नवलपरासी : नेपाल–भारत सीमावर्ती पश्चिम नवलपरासी जिल्लाको महेशपुर सीमा नाकामा बस र टेम्पो व्यवसायीबीचको विवाद चार वर्षदेखि यथावत् रहेको छ । जारी विवाद समाधान नहुँदा यातायात मात्र होइन, स्थानीय बजारसमेत प्रभावित भएको छ ।
बस व्यवसायीहरूले टेम्पो व्यवसायीले सीमा नाकाबाट यात्रु उठाएर गन्तव्यसम्म पुर्याउँदा आफ्नो लगानी डुब्ने अवस्था आएको गुनासो गरेका छन् । बस व्यवसायी मुजीम मोमिनले भने, ‘हामीले २० देखि ३० लाख रुपैयाँ लगानी गरेर बस किन्छौँ, तर टेम्पोले यात्रु बोकेपछि बस खाली गुडाउनुपर्ने अवस्था छ ।’
यात्रु नआउँदा बजारमा कारोबार घटेको व्यापारीहरूको गुनासो छ । ‘बजारमा मान्छे आउनै छाडेपछि व्यापार नै सुकेको छ,’एक स्थानीय व्यापारीले भने ।
उता टेम्पो व्यवसायीहरूले भने उल्टै बस व्यवसायीहरूले नै सीमा नाकामै यात्रु ओसार्ने गरेको आरोप लगाएका छन् । ‘टेम्पोले मात्र यात्रु बोक्छ भन्ने गलत हो । बसवालाहरू पनि नाकामै यात्रु चढाउँछन् । समस्या समाधान गर्न निष्पक्ष निर्णय हुनुपर्छ,’उनीहरूले भने ।
व्यवसायीहरूले पटक–पटक पालिका, जनप्रतिनिधिहरू र यातायात व्यवस्था कार्यालयलगायत सम्बन्धित निकायमा ध्यानाकर्षण गराए पनि अहिलेसम्म कुनै ठोस कदम नचालिएको गुनासो छ ।
यात्रुहरूले भने करिब ८ सय मिटर दूरी रहेको महेशपुर बसपार्कसम्म टेम्पोहरूले बढी भाडा असुल्ने गरेको आरोप लगाएका छन् । ‘थोरै दूरीमा मनपरी भाडा लिन्छन्, जसले हामीलाई दैनिक असुविधा पर्छ,’यात्रुहरूले भने ।
विवाद दीर्घकालीन बन्दै जाँदा यात्रु, व्यवसायी तथा स्थानीय सर्वसाधारण सबै प्रभावित भएका छन् । स्थानीयवासीहरूले तत्काल दुवै पक्षबीच सहमति गराएर यातायात प्रणाली व्यवस्थित गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।