२०८१ मंसिर २७ गते बिहिवार / Dec 12 , 2024 , Thursday
२०८१ मंसिर २७ गते बिहिवार

संसद् अधिवेशन माग्दै विपक्षी

ADV
२०८१ मंसिर २७ गते ०६:५०
संसद् अधिवेशन माग्दै विपक्षी

काठमाडौं : सरकार संघीय संसदको हिउँदे अधिवेशन बोलाउने विषयमा परामर्शमा छ । सभामुख देवराज घिमिरेको सचिवालयका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले यो विषयमा गत १७ मंसिरमा सभामुख घिमिरेसँग संवाद गरेका थिए ।

अधिवेशन बोलाएपछि विजनेश चाहिने र यसका लागि सरकारले मिहिनेत गर्नुपर्ने सभामुख घिमिरेको परामर्श थियो । संसदीय समितिको बैठक राख्नसमेत गणपूरक संख्या नपुगिरहेको पनि सभामुख घिमिरेले जानकारी गराएका थिए । 

प्रधानमन्त्री ओलीसँगको संवादलगत्तै सभामुख घिमिरेले यही सन्देश सार्वजनिक रूपमा पनि दिए । १८ मंसिरमा ललितपुरमा सभामुख घिमिरेसहित समिति सभापतिहरूबीच अन्तरक्रियात्मक कार्यक्रम थियो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले संसद् अधिवेशनका लागि सांसदहरू नै तयार नदेखिएका बताए ।

‘आगामी संसद् अधिवेशन कहिले बोलाउने भन्ने विषय सांसदहरूको भूमिकामा निर्भर हुन्छ र हुनुपर्छ । तर, सांसदहरू नै अधिवेशन त्यो तयार छैनौं’, सभामुख घिमिरेले भनेका थिए । सभामुखले संसदीय समितिलाई सक्रिय हुन र संसद् अधिवेशन छिटो बोलाउने वातावरणका लागि यस्तो अभिव्यक्तिमार्फत सन्देश दिएका नेताहरू बताउँछन् ।

सरकारले भने पुसको दोस्रो साता संसद्को अधिवेशन बोलाउने तयारी गरेको छ । तर, प्रतिपक्षी दलहरू सरकारले संसद् अधिवेशन लम्ब्याउन लागेको आशंका गर्छन् । गत सोमबार मात्र प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल संसद्को अधिवेशन आह्वान गर्ने संकेत सरकारले नगरेको बताएका थिए । 

राष्ट्रिय कर्मचारी महासंघको स्थापना दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रतिनिधिसभा बैठकलाई सकेसम्म धकेल्ने प्रयास सरकारले गरिरहेको सूचना आफूले पाएको बताएका हुन् । 

उनले भनेका छन्, ‘सरकारले प्रतिनिधिसभा बैठक सकेसम्म धकेल्न बल गर्दै छ भन्ने हामीलाई सूचना प्राप्त छ ।’ सरकारले अधिवेशन बोलाउन ढिला गरे आफूहरू विशेष अधिवेशन बोलाउन संघर्ष गर्न लागिपर्ने उनको चेतावनी छ । ‘जरुरी प¥यो भने विशेष अधिवेशन बोलाउन संघर्ष गरिने छ’, प्रचण्डले भनेका छन् । 

संसद्को विशेष अधिवेशन माग गर्न प्रतिनिधिसभाको सम्पूर्ण संख्याको एक चौथाइ सदस्यले राष्ट्रपति समक्ष लिखित अनुरोध गर्नुपर्छ । यस्तो अवस्थामा राष्ट्रपतिले संसद्को विशेष अधिवेशन बोलाउन सक्छन् । यसका लागि २७५ सदस्यीय भएको सदनका कम्तीमा ६९ सदस्य तयार रहनुपर्छ ।

ADVADV

सम्बन्धित खबर

Advertise