
काठमाडौंः प्रधानमन्त्री सुशीला कार्कीले सुरक्षा निकायका प्रमुखहरुसँग सामूहिक छलफल गरेकी छन् ।
विभिन्न राजनीतिक दलहरुले सडक प्रदर्शन गर्ने तयारी गरिरहेका बेला प्रधानमन्त्री कार्कीले गृहमन्त्री ओमप्रकाश अर्यालसहित चार वटै सुरक्षा निकायका प्रमुखसँग शनिवार बालुवाटारमा छलफल गरेकी हुन् । मुलुकमा सुरक्षा अवस्थाको सुक्ष्म विश्लेषण गरी निर्वाचनको वातावरण बनाउने विषयमा छलफल केन्द्रित रहेको गृहमन्त्री अर्यालले जानकारी दिए।
उनले सडक प्रदर्शनको तयारी गरिरहेका राजनीतिक दलहरुलाई सुरक्षा जोखिमलाई ध्यानमा राखेर प्रदर्शनमा नजान र संवादमार्फत आफ्ना कुराहरु राख्न पनि आग्रह गरिएको बताए । सरकारले संवादमार्फत राजनीतिक दलहरुको मागको सुनुवाई गर्ने भएकाले सडक प्रर्दशन आवश्यक नभएको पनि गृहमन्त्री अर्यालले बताए ।
उनले भने, ‘अब सडकमा जानुपर्ने परिस्थिति हुन्छ भने पनि त्यो लोकतान्त्रिक अधिकार प्रयोग गर्दा अरुको अधिकारमा हनन हुनुपनि भएन । सार्वजनिक सम्पतीमा क्षति पुर्याउनु पनि भएन । निजी सम्पतीमा क्षति पुर्याउनु पनि भएन । कहीँकतै हिंसा हुनै भएन । अहिंसात्मक तरिकाले गर्नुपर्दछ । यो कुराको सम्झदारी हामी विभन्नि राजनीतिक दलहरु जो आन्दोलनकारी हुनुहुन्छ । उहाँहरुसँग सरकारले यो अनुरोध गरिरहन्छ । सरकार यो नीतिअनुसार चल्छ तत्काललाई । जो राजनीतिक शक्ति छन् । त्यो शक्ति भनेको धेरै जिम्मेवार शक्ति हो । भविष्यमा देश चलाउने हो भनेर जसले भन्नुहुन्छ । त्यो भनेको राजनीतिक कुरा हो । राजनीतिक कुरा भएपछि राजनीतिक व्यवहार पनि हुनुपर्यो । राजनीतिक संस्कार पनि हुनुपर्यो । त्यसको वोध पनि गराउनु पर्यो । सरकार एउटा अभिभावक पनि हो । सरकारले त्यो कुराको वोध गराउँछ । त्यसका लागि हामी सम्वादमा नै जोड दिन्छौ ।’
सरकारले मुलुकका सुरक्षा अवस्थामा जोखिम निम्तिने अवस्था विद्यमान रहेको उल्लेख गर्दै सडक प्रदर्शनमा नजान सबै राजनीतिक शक्तिहरुलाई आग्रह गर्दै आएको छ । मुलुकको सुरक्षा अवस्थालाई सामान्य बनाउन आफूहरु सुरक्षा निकायसँग निरन्तर छलफलमा रहेको पनि गृहमन्त्री अर्यालले बताए ।