२०८१ मंसिर २७ गते बिहिवार / Dec 12 , 2024 , Thursday
२०८१ मंसिर २७ गते बिहिवार

कर्णाली र सुदूरपश्चिममा हिमपात

ADV
२०८१ मंसिर २५ गते ०६:३०
कर्णाली र सुदूरपश्चिममा हिमपात

सुर्खेत : कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा सोमबार यस वर्षकै पहिलो हिमपात भएको छ । पश्चिमी वायुको प्रभावका कारण कर्णालीका हुम्ला, डोल्पा, सुदूरपश्चिमका अछाम, बाजुरा, डोटी, बैतडीलगायतका जिल्लाका उच्च हिमाली क्षेत्रमा हिमपात भएको हो ।

सोमबार बिहानैदेखि हिमपात हुँदा यहाँको तापक्रम घटेको छ । जुम्लामा न्यूनतम तापक्रम घटेर माइनसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

हिमाली जिल्लामा हिमपात हुँदा दैनिक रूपमा नेपालगन्जदेखि हुने उडानसमेत प्रभावित भएको छ । सोमबार नेपालगन्जमा पहाडी तथा हिमाली जिल्लामा कुनै पनि उडान भएनन् । मौसम प्रतिकूल नहुँदा उडान भर्न नसकिएको नेपालगन्ज विमानस्थल कार्यालयले जनाएको छ ।

हिमपातसँगै चिसो बढेपछि यहाँको जनजीवन प्रभावित भएको छ । बिहानैदेखि हिमपात हुँदा घर बाहिर निस्किनसमेत समस्या भएको छ ।

उत्तरी नाम्खा गाउँपालिकाका लिमी, हल्जी, जाँङ, तिलमा १ फिट हिमपात भएको स्थानीयले जनाएका छन् । वर्षकै पहिलो हिमपात भएकाले बाक्लो हिमपात हुन्छ ।

उता, सुदूरपश्चिमका बाजुरा, अछाम, बैतडी, डडेल्धुरा, डोटीलगायतका हिमाली तथा पहाडी जिल्लाका उच्च लेकाली भेगमा हिमपात भएको छ । डोटीको बडिकेदार गाउँपालिकाको खड्यौली, अतरकाडा, बडिकेदार धामलगायत क्षेत्रमा हिमपात भएको छ । बोगटान फुड्सिल गाउँपालिकाका विभिन्न ठाउँमा हिमपात भएको छ ।

खप्तड शिखर, नापानी, केदार धुरालगायत उच्च लेकाली क्षेत्रमा अहिलेसम्म पानी परिरहेको स्थानीयवासीले बताएका छन् । यस्तै, बैतडीको ग्वाल्लेक खोड्पे, अनारखाली, ढोल्यामोड, सिगास, मेलौलीलगायतका उच्च लेकाली स्थानमा पनि हिमपात भएको छ । हिमपातका कारण हिमाली क्षेत्र सेताम्मे देखिएका छन् ।

बढ्दो चिसोले ज्यालादारी काम गरेर खाने वर्गलाई समस्या भएको छ । उनीहरू चिसोले गर्दा काममा निस्किन सकेका छैनन् । चिसोको समयमा कर्णाली र सुदूरपश्चिमका हिमाली जिल्लामा अत्यधिक हिउँ पर्छ ।

उच्च लेकाली क्षेत्रमा वर्षासँगै हिमपात भएको बैतडीका निमित्त प्रहरी प्रमुख एवं प्रहरी निरीक्षक जनकराज ढुंगानाले जानकारी दिए । बैतडीसँगै डडेल्धुरा, डोटीलगायत पहाडी जिल्लाका उच्च लेकाली भेगमा हिमपात भएको छ ।

वर्षा र हिमपात हुँदा किसान भने हर्षित भएका छन् । खडेरीका कारण हिउँदेबाली सुक्न लागेका बेला वर्षा र हिमपातले बालीनाली सप्रने भएकाले खुसियाली छाएको हो ।

२४ घण्टामा मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा तथा बाग्मती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको जनाएको छ ।

बिहानको समयमा तराई तथा उपत्यकाका धेरै स्थानमा हुस्सु साथै थोरै स्थानहरूमा कुहिरोको सम्भावना रहेको पनि विभागले जनाएको छ ।

बाजुरामा आइतबार रातिदेखि वर्षासँगै हिमपात भएको छ । मौसम बदली भएर वर्षा भएसँगै लेकाली भेगमा हिमपात सुरु भएको हो ।

हिमाली गाउँपालिकाको बिच्छ्या, रुगिन, बाँधु, स्वामीकार्तिकको जुकोट, जगन्नाथ गाउँपालिकाको गोत्री क्षेत्रमा हिमपात भएको वडा– ६ का स्थानीय जयप्रसाद पाण्डेले बताए । 

यसैगरी गौमूलको दहकोट, मानाकोट, बूढीनन्दाको कुरु, पाण्डुसैन, खप्तड छेडेदहको काँडा, जयबागेश्वरी, बडीमालिका रजाली, मार्तडी, ढम्कनेलगायत क्षेत्रका अग्ला भागमा हिमपातले डाँडा सेताम्मे भएका छन् ।

हुम्लामा पनि यस वर्ष पहिलो पटक हिमपात भएको छ । सदरमुकाम सिमकोटमा ३ इन्च हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकाको उच्च भेगमा रहेको लिमीलगायतका क्षेत्रमा १ फिट हिउँ जमेको लिमी स्वास्थ्यचौकीमा कार्यरत लोग बोहराले बताए ।

हिमपातपछि सदरमुकाम सिमकोट र आसपासका डाँडाकाँडा सेताम्मे भएका छन् भने जनजीवन प्रभावित भएको छ । उत्तरी नाम्खाका चाला, लिमी, हिल्सा, यारीलगायतका क्षेत्रको जनजीवन प्रभावित भएको छ ।

यहाँका धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिका, पोरखे लेक, कालाजग्रा, दह डाँडा, बडालेख, खप्तड राष्ट्रिय निकुञ्जमा पनि हिमपातले छोपेको छ । सदरमुकाम मार्तडी आसपासमा पनि हिमपात भएको बडीमालिका– ३ का स्थानीय कमल रावलले बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise