२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

विश्व बैंकको आईडीए बैठक सकियो, न्यून आय भएका मुलुकका सहुलियत ऋण र अनुदानमा प्राथमिकता

ADV
मध्यान्ह
२०८१ असार ७ गते २१:०५
विश्व बैंकको आईडीए बैठक सकियो, न्यून आय भएका मुलुकका सहुलियत ऋण र अनुदानमा प्राथमिकता

काठमाडौं : विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए–२१) को तेस्रो परिपूरण बैठक सकिएको छ । चार दिनसम्म काठमाडौमा चलेको बैठकको अर्थमन्त्री वर्षमान पुन अनन्तले शुक्रबार समापन गरे । मन्त्री पुनले विश्वव्यापी विकास चुनौतीहरु सम्बोधन गर्न समर्पित  विकास साझेदार, ऋणी र व्यवस्थापकहरु सहभागी विशिष्ट बैठक आयोजना गर्न पाउनु नेपालका लागि ठूलो अवसर भएको बताए । दशकौंदेखि गरिबी हटाउन र दिगो विकास हासिल गर्न प्रयासरत आईडीए मुलुकहरुका लागि बैठक उपलब्धीमुलक भएको उल्लेख गरे ।

बैठकले संसारभरबाट गरिबी र अविकास अन्त्यका लागि जारी अभियानलाई निरन्तरता दिने संकल्प गरेकामा धन्यवाद दिए । ‘गरिबी अन्त्य र दिगो विकासका लागि प्रतिबद्ध देशहरुका लागि सहयोग र समर्थन जारी राख्ने काठमाडौँ भेलाको सामूहिक निर्णयका लागि आभार व्यक्त गर्दछु’, उनले भने, ‘तपाईंहरुले अविकसित मुलुकहरुका लागि आगामी दिनमा पनि बलियो विकास सहायता र अन्तर्राष्ट्रिय समर्थन दिने कुराको सुनिश्चितता गर्नुभएको छ ।’ 

बैठकका निष्कर्ष र रणनीतिहरु विश्व बैंक र अरु विकास सझेदारहरुबाट विकास वित्त  प्राप्त गर्दै आएका आईडीए मुलुकहरु र ऋण दाता मुलुकहरुका लागि खुसीको विषय भएको मन्त्री पुनले  बताए । आईडीए मुलुकहरुलाई कमजोर आर्थिक विकास र गरिबीको अवस्थाबाट माथि उठाएर बस्न लायक  बनाउन बैठकले निकालेका निस्कर्ष प्रभावकारी हुने विश्वास उनको थियो । उनले धेरै आईडीए मुलुकहरुले आर्थिक चुनौतीका कारण गरिबी र असमानता, खाद्य असुरक्षा, श्रोतको सीमितता, ऋण भुक्तानीको दबाबजस्ता समस्या झेलिरहेको औंल्याए । उक्त अवस्थाको अन्त्यका लागि बाह्य सहयोग र लगानी भित्र्याउनुपर्ने आवश्यकता रहेको बताए । ‘यी चुनौतीहरुका कारण विकास सहायता र अन्तर्राष्ट्रिय सहयोगको निरन्तरताको प्रतिबद्धता माग गर्दछ’, उनले भने । उनले आईडीए मुलुकका जनताका लागि विद्युत पहुँच, गुणस्तरीय स्वास्थ्य र शिक्षा तथा पोषणयुक्त खाद्यान्नमा जोड दिनुपर्ने उल्लेख गरे । मन्त्री पुनले जलवायु परिवर्तन, लैङ्गिक असमानता, गरिबी अन्त्यजस्ता एजेण्डामा सामूहिक प्रयास र प्रतिबद्धता जरुरी रहेको औंल्याए ।

उदघाटनसत्रपछि तीन दिनसम्म बन्दसत्र चलेको थियो । बन्दशत्रमा आगामी ३ वर्षका लागि गरिब र न्यून आय भएका मुलुकका लागि प्रदान गरिने सहुलियतपूर्ण ऋण तथा अनुदान सहायताका प्राथमिकता क्षेत्र, नीति ढाँचा, नतिजा खाका र सो को लागि आवश्यक वित्तीय स्रोतको प्रतिवद्धता व्यक्त गर्ने सम्बन्धमा दातृ पक्ष, सहायता प्राप्त गर्ने देशका प्रतिनिधि र विश्व बैकका उच्च पदस्थ पदाधिकारीहरु बीच छलफल भएकोे छ । विकास अनुभव र सफल मोडलको जानकारी विश्व समुदायलाई दिनुका साथै नेपालका विकास प्राथमिकतालाई आईडीएको नीति प्राथमिकतासँग तादम्य गराउन अवसर मिलेको, अन्तर्राष्ट्रिय स्तरमा पहिचान बढेको,  आगामी दिनमा अन्तर्राष्ट्रिय तथा क्षेत्रीयस्तरका ठूला कार्यक्रम सञ्चालन गर्न आत्मविश्वास बढेको तथा  पर्यटन प्रवर्द्धन र अर्थतन्त्रमा समेत टेवा पुगेको विश्वास लिइएको अर्थ मन्त्रालयका प्रवक्ता सहसचिव उत्तरकुमार खत्रीले बताए ।

विश्व बैंक समूहले नेपालमा आयोजना गरेको यो हालसम्मकै ठूलो कार्यक्रम हो । बैठकले न्यून आय भएका मुलुकका लागि आगामी वर्षहरुमा गर्ने सहयोगसम्बन्धी रणनीति तय गरेको छ । बैठकमा विश्वबैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोटसनवर्गसहित आधा दर्जन बढी उपाध्यक्ष र निर्देशकहरु सहभागी थिए । यस्तै ६१ देशका करिब २ सय भन्दा बढी प्रतिनिधि बैठकमा लागि आएका थिए । 

ADVADV

सम्बन्धित खबर

Advertise