२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

दोहाको एक ज्वेलरीका सञ्चालकले १ सय नेपालीको लाखौं रियाल ठगी गरेको आरोप

shivam cement
तिलु शर्मा पौडेल
२०८२ पुष ८ गते २१:५६
Shares
दोहाको एक ज्वेलरीका सञ्चालकले १ सय नेपालीको लाखौं रियाल ठगी गरेको आरोप

दोहा कतार : कतारको राजधानी दोहाको मुटुमा रहेको गोल्ड सुकभित्र रहेको ‘गोल्डेन स्टोन ज्वेलरी’ नामक सुनचाँदी पसलका सञ्चालकले करिब १ सय नेपालीबाट १० देखि १५ लाख रियाल ठगी गरी सम्पर्क विहीन भएको घटना सार्वजनिक भएको छ । 

आइतबार साँझ एनआरएनए एनसीसी कतारका अध्यक्ष कृष्ण पन्थी, उपाध्यक्ष तथा श्रमिक विभाग संयोजक सन्तोष पौडेलसँग आफ्ना गुनासा राख्न र सहयोगको याचना गर्न दर्जनौं पीडित गोर्खाली रेस्टुरेन्ट मुन्ताजामा आइपुगेपछि घटना सार्वजनिक भएको हो । 

पीडितहरूले पत्रकारको खोजी गरेको सूचना पाए लगत्तै मध्यान्हकर्मी सोही स्थानमा पुग्दा करिब २ दर्जन पीडितहरू मलिनो अनुहार लगाएर बसेका थिए । 

‘नेपालीले नेपालीलाई नै ठगे गहना बनाउन अर्डर दिँदा एड्भान्स दिएको रकम कुम्ल्याएर साहु नै भागे’ उनीहरुले भने,‘पसल खुल्ला हुँदा त हामीले अर्डर गरेको गहना पाइन्छ भन्ने लागेको थियो, अहिले त पसल बन्द छ, यस कारण हामी ठगियौं भन्ने लागेको छ ।’

पीडितहरूका गुनासाहरूलाई ध्यानपूर्वक सुनिरहेका पन्थीले पीडकको खोजी र कानुनी सहायताका बारेमा बुझाए । नाम नखुलाउने सर्तमा अर्का एक पीडितको ५० हजार कतारी रियाल अर्थात् झन्डै २० लाख नेपाली रुपैयाँ फसेको बताए । उनले कतारमा रहेका परिवारका लागि गहना अर्डर गरेको दाबी गरे ।

पीडितहरू नेपाली पुरुष मात्र नभएर महिलाहरू समेत रहेको पाइएको छ । पुराना गहनालाई नयाँ बनाउनेदेखि सोही पसलमा बनाएका गहना साट्नेसम्मको कारोबार गर्ने पसलले विश्वास जितेर ग्राहक ठगेको देखिन्छ । 

नेपाली नागरिक बाहेक नेपाली भाषी भुटानी नागरिकहरूलाई समेत ठगी गरी फरार हुने सिराहाका मोहम्मद नरिसुल रैन रहेका छन् । उक्त पसलको दर्ता नरिशुलको नाममा रहेको कतारको उद्योग तथा वाणिज्य विभागको रेकर्डमा देखिन्छ । उनीमाथि लागेको आरोप उपर उनको विचार लिनका लागि सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् । 

उनको परिवारको निकट एक व्यक्तिका अनुसार उनी विगत २ महिना भन्दा बढी लामो समयदेखि नेपालमा रहेको र आफू पसलमा रहँदा कसैको पनि उधारो कारोबार बाँकी नरहेको दाबी गरेका छन् । 

आफू कतार हुँदा कसैको कारोबार बाँकी भए नेपालबाट नै हिसाब मिलाउन आफू तयार रहेको बताउँदै सबै बेइमानी आफ्नो व्यवसायिक साझेदारले गरेको दाबी गरेको नरिशुललाई उद्धृत गर्दै परिवारका सदस्यले मध्यान्हलाई जानकारी दिए ।   

नारिशुलका व्यवसायिक साझेदार रहेका रौतहट जिल्ला जिंगडवा–९ निवासी मो.मोआज आलमलाई सम्पर्क गर्दा सम्पर्क हुन सकेन । उनलाई मध्यान्हकर्मीले आफ्नो परिचय दिएर विभिन्न माध्यमबाट सम्पर्क गर्दा समेत उनले प्रश्नको जवाफ दिएनन्  ।

यद्यपि उनको कतारी आइडी नम्बरमार्फत कागजात चेक गर्दा भने उनी पसलको साझेदार भने देखिएका छन् ।  नेपाली व्यवसायीबाट कतारमा श्रमिक ठगिएको यो निकै ठुलो घटना हो । नेपालीहरू सुन पसलबाट ठगिएको कुरा बाहिर आएपछि धेरैजसोले यस घटनालाई शंकाको नजरले हेरेपनि पीडितहरूले यहाँको स्थानीय प्रशासनमा समेत लिखित उजुरी दिएका छन्  । पीडितहरूले एनसीसी कतारमा समेत सहयोगको याचना गरेपछि एनसीसी कतारका तृतीय उपाध्यक्ष जहागिर आलमसहित पीडितहरू दूतावास पुगेर आफ्ना समस्या राखेका थिए । कतारको कानुनको पालना गर्दै पीडितहरूले दिएको उजुरीप्रति दूतावासले ऐक्यबद्धता जनाउँदै दूतावासका तर्फबाट सक्दो साथ सहयोग रहने बताएको एक सहभागीले बताए । 

पीडितहरूले एक ह्वाट्स एप ग्रुप क्रियट गरी पीडितलाई जोड्दै जाँदा करिब एक सय जना पीडित ग्रुपमा जोडिएको पीडित महिला जानकारी दिइन् । 

सुन प्रकरण बाहिरिएपछि कतारको नेपाली समुदाय समेत संशकित बनेको छ । यस प्रकरण तथा कानुनी प्रावधानका बारेमा राष्ट्रिय मानवअधिकार आयोग कतारमा कार्यरत प्रो.मोहम्मद रमजान अलि मियाँसँग जिज्ञासा राख्दा उनले आफू कहाँ विधिवत् रूपमा राष्ट्रिय मानवअधिकार आयोगको नाममा निवेदन/उजुरी आए हामी कतारको सम्बन्धित निकायमा यसलाई पु¥याउने र थप सहयोग गर्ने बताए । 

आफू व्यक्तिगत रूपमा कम्युनिटी पुलिस र इकोनोमी क्राइम ब्रान्चमार्फत पनि ठगी गर्ने व्यक्ति अथवा गिरोहको गतिविधिबारे जानकारी गराइ पीडित पक्षलाई न्याय दिलाउने प्रयास गर्ने बताए । 

यता एनसीसी कतारका अध्यक्ष पन्थीले पनि आफू पीडितहरूको साथमा रहेको बताउँदै आफ्नो तर्फबाट हुने सबै सहयोग गर्न तयार रहेको बताए । 

सम्बन्धित खबर