२०८२ कार्तिक २५ गते मङ्गलवार / Nov 11 , 2025 , Tuesday
२०८२ कार्तिक २५ गते मङ्गलवार
Ads

कतारको सडकमै अस्ताए स्याङ्जाका लीलबहादुर

shivam cement
तिलु शर्मा पौडेल
२०८२ कार्तिक २४ गते २०:४७
Shares
कतारको सडकमै अस्ताए स्याङ्जाका लीलबहादुर

दोहा कतार : कतारमा एक नेपालीले सडक दुर्घटनामा ज्यान गुमाएका छन् । रोजगारीका सिलसिलामा कतारमा रहेका स्याङ्जा बिरुवा गाउँपालिका–७ का ३७ वर्षीय लीलबहादुर गुरुङले रोड साईडमा उभिएको बेला तीव्र गतिमा आएको गाडीले ठक्कर दिँदा उनले घटनास्थलमै ज्यान गुमाएका हुन् । 

गत अक्टोबर महिनाको २९ तारिख रातको ८ बजे ड्युटी सकेर निवासतर्फ फर्कँदै गर्दा गुरुङले चलाएको सवारी साधनमा समस्या देखिएपछि भिलाजियो रोडमा गाडी साइडमा पार्क गरेर सडक किनारमा उभिएको अवस्थामा अर्को गाडीले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको तमु (गुरुङ) समाज कतारका महासचिव धन गुरुङले मध्यान्ह दैनिकलाई जानकारी दिए । 

२ छोरी र श्रीमती समेत रहेका गुरुङको शव आइतबार राति नेपाल पठाइ सोमबार पोखराको शक्तिघाटमा गुरुङ परम्परा अनुसार अन्तिम संस्कार गरिएको छ  । 

मृतकको शव नेपाल पठाउनका लागि एनआरएनए एनसिसि कतारका श्रमिक विभागका संयोजक सन्तोष पौडेल, उपाध्यक्ष अर्जुन संग्रौला र महिला उपाध्यक्ष टौमाया गुरुङ नेपाली नियोग पुगेर समन्वय गरेका थिए । एनसीसीसँगै नेपाली राजदूतावास र तमु समाज कतारको सहकार्यमा आइतबार मृतकका आफन्त धर्मबहादुर गुरुङले शव लिएर नेपाल फर्किएका थिए । यता श्रमिक संयोजक पौडेलले वैदेशिक रोजगारीमा जहाँ रहे पनि समयमै श्रम नवीकरण गर्न र रोडमा उभिँदा या क्रस गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेका छन् । 

एक दशकअघि रोजगारीका लागि कतार आइपुगेका गुरुङ २०१६ देखि गुरुङ समाजमा आबद्ध भएका थिए । आफैमा कुशल नृत्य गर्ने उनी यहाँको एक स्थानीय कम्पनीमा सवारी चालकका रूपमा कार्यरत थिए ।

ADV

सम्बन्धित खबर