दोहा, कतार : कतारको राजधानी दोहामा 'अरब-इस्लामी आपत्कालीन शिखर सम्मेलन' सोमबार साँझ सम्पन्न भएको छ । गत ९ सेप्टेम्बरमा इजरायलले दोहामा हमास नेताहरू बसोबास गर्दै आएको भनिएको आवासीय भवनमा हवाई आक्रमण गरेपछि कतारले अरब–इस्लामी आपत्कालीन शिखर सम्मेलनको आह्वान गरेको थियो । कतारसहित विभिन्न इस्लामी देशका राष्ट्राध्यक्ष र नेताहरू सहभागी सम्मेलनबाट प्यालेस्टाइनी जनताको पक्षमा कडा तथा एकताको सन्देश दिइएको छ ।
सम्मेलनमा सहभागी नेताहरूले इजरायलको पछिल्लो आक्रमणको निन्दा गर्दै प्यालेस्टाइनी जनतामाथि भइरहेको हिंसा तत्काल रोक्नुपर्ने माग गरे । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले सम्मेलनको उद्घाटन गर्दै दोहामा हमास नेताको परिवारमाथि लक्षित इजरायली आक्रमणको कडा आलोचना गरे । अमिरले कतार वार्ता र शान्तिको पक्षमा रहेको र वार्ताका प्रतिनिधिमाथि आक्रमण हुनु असह्य रहेको स्पष्ट पारे । “इजरायलले वार्ता टार्न चाहिरहेको” बताउँदै अमिरले इजरायली रवैया कतारलाई स्वीकार्य नहुने बताए । पचास भन्दा बढी मुस्लिम राष्ट्रहरूका प्रमुख तथा उच्च प्रतिनिधिहरू सहभागी सम्मेलनमा इस्लामी राष्ट्रका नेताहरूले एकै स्वरमा इजरायलका पछिल्ला गतिविधि प्रति आक्रोश व्यक्त गरेका थिए ।
तुर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगनले इजरायलमाथि ‘आतंकवादी मानसिकता’ भएको आरोप लगाउँदै इजरायलले अन्तर्राष्ट्रिय कानुन उल्लंघन गर्दै मानवीय मूल्यहरूमाथि हमला गरिरहेको धारणा राखे । इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल-सिसीले भने प्यालेस्टाइनी मुद्दा केवल एक देशको नभई सम्पूर्ण मुस्लिम विश्वको मुद्दा रहेको जिकिर गरे । इराक, इरान, मलेसिया, इन्डोनेसिया लगायत देशहरूले पनि प्यालेस्टाइनी जनतासँग ऐक्यबद्धता जनाउँदै संयुक्त कदम चाल्न आग्रह गरेका थिए । सम्मेलनमा अब मौन बस्न नमिल्ने बताउँदै नेताहरूले ठोस कदम चाल्नुपर्ने बेला आएको बताएका थिए । प्यालेस्टिनी राष्ट्रपति महम्मद अब्बासले इजरायल विरुद्ध कडा कारबाही गर्न अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरे । सम्मेलनमा खासगरी मध्यपूर्वका नेताहरूले कतारको राजधानी दोहामा इजरायलले गरेको हवाई आक्रमणको कडा शब्दमा निन्दा गर्दै उक्त आक्रमण कतारी सार्वभौमिकताको गम्भीर उल्लंघन भएको धारणा राखेका थिए ।
गल्फले संयुक्त रक्षा परिषद् बोलाउने र गल्फको सामूहिक सुरक्षा प्रणालीलाई पुनः सक्रिय पार्ने निर्णय समेत गरेका छन् । यसले गल्फ क्षेत्रमा सम्भावित खतरा विरुद्ध सामूहिक जवाफ दिने तयारीको संकेत समेत गरेको छ । गल्फ राष्ट्रहरूले कतारमाथिको आक्रमणलाई सम्पूर्ण गल्फ राष्ट्रमाथिको आक्रमण सरह लिइने चेतावनी दिँदै इजरायलसँग कूटनीतिक र आर्थिक सम्बन्ध पुनरावलोकन गर्नुपर्ने आवाज समेत उठाएका थिए भने केही देशहरूले प्रतिबन्धको प्रस्ताव, हतियार आपूर्तिमा रोक र अन्तर्राष्ट्रिय अदालतमार्फत कारबाहीको सुझाव समेत दिएका थिए । कतारमा करिब साढे तिन लाख नेपाली कार्यरत रहेको र यहाँ काम गर्दै आएका नेपाली समुदायका लागि यो सम्मेलन प्रत्यक्ष चासोको विषय पनि बनेको थियो ।