२०८२ वैशाख ३ गते बुधवार / Apr 16 , 2025 , Wednesday
२०८२ वैशाख ३ गते बुधवार
Ads

चन्दननाथमा चर्को विवाद : मेयर कठायतको उजुरीपछि पक्राउ परे प्रशासन प्रमुख बुढथापा

draupadi film
दिलमाया शाही
२०८१ मंसिर २३ गते २२:३६
चन्दननाथमा चर्को विवाद : मेयर कठायतको उजुरीपछि पक्राउ परे प्रशासन प्रमुख बुढथापा

जुम्ला : जुम्लाको चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायतले प्रहरी समक्ष जाहेरी दिएपछि  नगरपालिकाका सातौँ तहका अधिकृत एवम् प्रशासन शाखा प्रमुख क्षेत्रबहादुर बुढथापा पक्राउ परेका छन् । प्रमुख बुढथापालाई प्रहरीले नियन्त्रणमा लिएसँगै  चन्दननाथ नगरभित्र विवाद उत्पन्न भएको छ । 

चन्दननाथ नगरपालिका जुम्लाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले यही मंसिर ९ गते रमानापत्र लिएर बैजनाथ गाउँपालिका बाँकेमा सरुवा जानुभन्दा २ दिन अगावै  मंसिर ७ गते निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा कामकाज गर्न छैटौँ तहका जनस्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतलाई जिम्मेवारी दिएपछि चन्दननाथ नगरपालिकाभित्र प्रशासकीय अधिकृतसम्बन्धी विवाद चर्किएको हो । 

चन्दननाथ नगरपालिकाभित्र सातौँ तहका अधिकृतहरु कार्यरत हुँदाहुँदै न्यौपानेले आफुले रमानापत्र बुझेर जानुभन्दा दुई दिन अगावै छैटौँ तहका महतलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिनु कानुन विपरीत भएको भन्दै चन्दननाथ नगरपालिकामा कार्यरत सातौँ तहका अधिकृत क्षेत्रबहादुर बुढथापाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई चिठी लेखी विरोध गरेका थिए ।

अर्कोतिर सरुवा भइ जाने कर्मचारीले निमित्त दिन नमिल्ने कानुनी व्यवस्थालाई वेवास्ता गर्दै सातौँ तहका कर्मचारी क्षेत्रबहादुर बुढ्थापा, खडानन्द चौलागाई, पूर्णसिंह ठकुरी हुँदाहुँदै छैटौँ तहका कर्मचारी महतलाई कार्यकारी दिनुले न्यौपानेले पनि कानुनको उल्लंघन गरेको देखिन्छ ।  

निजामति सेवा ऐन २०४९ को दफा ४६ मा कार्यालय प्रमुखको अधिकार प्रयोग गर्ने ब्यवस्था अनुसार कुनै कार्यालयको प्रमुख बिरामी भइ वा अन्य कुनै कारणले छोटो अवधिको लागि अनुपस्थित भएमा निज मातहतको दरबन्दी वा विशेष दरबन्दीभित्रको वा रिक्त दरबन्दीमा काजमा खटिएको कर्मचारीमध्ये निकटतम ज्येष्ठ निजामती कर्मचारीले निजको निमित्त जनाई दैनिक कार्य सञ्चालन गर्न पर्ने भनिएको छ । तर तत्कालीन चन्दननाथ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत न्यौपानले आफु सरुवा भइ जानु भन्दा दुई दिन अगाडि मनोमानी तरिकाले जनस्वास्थ्य निरिक्षक महतलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएपछि अहिले नगरमा विवाद चर्किएको छ । 

