२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

मुन्धुम बन्दैछ पदमार्गको नयाँ गन्तव्य, १५ दिनमा ८० किलोमिटर यात्रा

ADV
छबि सापकोटा
२०८१ असार ५ गते २१:४५
मुन्धुम बन्दैछ पदमार्गको नयाँ गन्तव्य, १५ दिनमा ८० किलोमिटर यात्रा

काठमाडौं : खोटाङ, भोजपुर, सोलुखुम्बु र संखुवासभाको सीमा क्षेत्रमा पर्छ मुन्धुम पदमार्ग । २०७५ कात्तिकमा नेपाल सरकारले घोषणा गरेको नेपालका घुम्नैपर्ने सय वटा पर्यटकीय गन्तव्यको सूचीमा मुन्धुम पदमार्गलाई राखिएको थियो । मुन्धुम पदमार्ग करीब ८० किलोमिटर रहेको छ । विसं २०१० जेठ १६ शेर्पा र हिलारीले सगरमाथा आरोहण गर्न जाने क्रममा मुन्धुम पदमार्गको प्रयोग गरेको बताइन्छ । मुन्धुम पदमार्गलाई नयाँ पर्यटकीय गन्तव्यको रुपमा अगाडि बढेसँगै मुन्धुम ट्रेल प्रर्वद्धन गर्न सन् २०२५ लाई मुन्धुम ट्रेल भ्रमण वर्ष घोषणा गरिएको हो । 

पछिल्लो समय पदमार्ग भएकै स्थानबाट सडक सञ्जाल लैजाँदा पदमार्गको हराउँदै गएका छन् । नेपालको पदमार्गको लागि उत्तम गन्तव्य हुँदाहुँदै पनि हामीले आफ्नो प्राकृतिक सम्पदालाई जोगाउन नसक्दा पदमार्ग लोप हुने अवस्थामा पुगेका छन् । तर नयाँ पदमार्गको रुपमा रहेको मुन्धुम पदमार्गलाई व्यवस्थित बनाउन पूर्वी क्षेत्रमा राजनीतिक व्यक्तिदेखि पर्यटन व्यवसायीहरु पनि लागि परेका छन् । 

मुन्धुम पदमार्गमा पूर्वी नेपालका राई, लिम्बू, सुनुवार र कुलुङ आदिवासी समुदायका विभिन्न ऐतिहासिक स्मारक समेत रहेका छन् । मुन्धुमलाई सहज पदमार्गका रुपमा अगाडि बढाउने काम भइरहेको छ । भ्रमण वर्षको मुख्य आकर्षणमा होमस्टे, सुन्तला, धामी, साकेला उभौली र उधौली, रुद्राक्षलगायत महोत्सव आयोजना गर्ने र एक लाख बढी पर्यटक भित्र्याउने गरी भ्रमण वर्षको तयारी गरिएको छ । 

पूर्व पर्यटनमन्त्री सुदन किराँतीले मुन्धुम ट्रेल अरु भन्दा फरक सांस्कृतिक मार्ग भएको उल्लेख गर्दै यसको प्राकृतिक स्वरुप नबिग्रिने गरी पर्यटन विकास गर्नुपर्नेमा जोड् दिएका छन् । ‘रैथाने र मौलिक संस्कृति सहितको पर्यटन नै नेपालको पर्यटनको विशेषता हो,  मुन्धुम पदमार्ग नेपालको आन्तरिक र बाह्य पर्यटकको नयाँ गन्तव्यको बनाउँदा समग्र पर्यटनमा टेवा पुग्नेछ’, उनले भने ।

यस्तै पूर्व मन्त्री शंकर शर्माले मुन्धुम ट्रेल एउटा नयाँ र मौलिक पर्यटकीय गन्तव्य भएको भन्दै पुर्वको पर्यटन क्षेत्रको विकासको लागि नयाँ आयाम थप्ने गन्तव्य रहेको बताए । मुन्धुम पदमार्गमा विश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथा, आठ हजार माथिका ल्होत्से ल्होत्से शार, मकालु, चोयु र कञ्चनजंघाको अवलोकन गर्दै आफनो यात्रा पूरा गर्न सकिन्छ । यस्तै  ३३ वटा हिमश्रृंखला र तराईको भूभाग समेत अवलोकन गर्न सकिने छ । 

यसका साथै मन्धुम संस्कृति, रीतिरिवाज, १० भन्दा बढी किराँती बसोबास गर्ने भएकोले समेत यो पदमार्ग नेपालको चिनाउने गन्तव्य बन्ने देखिन्छ । पर्वतीय पर्यटन व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) का अध्यक्ष निलहरि बास्तोलाले स्थानीय सरकारको विशेष पहल गरेर यो पदमार्ग भर्जिन डेन्टिनसनको रुपमा अगाडी बढाउनुपर्ने बताउँछन् । उनी भन्छन् ‘नेपालाई पदमार्गकै रुपमा विकास गर्नुपर्छ, अहिले सडक सञ्जालमा स्थानीय तहले जोड दिँदा पदमार्ग हराउँदै गएका छन्, यस्तै हो भने पदमार्ग लोप हुँदा पर्यटकका लागि आकर्षण क्षेत्र समेत लोप हुन सक्छ ।’

भोजपुर र खोटाङको सीमानामा पर्ने टेम्के डाँडाबाट शुरु हुने पदयात्रा मैयुङ डाँडा, सिलिचुङ डाँडा हुँदै साल्पापोखरीसम्मको रहेको छ । चखेवा डाँडा, टेम्के डाँडा सोही ठाउँको टेम्के मन्दिर, हाँस पोखरी र साल्पासिलिचुङ यस मुन्धुम पदमार्गका मुख्य पर्यटकीय स्थल रहेका छन् । यो पदमार्ग १५ दिनको हुनेछ । लामो पदयात्राभरी नै ढकमक्क गुराँस, सल्ला र रमणीय प्राकृतिक सम्पदाको मनोरम दृश्यसँगै यस क्षेत्रमा रातो पान्डा, घोरल, डाँफे, मयूर, हरिण, चितुवा, हिमाली कालो भालु देखा पर्ने गर्दछन् । 

मैयुङ टेम्के साल्पा सिलिचुङ टुरिजम प्रोमोसन सेन्टरका अध्यक्ष रमेशकुमार राईले सात वर्षदेखि ट्रेलको प्रवर्द्धन र प्रचारप्रसारका काम भएको भन्दै सन् २०२५ लाई मुन्धुम ट्रेल भ्रमण वर्ष मनाउन लागिएको बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise