदेश २ सरकारले ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत २०७५ सालदेखि नै छोरी शिक्षा बीमा शुरु गरे पनि कर्मचारी अभावमा प्रभावकारी हुन नसकेपछि प्रदेशभरिका सबै स्थानीय तहहरुसँग समन्वय गरी स्थानीय तहहरुमा छोरी बीमा सप्ताह शुरु गरिएको हो ।
काठमाडौं : नेपालस्थित भारतीय दूतावासका कार्यबहाक राजदूत डा. अजयकुमारले योग शिक्षा नेपाल र भारतको साझा पद्धति भएको बताएका छन् ।
स्वामी विवेकानन्द सांस्कृति केन्द्रको आयोजना दूतावासमा भएको कार्यक्रममा कार्यवहाक राजदूत अजयकुमारले योग नेपाल र भारतको साझा पद्धति भएको बताएका हुन् । उनले स्वास्थ्यको प्राकृतिक तरिकाबाट उपचारमा ध्यान दिन आग्रह गर्दै औषधी र रासायनका सक्दो कम प्रयोग गर्न सुझाव समेत दिए ।
सांस्कृतिक केन्द्रका निर्देशक प्रोफेसर केदारनाथ शर्माले एक महिने एडभान्स योग शिक्षाको समापन र एक दिने एडभान्स तबला प्लेइङ वर्कसप गरिएको बताए ।
एक महिने योग प्रशिक्षण पुरा गरेका ३७ जनालाई कार्यबहाक राजदुत अजयकुमारले प्रमाणपत्र प्रदान गरेका थिए । उनीहरुको लिखित तथा प्रयोगात्मक परीक्षा गराएर उपाधि प्रदान गरेको हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies