२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

नयाँ पुस्तालाई राष्ट्रको इज्जत र स्वाभिमानको अर्थ बुझाउनै पर्छ : ओली

shivam cement
२०८२ कार्तिक २ गते १५:०७
Shares
नयाँ पुस्तालाई राष्ट्रको इज्जत र स्वाभिमानको अर्थ बुझाउनै पर्छ : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ पुस्तालाई राष्ट्रको इज्जत र स्वाभिमानको अर्थ बुझाउन आवश्यक रहेको बताएका छन् ।

आइतबार राजधानीमा आयोजित सम्पादकहरूसँगको अन्तरक्रियामा उनले सामाजिक सञ्जाल दर्ता र कर तिर्ने विषय केवल प्रविधिको होइन, राष्ट्रको स्वाभिमानसँग जोडिएको मुद्दा भएको बताए ।

ओलीले भने, “सामाजिक सञ्जाल जसले नेपालको कानुन मान्दिनँ, कर तिर्दिनँ, दर्ता हुन्न भन्छ, के त्यो देशको इज्जतसँग सम्बन्धित हुँदैन? अब नयाँ पुस्तालाई राष्ट्रको स्वाभिमान के हो भनेर सिकाउनुपर्छ ।”

उनका अनुसार सरकारले सामाजिक सञ्जाल कम्पनीहरूलाई पटक–पटक लिखित र मौखिक रूपमा सम्पर्क गर्दा पनि दर्ता नगरी अटेरी गरेपछि प्रतिबन्धको निर्णय गर्नुपरेको हो । “हामीले डेढ वर्षदेखि अनुरोध गर्‍यौँ, तर ‘कर तिर्दिनँ, दर्ता गर्दिनँ, कानुन मान्दिनँ’ भन्नेहरूले राष्ट्रको इज्जतमाथि नै प्रश्न उठाए,” ओलीले जोड दिए ।

अध्यक्ष ओलीले आफूमा अहंकार नभएर सत्य बोल्ने बानी मात्र भएको स्पष्ट पारे । “यो अहंकार होइन, सत्य बोल्ने बानी हो,” उनले भने, “देश र जनताप्रति मेरो बफादारिता अटल छ । कसैलाई मन परे पनि नपरे पनि त्यो मेरो व्यक्तिगत होइन, सिद्धान्तको कुरा हो ।”

उनले पछिल्ला आन्दोलनका सन्दर्भमा पनि टिप्पणी गर्दै भने, “जेनजीहरू भ्रममा पारिएर सडकमा उतारिएका हुन् । उनीहरूले भ्रष्टाचार अन्त्य, सुशासन र रोकिएका सामाजिक सञ्जाल खोल्नुपर्ने माग गरेका थिए, तर प्रधानमन्त्रीको राजीनामाको कुरा थिएन ।”

ओलीका अनुसार अहिले देशमा स्थिरता र शान्ति सुव्यवस्थाको अभाव देखिएको छ । “म प्रधानमन्त्री हुँदा देशमा शान्ति थियो, सुव्यवस्था थियो, निर्धक्क वातावरण थियो । अहिले भने त्रास फैलिएको छ, देश अस्थिरतामा गइरहेको छ,” उनले भने ।

अध्यक्ष ओलीले असत्य र भ्रमको विरोधमा आफू निरन्तर लागिरहेको उल्लेख गर्दै थपे, “देशको स्वाभिमानभन्दा ठुलो मेरो कुनै बानी छैन । सत्य बोल्नु र राष्ट्रको इज्जत जोगाउनु मेरो दायित्व हो ।”

सम्बन्धित खबर