काठमाडौं : सरकारले गत भदौ २४ गतेको विध्वंसमा संलग्नमाथि कारबाही सुरु गरेको छ । भदौ २३ गते र २४ गते जेनजी आन्दोलन भएको थियो । शान्तिपूर्ण आन्दोलनमा सरिक भएर गलत नियतका साथ कतिपयले भदौ २४ गते राज्यका महत्वपूर्ण र ऐतिहासिक संरचनामाथि आगजनी र तोडफोड गरेको सरकारको निष्कर्ष छ । यही निष्कर्षका आधारमा सरकारले विध्वसंमा संलग्नको खोजी, नियन्त्रण, अनुसन्धान र कारबाही प्रक्रिया सुरु गरेको हो ।
आइतबार मात्रै दोलखाको शैलुङ गाउँपालिका–१ घर भई काठमाडौं महानगरपालिका–३२ जडीबुटी बस्ने ४८ वर्षीय गौतम घिसिङ पक्राउ परे । उनी २४ भदौको जेनजी प्रदर्शन क्रममा प्रहरीमाथि आक्रमण गर्दै हतियार लुटपाटमा संलग्न रहेको प्रहरीको आरोप छ ।
घिसिङलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट थप आठ दिन हिरासतमा राख्नेगरी अनुमति लिएको छ । अदालतको अनुमति लिएर ज्यान मार्ने उद्योग र आपराधिक उपद्रव गर्न नहुने कसुरमा अनुसन्धान गरिरहेको काठमाडौं प्रहरी परिसरले जनाएको छ । प्रहरीका अनुसार घिसिङ बैंकिङ कसुर मुद्दाका फरार अभियुक्तसमेत हुन् । उनीमाथि ४ असोज २०७९ र १० फागुन २०७९ मा बैंकिङ कसुर मुद्दामा प्रहरी वृत्त गौशलामा मुद्दा दर्ता भएको थियो । उनै घिसिङ २४ भदौको जेनजी प्रदर्शनका क्रममा प्रहरीमाथि आक्रमण गर्दै हतियार लुटपाटमा संलग्न रहेको आरोपमा पक्राउ परेका हुन् ।
यसअघि तिब्बतीयन ओरिजिनल ब्लड (टिओबी) समूहका तेन्जिङ दावा लामा पक्राउ परेका थिए । प्रहरीका अनुसार उनको नागरिकताको प्रमाणपत्र काठमाडौं जिल्ला प्रशासन कार्यालयको सिस्टममा भेटिए पनि ढड्डामा निवेदनका कागजात भेटिएको छैन ।
पेस्तोल देखाएको भिडिओ बनाउँदा पक्राउ परेका लामाको जन्मदर्ता र नागरिकता नै शंकास्पद रहेको विषयमा जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ । यसबारे बुझ्न प्रहरीले काठमाडौं महानगरपालिका–६ को वडा कार्यालय र जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरेको छ ।
जेनजी आन्दोलनका क्रममा नेताहरूको घर तोडफोड गर्नेहरू समेत पक्राउ पर्न थालेका छन् । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको घरबाट फ्रिज र उफर चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । प्रहरी वृत्त गौशालाले सिन्धुली घर भई हाल रातोपुलमा डेरा गरी बस्दै आएका ४० वर्षीय रमेश थामीलाई पक्राउ गरेको हो । गौशाला प्रहरीका अनुसार थामीको साथबाट फ्रिज र उफरसमेत बरामद गरिएको छ ।
भ्रष्टाचारविरुद्ध आन्दोलनमा उत्रिएका जेनजीमाथि राज्य पक्षले दमन गर्दा भदौ २३ गते एकै दिन कम्तीमा २१ जनाको प्रहरीको गोली लागेर ज्यान गएको थियो । त्यसको भोलिपल्टको प्रदर्शनले विध्वंसको रूप लिएको थियो । नयाँ बानेश्वरस्थित संसद् भवन, केन्द्रीय प्रशासनिक निकाय सिंहदरबार, सर्वोच्च अदालतसहितका महत्वपूर्ण संरचनामा आगजनी भएको थियो । ठुला दलका पार्टी कार्यालय र शीर्ष नेताका घरमा आगजनी र तोडफोड भएको थियो । धेरैजसो ठाउँमा लुटपाट भएको छ ।
आन्दोलनका नाममा विध्वंस मच्चाउने र लुटपाटमा संलग्नमाथि प्रहरीले अनुसन्धान सुरु गरेको हो । अपराधिक मानसिकता र पृष्ठभूमिका व्यक्तिहरूबारे अनुसन्धान गरेर पक्राउ गर्दै कारबाही प्रक्रिया अगाडि बढाएको हो ।