उपसचिव तहको दरवन्दी भएको चन्दननाथ नगरपालिका निमित्तकै भरमा सञ्चालन भइरहनु प्रशासनिक दृष्टिले बाञ्छनीय नभएकोले नगरपालिका प्रशासन शाखाका प्रमुख क्षेत्रबहादुर बुढ्थापाले यही मंसिर ११ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा नगरपालिका प्रशासन शाखाका प्रमुखको हैसियतले  कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ को परिच्छेद १२ को दफा ११४ को उपदफा १,२ र ३ मा भएको व्यवस्था विपरीत कानुनको उल्लंघन गरी आफ्नो व्यक्तिगत स्वार्थ परिपूर्तिका लागि यस चन्दननाथ नगरपालिकामा रहेका बरिष्ठ योग्य कर्मचारीहरुलाई जिम्मेवारी विहीन बनाइ कनिष्ठ कर्मचारीहरुबाट कार्य सञ्चालन गर्दै आएकोले कानुनमा भएको व्यवस्था तथा मन्त्रालयको निर्णय कार्यान्वयनका लागि अनुरोध गर्दै निवेदन दिएका थिए । उनको निवेदनमा यस नगरपालिकामा रहेको दरबन्दी राजपत्राङ्कित द्धितीय श्रेणी (उपसचिव) पठाइदिनु हुन समेत अनुरोध गरेका थिए । उनले दिएको निवेदनको आधारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंसिर १८ गते चन्दननाथ नगरपालिका, जुम्लालाई निजामति सेवा नियमावली, २०५० को नियम ४६ बमोजिम त्यस नगरपालिका वा अन्तर्गत कार्यरत कर्मचारीहरुमध्ये ज्येष्ठ कर्मचारीबाट दैनिक प्रशासनिक कामकाज गराउने व्यवस्था मिलाउनु भनी पत्रचार पनि गरेको छ ।

त्यस्तै नगरपालिकाका एक कर्मचारीका अनुसार आधारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंसिर १८ गते पठाएको पत्रअनुसार त्यहाँ कर्मचारीमध्येको जेष्ठताका आधारमा सातौँ तहका क्षेत्रबहादुर बुढथापा भएको भन्दै उनले नै निमित्त प्रमुख प्रशासकीय अधिकृतको काम गरेका थिए । उनका अनुसार चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायतले बुढ्थापाले काम गर्न नपाउने भन्दै दर्ता चलानी लुकाई दिएका थिए ।

त्यसलगतै बुढथापाले मंसिर २२ गते  शनिबार आफ्नो व्यक्तिगत फेसवुक पेजमा ‘यो ऋणाली र धनीले धेरैलाई लखेटी सक्यो । आउनेले विचार गर्नु नभए सिताराम खडका र धर्मराज न्यौपानेलाई सोध्नु’ भनेर स्टाटस लेखेर पोष्ट गरेका थिए । नगरपालिकाका मेयर राजुसिंह कठायतले हिजो २२ गते आइतबार सोही स्टाटसको आधारमा साइवरक्राइम अन्तर्गत जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय जुम्लाका निमित्त प्रमुख तथा प्रहरी निरीक्षक भानुभक्त अर्यालका अनुसार सोधपुछका लागि प्रहरी कार्यालयमा ल्याइएको बताएका छन् । अर्यालले भने, ‘नगरको आन्तरिक विवादको विषयमा हामीलाई जानकारी छैन । मेयरले साइवरक्राईम गरेको भनी उजुरी दिएपछि यहाँ ल्याएका छौँ । सोधपुछ गर्न बाँकी छ ।’ यता चन्दननाथ नगरपालिका मेयर राजुसिहं कठायतले क्षेत्रबहादुर बुढथापालाई साइवरक्राईम अन्तरगतको उजुरी दिएको बताएका छन् । उनले नगरपालिकाका कर्मचारी भएर पनि आफ्नाविरुद्ध जथाभावी सामाजिक सञ्जालमा गालीगलौज गरेको बताएका छन् । त्यस्तै चन्दननाथ नगरपालिकाका मेयर कठायतले आइतबारदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतका रुपमा खडानन्द चौलागाईं नगरको कामकाजको लागि जिम्मेवारी दिएका छन् । निमित्त प्रमुख प्रशासकीय अधिकृतका रुपमा रहेका चौलागाईले आफुलाई मंसिर २३ गतेका दिनदेखि मेयर राजुसिंह कठायतले जिम्मेवारी दिएको बताए । जुम्लाको एक मात्र नगरपालिका जुम्लाको यो प्रशासकीय अधिकृतको विवाद प्रशासनिक हुँदै साइवर क्राइमको विवादनमा जानुले चन्दननाथ नगरपालिका झनै चर्को विवादतिर गएको देखिन्छ । 

ADV

सम्बन्धित खबर

Advertise